काठमाडौं – बोरुसिया डर्टमन्डलाई पराजित गर्दै लिभरकुसन जर्मन बुन्डेसलिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा लिभरकुसनले डर्टमन्डलाई २–१ गोलअन्तरले हराएको हो।
घरेलु टिमका लागि मौसा डियाबी र फ्लोरियान विर्ट्जले गोल गरे। यता, डर्टमन्डका जुलियन ब्रान्ड्टले गोल फर्काए। पहिलो हाफसम्म १–० गोलले पछि रहेको डर्टमन्डले दोस्रो हाफमा एक गोल फर्काए पनि एक गोल खाँदै हार ब्यहोरेको हो। खेलको १४ औं मिनेटमा मौसा डियाबीले गोल गर्दै लिभरकुसनलाई १–० गोलको अग्रता दिलाए।
खेलको ६७ औं मिनेटमा जुलियनले गोल फर्काउँदै डर्टमन्डलाई १–१ गोलको बराबरीमा फर्र्काए। तर ८० औं मिनेटमा अर्को गोल खान पुग्यो। यो पटक भने फ्लोरियानले गोल गर्दै २–१ गोलको अग्रता दिलाएका थिए। बाँकी समयमा गोल नभएपछि डर्टमन्डले हार ब्यहोरेको हो।
यो जितसँगै लिभरकुसनले १७ खेलबाट ३२ अंक बनाउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ। पराजित डर्टमन्डको भने १९ खेलबाट २९ अंक छ। लिगको शीर्ष स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकको १६ खेलबाट ३६ अंक छ।