काठमाडौं – खेलाडीले कति उमेरसम्म सक्रिय रुपमा खेल्ला? फुटबल, क्रिकेटलगायतका खेलमा हेर्ने हो भने ३५ ? ४० ? या ४२ ? यो भन्दा माथि गए अपवादका रुपमा जान सक्ला । अझ ढल्कँदो उमेरमा शीर्षलिगमा कायम रहनु चानचुने कुरा होइन ।
तर जापानी शीर्ष लिगमा योकोहामा फुटबल क्लबसँग भर्खरै करार गरेका काजुयसी मिओरा ५४ वर्षका भए । जापानमा ‘किङ कजु’ भनेर चिनिने मिओर यही फेब्रुअरीबाट ५४ वर्ष लाग्दैछन् । अर्थात सन् २०२१ को जे लिगको सिजन सुरु हुनु अगावै उनी ५४ वर्ष पुग्नेछन् ।
जापानी लिगको यो सिजनसँगै उनले लिगमा आफ्नो ३६ औं सिजन पुरा गर्नेछन् । त्यस्तै सन् २००५ मा योकोहामासँगै करार गरेका उनको यो क्लबसँगको करार १७ वर्ष पुग्नेछ । अघिल्लो सिजन गोल ४ खेल खेलेर गोल गर्न भने नसकेका उनले यो सिजन गोल गर्दै जे लिगमा गोल गर्ने सबैभन्दा बढी उमेरको खेलाडी बन्न चाहेको बताएका छन् ।
जे लिगमा उनी पछिको धेरै उमेरको खेलाडीको कीर्तिमान मसासी नाकायमाको नाममा छ । उनले सन् २०१२ मा कोन्साडोल साप्पोरोबाट ४५ वर्षको उमेरमा खेलेका थिए । ‘मेरो फुटबल प्रतिको आकांक्षा र जोस बढिनै रहेको छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा उनको भनाइलाई उदृत गर्दै भनिएको छ ।
सन् १८८६ मा ब्राजिलियन क्लब सान्तोसबाट करियर सुरुवात गरेमा उनले सन् २०१७ मा दोस्रो डिभिजनमा थेस्पाकुसात्सु गुन्माविरुद्ध गोल गर्दै जापानी प्रोफेसनल लिगमा गोल गर्ने सबैभन्दा बढी उमेरको खेलाडी बनेका थिए । त्यस्तै उनले इटालियन सिरी ए मा जिओनाबाट खेलिसकेका छन् । उनले जापानका लागि ८९ खेलमा ५५ गोल गरेका छन् । सन् १९९० मा जापानका लागि डेब्यु गरेका उनले सन् १९९८ को विश्वकपमा देशलाई पुर्याउन महत्वपूर्ण योगदान दिएका थिए ।
यद्यपि विश्वकपमा भने उनले अवसर पाउन सकेनन् । सन् २०१९ मा योकोहामालाई शीर्ष लिगमा बढुवा गराउनका लागि सहयोग गरेका उनले सन् २०२० को सिजनमा भने चार पटकमात्र अवसर पाएका थिए । ‘ब्यक्तिगत रुपमा भन्ने हो भने यो चित्त बुझाउन सकिने सिजन थिएन, तर पनि फुटबल प्रतिको चाह भने अझै बढेर गएको छ,’ उनले भनेका छन्, ‘हरेक दिन म कडा मेहेनत गरेर धेरै भन्दा धेरै खेल खेल्दै म टिमको यो सिजनमा विजयका लागि योगदान दिन चाहन्छु ।’ उनी ६० वर्षको उमेरसम्म सन्यास नलिने योजनामा रहेको बताइएको छ ।