काठमाडौं-नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले प्रमुख चार दलका शीर्ष नेताहरूको गैरजिम्मेवारीपनाका कारण अहिले देश गम्भीर सङ्कटको भूमरीमा फसेको बताउनुभएको छ ।
नेपाल मुस्लिम मुक्ति मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले संविधान निर्माणमा असफलसिद्ध भइसकेका नेताहरूले वर्तमान सङ्कटको निकास दिन नसक्ने बताउनुभयो । त्यसका लागि सर्वदलीय र सर्वपक्षीय गोलमेच सभा गरी समाधान खोजिनुपर्ने उहाँको कथन थियो ।
उपाध्यक्ष गजुरेलले आफूहरूले शान्तिपूर्ण तवरले गोलमेच सम्मेलनको माध्यमबाट समस्याको निकास दिन खोजेपनि जनपक्षीय संविधान बनाउन नदिने षड्यन्त्र भइरहेको उल्लेख गर्नुभयो ।
उहाँले जातीय तथा धार्मिक हिसाबले बढी उत्पीडनमा रहेको मुस्लिम समुदायका लागि राज्यको तर्फबाट विशेष अधिकारको प्रत्याभूति गरिनुपर्ने भन्दै आˆनो अधिकार र पहिचानका लागि आम मुस्लिम समुदाय एकजुट भएर लाग्नुपर्छ भन्नुभयो ।