Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

रसिदा…

जस्तो नाम उस्तै रुप । हल्का काली-काली, चिल्लो अनुहार, इवोरी जस्तै चम्किला सेता दात टम्म मिलेका केराउका दाना जस्तै । न लामो न छोटो सलक्क परेको नाक र ठुलो निधार । कर्लि कपालमा हल्का रातो कलर लगाएकी । इस्टायलिस ।

हाँस्दा दाहिने पट्टिको गालामा सानो खाल्टो पर्ने । मिनाक्षीका जस्ता ठुला र सुन्दर आँखा । छाती पनि के बिधि मिलेको हो ! पुट्ट पुट्ट उठेका स्तन र सपक्क भित्र पसेको पेट र छिनेको कम्मर । कुदेर्रै बनाए जस्ता पुठ्ठा हिड्दा फर्लक्क फर्लक्क फर्किने । जतिबेला पनि मुस्कानले पोतिएको अनुहार । उसलाई हेर्दा यस्तो लाग्थ्यो कि ऊ जत्तिको खुशी यो दुनियाँमै कोही छैन ।

‘क्यानेडियन डर्बी डे’अर्थात् घोडा दौड महोत्सव २०१८ । अल्बर्टा प्रान्तको एडमन्टन शहरमा ११८ वर्षदेखि प्रत्येक वर्ष अगस्ट महिनामा भव्यताको साथ यो घोडा दौड प्रतियोगिता हुँदै आइरहेको थियो । हजारौं मान्छेहरु यो प्रतियोगिता प्रत्यक्ष अवलोकन तथा बाजी थाप्न आउथे । परालले बुनेका ह्याट, चराहरुको प्वाखले बनेका आइरिस टोपीहरू र अनेकन फेसनयुक्त ड्रेस लगाएर महिला, पुरुष, केटाकेटीहरु घोडा दौड प्रतियोगिता हुने रिङ्ग बाहीर बसेर आफ्नो आफ्नो बाजी थापेको घोडालाई हुटिंग गर्दथे । घोडा कुदाउने जोकीहरु पनि निकै फुर्तिका साथ घोडाको दुवै पेटलाई खुट्टाले ड्याम ड्याम पार्दै कुदाइरहेक हुन्थे । त्यो दृश्य एकैसाथ संसारका दर्जनौ देशहरुमा प्रत्यक्ष प्रसारण भैरहेको हुन्थ्यो । उनीहरुले त्यहिबाटै बाजी थाप्दथे । यो अनोठो संस्कार भित्रको ठूलो व्यापार पनि थियो घोडा दौड आयोजकहरुको ।

जसरी रिङ्गमा घोडाहरु दौडिरहेका हुन्थे त्यहि गतिमा रसिदाको मनमा कुराहरु दौडेका थिए आज । रसिदा क्यासिनोभित्र बार टेन्डरको रुपमा काम गर्दथी । बारको छेउमा बाजी थाप्नेहरुको लागि कम्प्युटर राखिएको थियो । मान्छेहरु बाजी थाप्न भित्र आउथे र आफुलाई मन परेको घोडामा बाजी थाप्दथे । रसिदा उनीहरुलाई बियर, ह्विस्की, रम, वाइन डिमान्ड अनुसार सर्भ गर्दथी । मान्छेहरुको उन्माद र खुसीले उसलाई जिस्काइरहेको जस्तो लाग्दथ्यो । सधै अलि अलि जिस्केर बोल्ने रसिदा आज गम्भीर थिई । ऊ बारमा ग्राहक नभएको बेला, स्लाट मशिनमा जुवा खेल्नेहरुको लागि उनीहरुको ठाउँमा पुगेर सोध्थी र अर्डर लिने र पुर्याउने गर्दथी । मान्छेहरु त्यहाँ राखिएका विभिन्न खाले कम्प्युटरहरुमा रात दिन जुवा खेलिरहेका हुन्थे । यिनीहरुमा प्रायजसो रिटायर्ड एकल पुरुष तथा महिलाहरु बढी देखिन्थे । ठूलो–ठूलो रकमको जुवा खेल्नेहरु भने व्यवसायिक जुवाडेहरु पनि थिए । आज उसलाई काउन्टर छोड्ने मन छैन । मान्छेहरु आफै बारमा आइरहेका थिए ।

