काठमाडौँ – फिफाले यस बर्षको बेस्ट खेलाडीको मनोनयनबाट उत्कृष्ट तीन खेलाडीको सुची सार्बजनिक गरेको छ ।
यसअघि सार्बजनिक गरिएको पुरुष खेलाडीको मनोनयनमा रहेका ११ खेलाडीबाट बर्षको बेष्ट खेलाडीको अवार्डका लागि तीन खेलाडी क्रिस्टियानो रोनाल्डो, रोबेर्ट लेवानडोस्की र लियोनेल मेसी छनौट भएका छन् ।
फिफाका अनुसार जुलाई २०, २०१९ देखि ७ अक्टोबर, २०२० सम्मको प्रदर्शनका आधारमा ११ खेलाडीको मनोयन गरिएको थियो ।
मनोनयनमा परेका ११ खेलाडीहरुलाई विभिन्न प्लेटफर्महरुबाट फ्यानहरुले गरेको मतदान र खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकले गरेको मतदानका आधारमा उत्कृष्ट ३ छानिने र त्यसपछि बेस्ट खेलाडीको घोषणा डिसेम्बर १७, २०२० मा जुरिचमा हुने फिफाले बताएको छ ।
यस अघि ११ मनोनयनमा परेका खेलाडीमा बायर्न म्युनिखबाट खेल्ने स्पेनिस खेलाडी थियागो अल्कान्टा, युभेन्टसबाट खेल्ने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, म्यानचेस्टर सिटीबाट खेल्ने बेल्जियमका केभिन डी ब्रुने, बायर्न म्युनिखबाट खेल्ने पोल्याण्डका रोबेर्ट लेवानडोस्की, लिभरपुलबाट खेल्ने सेनेगलका साडियो माने, पिएसजीबाट खेल्ने फ्रान्सका किलियन एम्बाप्पे, बार्सिलोनाबाट खेल्ने अर्जेन्टिनाका लियोनेल मेसी, पिएसजीबाट खेल्ने ब्राजिलका नेइमार, रियल म्याड्रिडबाट खेल्ने स्पेनका सर्जियो रामोस, लिभरपुलबाट खेल्ने इजिप्टका मोहमद सलाह र लिभरपुलबाट खेल्ने नेदरल्यान्ड्सका भिर्गिल भान डाइक रहेका थिए ।