काठमाडौं – कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ ।
मेस्सीले बार्सिलोनाबाट ६४४ गोल गर्दै ब्राजिली लिजेन्ड पेलेको कीर्तिमान भंग गरेका हुन् ।
बार्सिलोनाले रियल भालाडोलिडलाई ३-० ले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउने क्रममा मेस्सीले अन्तिम गोल गरेका थिए ।
खेलको २१औं मिनेटमा क्लेमेन्ट लिन्गलेटले हेडमार्फत गोल गर्दै पाहुना टोली बार्सिलोनालाई अग्रता दिलाए । ३५औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । मेस्सीले खेलको ६५औं मिनेटमा गोल गर्दै बार्सिलोनाको कीर्तिमान भंग गरे । पेलेले १९ सिजन सान्तोषबाट खेल्दै ६४३ गोल गरेका थिए ।
मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन् २००५ मा गरेका थिए । उनले बार्सिलोनाबाट १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि हात पारे ।
जितसँगै बार्सिलोनाले पाँचौं स्थानमा आफूलाई बलियो बनाएको छ । लिगमा १४ खेल खेलेको बार्सिलोनाको २४ अंक छ । पराजित भालाडोलिड १४ अंकसहित तालिकाको १८औं स्थानमा छ ।