रसिदा किन खुशी थिइन भन्ने कुरामा धेरैजसो मान्छेहरु अनभिज्ञ भएपनि यहाँ नियमित आउने ग्राहकहरुलाई भने हल्का थाहा थियो । उनीहरुले महिनौं अघिदेखि सोध्ने गर्दथे, ‘यो क्यासिनो बन्द भएपछि के गर्छेस् ?’ उसलाई यो प्रश्नले चसक्क घोच्दथ्यो तर पनि त्यो कुरालाई उसले सिरियस लिएकी थिईन उसले । नसोचिकनै भन्दिन्थि ‘अर्को क्यासिनोमा काम गर्छु । यो मात्र छ र यति ठूलो शहरमा ।’ तर आज न कसैले उसलाई सोधेको छ न कसैलाई उसले जवाफ नै दिनु परेको छ । तर पनि किन किन उसको मनमा ठुलै भुइचालो आएजस्तो भएको छ । घरिघरि दिमागमा भोलि के गर्ने, कहाँ नोकरी खोज्ने, नोकरी पाउने हो कि हैन जस्ता कुराहरुले भुमरी खेलीरहेको थियो । लामो समयसम्म त्यहाँ काम गरेको हुनाले पनि उसलाई क्यासिनो छोड्न सारै दुःख लागेको थियो ।

क्यासिनोमा तिन–तिन वटा बार काउन्टरहरु थिए । तरपनि उसको शरीरिक बनोट र मुस्कानले गर्दा सबैजसो ग्राहकहरु उसको काउन्टर मै झुम्मिएका हुन्थे । कसैले ‘केटा साथी छ कि छैन ?’ भनेर सोध्थे भने कसैले फोन नम्बर माग्थे । जसले जस्तो प्रश्न सोध्थ्यो उस्तै जवाफ दिन पनि आउथ्यो उसलाई । खुलेर हाँस्थी ग्राहकको अघि र भन्थी ‘मेरो केटा साथी छ । यदि तिमि ऊ भन्दा स्मार्ट छौ भने म सोच्न सक्छु ।’ फोन नम्बर भने कसैलाई दिदैनथि । यस्तो लाग्थ्यो कि गर्ल फ्रेन्ड होस् त रसिदा जस्तै होस् । रंग कालो भएपनि मन उज्यालो भएपछि अनुहार उज्यालो देखिदो रैछ । सुन्दरतामा लालित्य थपिदो रैछ । तर छालाको रंग सेतो भएपनि मन कालो हुनेको अनुहार कालो नै देखिदो रैछ । क्यासिनोमा काम गर्ने धेरै गोरी केटीहरु देख्नमा सारै राम्रा देखिन्थे । सेतो छाला, अग्लो कद , खुल्ला छाती र पारदर्सी कपडा। जति बेला पनि ओठ तनक्क तानेर ‘हाई’ भन्ने । तर हाई काडी नसक्दै ‘बाई’ भन्ने र पछि फर्केपछि थुतुनो बङ्गाउने । नौटंकी पनि कति जानेका हुन्छन गोरिहरु । रसिदा उनीहरुभन्दा फरक थि । उसले सबैलाई ‘हाई’ भन्दै हिड्दिन्थि, तर ऊ संग कसैको आँखा जुध्यो भने चै घायल नै पार्थी ।

