कफी व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष श्यामप्रसाद भण्डारीका अनुसार आव २०६८/०६९ मा स्याङ्जा जिल्लामा उत्पादन भएको करिब ७० टन कफीमध्ये १० टन पार्चमेन्ट कफी जापान निर्यात भएको हो ।
अध्यक्ष भण्डारीका अनुसार विगतका वर्षहरूमा यहाँ उत्पादन भएको कफी जर्मन र जापानमा निर्यात गरिएको थियो । “स्याङ्जामा उत्पादन भएको कफी विगतका दुई वर्षहरूमा जर्मन र जापानमा निर्यात गरिएको थियो”-स्याङ्जा जिल्ला कफी व्यवसायी सङ्घका अध्यक्ष फणिनाराण अर्यालले भन्नुभयो-“जर्मन निर्यातका लागि अली बढी खर्चिलो भयो, त्यसैले त्यहाँ निर्यात गर्न सकिएन ।”
स्याङ्जामा उत्पादन गरिएको कुल ७० टन कफीमध्ये जिल्ला कफी व्यवसायी सङ्घमार्फत ३८ टन पार्चमेन्ट र आठ टन ड्राइचेरीको खरिद/बिक्री गरेको थियो भने बाँकी २५ टन स्थानीय कृषकले आफैँ बिक्री गरेका थिए ।
“कृषकले पार्चमेन्ट कफी प्रतिकिलो रु २१५ र ड्राइचेरी रु १०० पाउने गरेका छन् ।” कफी व्यवसायी सङ्घ स्याङ्जाका अध्यक्ष अर्यालले भन्नुभयो- “दुवैथरिका कफीबाट गएको वर्ष कृषकले करिब रु एक करोड ५० लाख हात पार्न सफल भएका थिए ।”
अर्यालका अनुसार आव २०६७/०६८ मा प्रतिकिलो रु १६० मा करिब ३७ टन पार्चमेन्ट र प्रतिकिलो रु ८० मा ड्राइचेरीको बिक्रीबाट कृषकले रु ६५ लाख आम्दानी गर्न सफल भएका थिए । कफीको मूल्य वृद्धि नभएको भन्दै कृषकले गुनासो गरेपछि यो वर्ष कफीको मूल्य वृद्धि गरिएको थियो तर उत्पादन भने अपेक्षाकृत हुन नसकेको कफी व्यवसायी सङ्घले स्वीकारेको छ ।
तर कफी व्यवसायी सङ्घले भने चालु आवमा जिल्लाबाट झन्डै थप १०० टन कफी उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ काम अगाडि सारेको सङ्घकी कार्यक्रम संयोजक माया तिवारीले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाका वाङ्सिङ, फापरथुम, दरौँ र पुतलीबजार नगरपालिका-१२ करेन्डाँडासहित सङ्घले सञ्चालन गरेका कुल ६ वटा कफीका नर्सरी रहेका छन् । आव २०६९/०७० मा नर्सरीमा रहेका करिब ८१ हजार कफीका बिरुवा रोप्ने कार्यक्रम अघि सारिएको छ ।
गएको आवमा जिल्लामा गरिएको कफीखेतीमा गबारो प्रमुख समस्याका रूपमा देखा पर्नु उत्पादन घट्नुको मुख्य कारण भएको कफी व्यवसायी सङ्घको भनाइ रहेको छ ।
जिल्लाका वालिङ र पुतलीबजार नगरपालिका र ६० गाविसमध्ये दुई नगरपालिकासहित कुल २९ गाविसमा व्यावसायिक कफीखेती गरिएको छ ।