काठमाडौं – हास्य कलाकार सीताराम कट्टेल धुर्मुस यतिवेला आफ्नो सपना पूरा हुन लागेकोमा खुसी देखिएका छन् । कलाकारितासँगै सामाजिक कार्यमा पनि संलग्न भएका कट्टेलले एक वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका थिए ।
काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ, कास्की, मोरङ हुँदै झापासम्म रंगशालाका लागि जमिन खोजे । अन्तिममा चितवनको भरतपुरमा जग्गा फेला पारे । एक वर्षअघि आफैँले ट्र्याक्टर लगाएर सम्याएको ठाउँमा राष्ट्रिय क्रिकेट प्रतियोगितासमेत सम्पन्न भइसकेको छ ।
निर्माणाधीन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को करिब ८५ प्रतिशत काम पूरा भएको उनी बताउँछन् । अहिलेकै स्पिरिटमा काम अघि बढे अर्को वर्ष रंगशाला निर्माण पूरा भई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुने उनको अपेक्षा छ ।
निर्माणाधीन रंगशालामा ‘गौतम बुद्ध क्रिकेट कप’
निर्माणाधीन रंगशाला परिसरमा २७ मंसिरदेखि ‘गौतम बुद्ध क्रिकेट कप–२०२०’ सुरु भएको थियो । प्रतियोगितामा राष्ट्रिय खेलाडीहरू ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती, विनोद भण्डारीको कप्तानीमा राप्ती र सुवास खकुरेलको कप्तानीमा नारायणी टिमले सहभागिता जनाएका थिए । राप्ती टिमले उपाधि जितेको छ ।
रंगशाला निर्माणस्थलमा रहेको नमुना मैदानमा प्रतियोगिता भएको हो । प्रतियोगिता भएको दृश्यले कलाकार कट्टेल उत्साहित मात्र होइन, निकै हर्षित र खुसी पनि देखिए । विगतमा काँसघारी रहेको जमिनमा राष्ट्रियस्तरका खेलाडी आएर खेल्ने ठाउँ बनेको उनी बताउँछन् ।
रंगशाला बन्दा पार्किङ एरिया हुने ठाउँमा अघिल्लो वर्षको मंसिरबाट नमुना क्रिकेट मैदान बनाउन सुरु गरिएको थियो । नमुना मैदान तयार भएपछि स्थानीय क्लबहरूले क्रिकेट प्रतियोगिता गर्न थालेका थिए । राष्ट्रिय खेलाडीहरू नै आएर यसरी म्याच खेलेको यो पहिलो अवसर हो ।
लकडाउनको समयमा कामदारसहित कट्टेल आफैँले दुबो रोपेका थिए । त्यसकारण पनि यो मैदानमा भएको राष्ट्रिय खेलले आफूलाई खुसी दिएको उनी बताउँछन् । ‘राष्ट्रिय खेल हेर्दा कसलाई खुसी लाग्दैन र ? त्यसमा पनि कोरोना भाइरसले ठप्प भएको खेल यहाँबाट सुरु भएको छ । यहाँ आउने खेलाडी बन्दै गरेको रंगशालामा खेल खेल्न पनि आतुर भएको बुझ्छु,’ उनी भन्छन् ।
नेपाली मौलिकताको रंगशाला
रंगशाला निर्माणको अभियन्ता सबै नेपाली भएको उनी बताउँछन् । भन्छन्, ‘म आत्मविश्वासले काम गर्दै आएको मान्छे हुँ । यो इमान्दारिताको यात्रा हो । हामी देश विकासमा सबै पक्ष एकढिक्का भयौँ भने देश विकासको गतिमा अघि बढ्छ । सबै नेपालीको साथ हुने हिसाबले धुर्मुस सुन्तलीले आँट गरेका हुन् ।
कलाकारितामा ध्यान नगएको हैन । कहिलेकाहीँ मनमनै जल्छु पनि । मभित्र कलाकारिता छ । म आफैँ पनि सोच्छु मलाई भगवान्ले कलाकारिता नै गर्न पठाएका हुन् । हामीले अभिनय गरेका धुर्मुस सुन्तली, मुस्कान पासा, फतौरी, खड्काजीलगायतका भूमिका सम्झन्छु । कलाकारिताको पिक अवस्थामा हामी त्योभन्दा बाहिर आयौँ । हामी कलाकारिताका लागि जन्मिएका हौँ ।