जोसुकै होस् या जतिसुकै बुढो होस् उसँग एकै छिन भएपनि जिस्किन चाहन्थ्यो । जब ऊ त्यहाँबाट हिद्थी सबै फर्की फर्की हेर्थे उसलाई । धेरै जसो स्टाफहरु जागिर छोडेर नयाँ ठाउमा काम सुरु गरिसकेका थिए । तर रसिदाले क्यासिनोको ढोका खुलुन्जेल काम गर्ने सोच गरेकी थिई । उसले निकै दुःख पाएको बेला भेटेकी थिई यो जागिर । यो जागिरबाट कमाएको टिप्सजति सबै घरमा आमालाई पठाउँथी । इथियोपियाको जिजिका भन्ने ठाँउमा एक्लै बस्थि उसकी आमा । उसको बुबा सोमाली विद्रोहीको आक्रमणमा मारिएको थियो भने दुइवटा दाईहरु युद्धको बेला हराएका थिए । उसकी आमाले घर छोड्न मानिन । रसिदा भने पाँच बर्षको उमेरमा उसको अङ्कलले सरणार्थी कोटामा क्यानाडा ल्याएर आएको थियो । यतै स्कुल पढेकी थिई रसिदाले । आफुले कमाउन थालेदेखि नियमित आमालाई पैसा पठाउथि उसले । समय मिल्नासाथ घन्टौ कुरा गर्थी आमासँग । इथियोपियामा राजनीतिक स्थिरता आइसकेकोले गर्दा उसकी आमाले घर फर्कन खुब आग्रह गर्दथी । तर भने जति सजिलो थिएन फर्केर जान रसिदालाई । एक्लै भएपनि एउटा सानो घर किनेकी थिई एडमन्टनमा । यहि जागिरबाट महिनावारी बन्धक अर्थात् मोर्ट्गेज तिर्दथी बैंकलाई । घरखर्च चलाउथि । यो सबै छोडेर जान भनेजस्तो सजिलो थिएन । शरणार्थी भएर आएको हुँदा आफ्नो देश फर्कन पनि मिल्दैनथ्यो । प्रत्यक महिना आमालाई खर्च पठाउथि । क्यासिनो बन्द हुनासाथ उसको जागिर पनि संगै बन्द हुनेवाला थियो । अर्को जागिरको टुङ्गो नहुदा सम्म उसलाई ठूलो तनाब थियो ।

उमेरले ३० वर्ष टेक्ने बेलासम्म कैयौं केटाहरुले प्रेमको नाटक गरेर रसिदा संगसंगै बस्ने प्रयत्न गरे । तर उसको मन जित्ने एकदमै कम भेटिए । तीमध्येको एउटा थियो डेबिड । सोमालियाको गृहयुद्धको बेलामा सरणार्थीको रुपमा क्यानाडा छिरेको ऊ सोमालियन क्युसिन चलाउथ्यो डाउनटाउनमा । रसिदालाई वेटरको रुपमा काममा राखेको थियो केहि वर्ष अगाडी । डेबिड निकै मेहनेती केटा थियो । उसको रेस्टुरेन्ट पनि राम्रोसंग चलेको थियो । उसका ग्राहकहरु प्राय इथियोपिया, इरित्रिया, सोमालिया, जिबुटि देशका हुन्थे । वयस्क केटाहरु रसिदालाई देख्न साथ मोहित हुन्थे र हुक्काको धुवासंगै उनीहरुको कल्पना हावामा लहर्याउथ्यो । डेबिडलाई भने केटाहरु रसिदासंग जिस्केको मन पर्दैनथ्यो । उसले निकै चाहन्थ्यो रसिदालाई तर धेरै दिनसम्म भन्ने आँट गरेन । दिनदिनै केटाहरुले जिस्काउने र रसिदा पनि जिस्के जस्तै गरेर बोलेको देख्दा डेबिडलाई सहि नसक्नु भयो ।

तर पनि आफ्नो व्यापार बढेको देखेर चित्त बुझाउथ्यो । रेस्टुरेन्टमा पाउनाहरु नभएको बेला काउन्टरमा बोलाउथ्यो, र केहि न केहि कुरा सोधी हाल्थ्यो– काम कस्तो लागिराछ ? कुन कुन खाना बनाउन आउछ ? हिजो त्यो केटोसंग के गफ गरेको ? पहिले चिनेको हो? यस्तै यस्तै । ऊ पनि सबै प्रश्नको जवाफ दिन्थी खुरु खुरु । एकदिन एक्कासी हात समातेर आदेश दिएको सैलिमा भन्यो ‘तिमीलाई म माया गर्छु । अबदेखि अरुसंग जिस्किने हैन ।’ ऊ जिल्ल परि धेरै बेरसम्म । उसले त्यसरी भन्ला भनेर सोचेकी पनि थिइन । ऊ मुसुक्क हाँसी मात्र केहि बोलिन । भोलिपल्टबाट रसिदाले काम नै छोडी । कारण केहि होइन, उसले डेबिडको भनाईमा माया भन्दा बढी प्रभुत्व देखि । एक त ऊ क्यानेडियन परिबेशमा हुर्की । अफ्रिकनहरु महिलालाई आफ्नो कामचलाउ बस्तुको रुपमा प्रयोग गर्छन भन्ने बुझेकी थिई त्यसमा पनि नयाँ नयाँ आएका सोमालियनहरुले महिलालाई अलि ज्यादै हेप्ने गरेको पनि देखेकी थिई ।

