काठमाडौं – दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब समूह ‘ए’बाट चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार एपीएफले कर्णालीलाई ७१ रनले हराउँदै सेमिफाइनलमा पुग्दा आर्मीले पनि एक खेल बाँकी छँदै अन्तिम चारमा पुग्न सफल भएको हो । यो समूहबाट कर्णाली, गण्डकी र प्रदेश १ बाहिरिएका छन् । २ सय १९ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ४३ ओभर २ बलमा १ सय ४७ रनमा अल आउट भयो । हेमन्त ओलीले सर्वाधिक ५८ रनको योगदान दिए पनि हार टार्न सकेन । ओपनर विपिन रावललाई ७ रनमा आउट भए । निश्चल रावल २ रनमा आउट भए । तेस्रो विकेटका रवीन्दद्रजंग शाही र हेमन्त ओलीले ३४ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाए पनि १५औं ओभरमा रवीन्द्र १४ रनमा बोल्ड आउट भए । चौथो विकेटका लागि हेमन्त र हिमांशु शाहीले ५६ रनको साझेदारी गर्दै कर्णालीलाई जितको आशा दिलाए । ३१औं ओभरमा सन्दीप जोराले डाइरेक्ट थ्रोमा हेमन्तलाई रन आउट गरेपछि एपीएफ खेलमा फर्किएको थियो । हिमांशु शाही २० रनमा आउट भए । राज शाह १२ रनमा पेभेलियन फर्किए । अभिषेक बम ठकुरी १२ रनमा स्टम्पिङ भए । बसन्त रेग्मी र किशोर महतोले समान ३ विकेट लिए । भुवन कार्कीले २ तथा कप्तान शरद भेषावकरको नाममा १ विकेट रह्यो ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफ ४९ ओभर ५ बलमा २ सय १८ रन जोडेको थियो । सन्दीप जोराले सर्वाधिक ६० रनको योगदान दिए । ओपनर रीत गौतमले लगातार दुई खेलमा रनको खाता खोल्न सकेनन् । कप्तान शरद भेषावकर ८ रन जोड्दा सुवास खकुरेलले २३ रन बनाए । शंकर राना १५ रनमा तथा सुमित महर्जन १० रनमा क्याच आउट हुँदा एपीएफ १७.२ ओभरमा ६७–५ को अवस्थामा पुगेको थियो । छैटौं विकेटका लागि सन्दीप जोरा र अमरसिंह राउटेलाले ७८ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाए । अमर ३१ रनमा आउट भए । तल्लोक्रमका वसन्त रेग्मी १४ र कमलसिंह ऐरी ९ रनमा आउट भए । भुवन कार्की १५ र किशोर महतोले १३ रनको योगदान दिए । कर्णालीका कप्तान रवीन्जंग शाही र अद्रनुज चुनराले समान ३ विकेट लिदा राज शाह र दिवान पुनले २ विकेट लिए । एपीएफ र आर्मीले सुरुवाती तीनै खेलमा जित निकालेका छन् । माघ १२ मा हुने यी दुई टोलीबीचको खेलको नतिजाले समूह विजेता र उप विजेताको निर्धारण गर्ने छ ।