यसका अभियन्ता सबै नेपाली हुनुहुन्छ ।’ एउटा सामान्य कलाकारले आँट गरे पनि सबैको साथले तीन अर्बको योजना पूरा हुने दिशामा अघि बढेको उनी बताउँछन् । ‘म सामान्य एउटा कलाकारले यस्तो आँट गर्दैगर्दा सबैको साथले नै यो बन्छ भन्ने सोचेर आएको हुँ । मेरो सबै सम्पत्ति बेच्दा पनि यो सम्भव हुन्न, त्यसैले यसमा हरेक नेपालीको साथ सहयोग आवश्यक छ,’ उनी भन्छन्, ‘त्यहीअनुसार रंगशालाको परिकल्पना भएको हो । यहाँ ७७ वटा कक्ष, सातै प्रदेश प्रतिनिधित्व गर्ने गेट छन् । नेपाली मौलिकता यो रंगशालाको विशेषता हो ।’
कलाकार कट्टेलले रंगशाला बनाउँदाको धेरै उधारो बजारमा बाँकी रहेको सुनाए । ‘अहिले हाम्रो फाउन्डेसनको खातामा पैसा छैन । बजारमा अर्र्बौँ रकम दिनुपर्नेछ । विश्वासका आधारमा सामान पठाउनु भएको छ । रंगशाला निर्माणमा सहयोग पुगोस् भनेर महायज्ञ पनि लगाइएको थियो । ‘दिन्छु’ भनेर घोषणा भएको आर्थिक सहयोग अझै उठ्न सकेको छैन,’ उनी भन्छन्, ‘दिमागमै रंगशाला देखेर आएको मान्छे हुँ म । आफैँ दिनरात खटिरहेको छु । कामदारसँगै काम गरिरहेको हुन्छु । अन्तर्राष्ट्रिय खेल मैदानको ८५ प्रतिशत काम सकिनुले पनि भन्छ, अबको केही दिनमा नेपालीको खुसीको खबर पक्कै गुन्जिन्छ ।’
कस्तो बन्दै छ रंगशाला ?
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको जग्गा क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाको अग्रसरतामा विद्यालयलाई अन्यत्रको जमिन सट्टाभर्ना गर्ने गरी २० बिघा ६ कट्ठा जमिन उपलब्ध गराएको थियो । त्यसपछि रंगशाला निर्माणको काम अगाडि बढाउन धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच समझदारी भएको थियो । भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउन्डेसनबीच १६ माघ २०७५ मा सहमति भयो ।
आवश्यक प्रक्रिया पुगेपछि निर्माण सुरु गर्ने र दुई वर्षभित्र रंगशाला तयार गर्ने सम्झौता भएको कट्टेल बताउँछन् । कोरोना महामारीले गर्दा काममा प्रभाव परे पनि अहिले दैनिक दुई सयभन्दा बढी कामदार रंगाशाला निर्माणमा खटिएका छन् ।
डिपिआरअनुसार रंगशाला एक लाख ५४ हजार पाँच सय ६ वर्गमिटरमा कमलको फूल आकारको संरचनामा बन्नेछ ।
रंगशालाको प्रवेशमै पानीमाथि गौतम बुद्धको ठूलो आकारको मूर्ति देखिनेछ । वरिपरि नेपालको पहिचान झल्कने जनावरसमेत रहनेछन् । झ्यालढोकामा मल्लकालीन कला झल्कनेछ । क्रिकेट खेललाई प्राथमिकतामा राखी पाँच पिच हुनेछन् ।
यहाँ ३० हजार दर्शक अट्ने क्रिकेट रंगशालासहित अन्य खेलहरू पनि गर्न मिल्ने बहुउद्देश्यीय रंगशाला बन्दै छ । जसको निर्माण लागत तीन अर्ब रुपैयाँ छ । ३० हजार दर्शक बस्न बनाइने प्यारापिटको २८६ वटा पिलर हुनेछन् । सबै पिलर ढलान भइसकेका छन् ।