आज भने उसलाई त्यहि रेस्टुरेन्टको याद आयो । डेबिडले त हक्की स्वरले माया गर्छु भनेको थियो, तर उसको शरीरमा हातले छुनसम्म छोएको थिएन । तर सबै अफ्रिकन पुरुषहरुलाई हेर्ने एकै दृष्टिकोण हुनाले उसले डेबिडलाई गलत बुझेजस्तो लाग्यो आज । केटो सक्षम थियो । आफ्नै व्यवसाय चलाएर बसेको थियो । कुरै नबुझी जागिर छोडेकी थिई उसले । आज लाग्यो सायद उसंग बिबाह गरेको भए मालिक्नी भएर बस्न सकिन्थ्यो कि । भरै नहुने जागिरको लागि भौतारिनु पर्दैनथ्यो ।

बाहिर घोडा दौडको मध्यम समय भएको थियो । सबैजना बारमा ओइरिन थालेका थिए । बिगतमा हराईरहेकी ऊ बुढो बुढो मान्छेको आवाजले झस्के जस्तै भई । एकपछि अर्को गर्दै मान्छेहरुको लाइन लामै भयो । कसैलाई बियर, कसैलाई कक्टेल, कसैलाई रेड लेबल, कसैलाई स्कच, कसैलाई भोड्का दिदै गई । त्यति ठूलो भिडमा पनि नितान्त एक्ली थिई ऊ । कस्टमरलाई रक्सीको गिलास हातमा दिँदैगर्दा उसको मन एकतमासले घरको मोर्ट्गेज तिर्ने कुरा सोचिरहेको हुन्थ्यो । कतिपल्ट त उसले भोड्कामा क्रेन्बेरी जुसको सट्टा रयास्बेरी जुस मिलाइदेकि थिई । धन्न कसैलेपनि कम्प्लेन गरेनन् या गर्न चाहेनन् ।

सातौं नम्बरको घोडा दौड प्रतियोगिता शुरु हुन गैरहेको थियो । सबैजना हर्षउल्लासका साथ आफ्नो आफ्नो घोडाको समर्थनमा चिच्याइरहेका थिए । यो प्रतियोगितामा दशवटा घोडाहरु भाग लिइरहेका थिए । केटाकेटी, बुढाबुढी,जवान सबै उफ्री उफ्री आफुले बाजी थापेको घोडाको नम्बर बोलाइरहेका थिए । तिन नम्बरको घोडा सबैभन्दा अगाडी पुगेको थियो । त्यो घोडाको मालिक थियो स्पेनिस । कालो कालो बर्णको हाइब्रिड थियो होला मान्छे तर उसको जोस खाट्टी क्यानेडियन थियो । बुरुक्क बुरुक्क उफ्रिन्थ्यो। नभन्दै तिन नम्बरको घोडाले दौड जित्यो । उसको घोडाले कम्तिमा पनि पचास हजार क्यानाडियन डलर कमाइ गर्यो । दुइ डलर बाजी थाप्नेहरुले पनि बिस डलर जिती हाले । आफ्नो घोडाले जितेपछि ऊ दौड्दै गयो क्यासिनो बारमा र भोड्का माग्यो रसिदालाई । धेरै जसो हार्ने उसको घोडाले आज दौड जितेकोले ऊ होसमा थिएन । पचास डलर टिप्स दियो रसिदालाई । सधै टिप्स पाउँदा आमालाई सम्झने रसिदाको मन आज झन् नराम्रोसंग झस्कियो । फिस्स हाँसी ऊ तर हाँसो थिएन उसको ओठमा । अर्को महिनाको घरको बन्दक कसरी तिर्ने ? कामको लागि कहाँ कहाँ जानु पर्ने हो ? आमालाई बोलाउने योजना थियो उसको केहि महिनाको लागि भएपनि । तर आफ्नै जागिर अनिश्चित भएपनि चुप बसेकी थिई ऊ । यस्तै यस्तै के–के सोच्दै थिई ऊ । सबैजना हुरुरु बाहिर जान्थे दौड सुरुहुने बेला, र पुन हुरुरु भित्र आउथे दौड सकियपछि । कोहि बाजी जितेर खुशी हुँदै आउथे भने कोहि बाजी हारेर खिस्स पर्दै । जो जे अवस्थामा आएपनि उसले अर्डर बमोजिम रक्सि दिन्थी । उनीहरुको खुशी या दुःखले खासै केहि फरक पार्दैनथ्यो उसलाई ।

