काठमाण्डाै – नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रिमियर लिग (पिएसएल)को ड्राफमा सर्वाधिक महँगो श्रेणीमा परेका छन् । उनी प्लाटिनम श्रेणीमा परेका हुन् ।
यो श्रेणीमा अफगानिस्तानका रासिद खान, वेस्ट इन्डिजका क्रिस गेल, अस्ट्रेलियाका क्रिस लिन, दक्षिण अफ्रिकाका इम्रान ताहिरलगायत २५ खेलाडी छन् । एउटा टिमले यो श्रेणीबाट एक मात्र खेलाडी अनुबन्ध गर्न पाउनेछ ।
आगामी सिजनका लागि ३०० खेलाडी ड्राफमा परेको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । खेलाडीको लिलामी जनवरी १० मा हुनेछ ।
ड्राफमा परेका खेलाडीलाई प्लाटिनम, डाइमण्ड, गोल्ड, सिल्भर र इमर्जिङ गरी पाँच श्रेणीमा विभाजन गरिएको छ । प्लाटिनम श्रेणीमा पर्ने खेलाडीले १ लाख ४० हजार देखि २ लाख ३० हजार अमेरिकी डलरसम्म पाउनेछन् ।
सन् २०१८ मा सन्दीपलाई लाहोर कलन्दर्सले अनुबन्ध गरेको थियो । गोल्ड श्रेणीमा परेका सन्दीपले ७ खेलमा ११ विकेट हात पारेका थिए । गत वर्ष भने उनी कुनै टिममा परेनन् ।
लिगमा लाहोर कलन्दर्स, सुल्तान मुल्तान, कोटा ग्याडियटर्स, इस्तामाबाद युनाइटेड, पेसावर जाल्मी र कराँची किंग्स गरी ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।