आजको प्रतियोगिता यो वर्षको अन्तिम घोडा दौड थियो । अर्को बर्षदेखि घोडा दौड प्रतियोगिता शहरको पल्लो छेउमा लागिएको थियो । यहाँको बिजनेस अर्थात् क्यासिनो र घोडा दौड दुवै बन्द हुदै थियो । कतिपय मान्छेहरु बिहान ९ बजेदेखि राति १२ बजेसम्म क्यासिनोको तल्लो तला र माथिल्लो तला गर्दै बिताउथे बर्षौदेखी । यसरी दिन काट्नेहरु प्राय गरेर बुडाबुडीहरु हुन्थे । सरकारले दिएको बुडौली भत्ता घोडामा दाउ थाप्दै सिध्याउथे । क्यासिनोको मुख्य फ्लोरमा रहेको रेस्टुरेन्टमा पाउरोटी र कफी खान्थे । नियमित आउने ग्राहकहरुको लागि छुटको व्यवस्था गरिएको थियो । तिनै ग्राहकहरु बढी दुःखी देखिन्थे आज । यस्तो लाग्थ्यो उनीहरुको घर अचानक आउने हावाहुरीको भुमरीले भत्काउदै छ । उनीहरु एकतमासले घोडा दौड हेर्दै थिए । सबैभन्दा ठूलो चिन्ता कि त यिनिहरुलाई थियो कि त रसिदालाई ।

घोडादौड प्रतियोगिताको अन्तिम दौड शुरु हुदै थियो । मान्छेहरु सबै क्यासिनो बाहिर उभिएर आफ्नो आफ्नो घोडाको नम्बर चिच्याउदै थि ए। काठ र बेतका कुर्चीहरु राखेर दर्शकहरु बस्ने ठाँउ बनाइएको थियो। सात नम्बरको घोडा सबै भन्दा अगाडी दौडिरहेको थियो । मान्छेहरुको भीडले जोड जोडसंग हुटिंग गर्दै थियो । रसिदालाई अचानक छाती पोल्यो । चिट् चिट पसिना आयो । शरीर तातेर भुङ्ग्रो जस्तो भयो । ऊ त्यहि थचक्क बसी र आइस बकेट भित्र हात छिराई । अनुहारमा आइस दली । अझैपनि उसलाई सितल भएन । सबै कुराहरुलाई अध्यारो कपडाले छोपेजस्तो देखि उसले । क्यासिनो फ्लोरमा काम गर्ने कर्मचारीहरुले उसलाई उठाएर प्राथमिक उपचार गर्ने कोठामा पुर्याए । आपत्कालिन अवस्थामा उपचार गर्नको लागि केहि स्वाथ्यकर्मीहरु उपस्थित थिए । उनीहरुको टोलीले रसिदालाई नजिकैको अस्पतालमा पठायो उपचारको लागि । अस्पतालको आपतकालीन सेवामा रसिदाको डाइग्नोसिस गरियो । डाक्टरले मेडिकल रिपोर्ट तयार गरेर उसको कम्पनीलाई पठायो । रक्तचापको समस्या देखियता पनि तुरुन्त उपचार गरेकोले उसको ज्यान बाच्यो । उसले दिनदिनै जस्तो भविष्यको चिन्ता लिने, नकारात्मक कुराहरु सोच्ने, खाना समयमा नखाने र राति अबेरसम्म काम गर्ने हुदा राम्रोसंग निन्द्रा नपुगेको कारणले गर्दा स्वास्थ्यमा नराम्रो असर परेको थियो । १द्द घन्टाको उपचारपछि घर फर्की ऊ । उता क्यासिनोमा यो घटनाले खासै कसैलाई पनि दुःखी गराएन । उसको ठाँउमा नयाँ बार टेन्डर आई । सुपरभाईजरले रिपोर्ट तयार पार्यो । त्यहाँ काम गर्दै गरेका बाहेक अन्य स्टाफलाई जानकारीसम्म भएन ।

डाक्टरले रसिदालाई काममा केहि दिनको लागि छुट्टी लिएर कुनै रमाइलो ठाँउमा घुम्न जान सुझाएको थियो । स्ट्रेसले दिमागमा नकारात्मक असर पर्ने र रक्तचाप बढाउने भएकोले यस्तो सुझाब दिएको थियो उसले । काममा नजादा स्ट्रेस घट्नुको साटो बढ्ने कुरा डाक्टरलाई के थाहा ? भोलिपल्टै काममा गई ऊ । म्यानेजरले रसिदालाई आफ्नो अफिसमा बोलायो । उसको स्वास्थ्य भन्दा बढी उसले आफ्नो कुकुरको बारेमा बतायो । आफ्नो डिभोर्स गरेकी श्रीमतीले डिनरमा बोलाएको कुरा सुनायो । र अन्त्यमा अर्को महिनादेखि क्यासिनो बन्द हुने र सबै कर्मचारीहरुलाई हटाइएको कुरा सुनायो । रसिदाको हातमा पहेलो रंगको चिठीको खाम थमायो । यो कुराको जानकारी पहिले नै थियो रसिदालाई । खासै ठूलो झड्का लागेन उसलाई । म्यानेजरलाई ‘बाई’सम्म नभनी तुरुन्त बाहिरिई र सरासर घर गई ।

जन्मदिनमा कसैले दिएको वाइन थियो आल्मारीमा, झिकी । किचनबाट बियरको गिलास ल्याई र आधा गिलास खनाई । हिजोसम्म जागिर जाने डर थियो उसलाई । अब जागिर नै गइसकेकोले उसलाई अर्को जागिर नखोजी कुनै उपाय नै थिएन । कम्प्युटरमा पुरानो रिज्युमी खोजी । नयाँ कामको अनुभव थपी, र कभर लेटर तयार गरी । प्रत्येक दिन कुनै न कुनै बार तथा रेस्टुरेन्टमा अप्लाई गर्थी ऊ तर कसैले पनि सम्पर्क गरेनन् महिनौंसम्म । उसलाई घरको मोर्ट्गेज तिर्ने कुराले झन् धेरै सताउन थाल्यो । उसको आत्मबल घटेको थियो । आत्मबल कमजोर हुनाले कामको लागि जसरी लागिपर्नु पर्ने हो त्यसरी लागिन ऊ। उसलाई थाहा थियो चिन्ताले चितामा पुर्याउछ भन्ने कुरा, तर चिन्ता कहाँ कसले गर्छु भनेर हुन्छ र ? रसिदा झन् पछि झन् डिप्रेसनमा पर्दै गई । पछि पछि उसले कामको लागी अप्लाई गर्न छोडी । उसको मनोबल एकदमै कमर बन्दै गयो । साथीहरुलाई फोन गर्न पनि छोडी । एक्लै एक्लै बस्ने, एक तमासले चुरोट तान्ने गर्न थाली । दुई–दुई महिनासम्म घरको बन्दक तिर्न नसकेकोले गर्दा बैङ्कले घर लिलामी बिक्रीमा राख्यो । चौथो महिना ऊ घर छोडेर डेरा सरि ।

रसिदाको यो हालत भएको कुरा डेबिडले थाहा पायो । रसिदाले उसँग काम छोडेको भएपनि उसले रसिदाको बारेमा जानकारी राखिरहेको थियो । ऊ रसिदालाई आत्मादेखि नै माया गर्दथ्यो । रसिदा एउटा गोरे केटोसंग डेटिङ्ग जाने गरेको र एक वर्षपछि उसलाई धोखा दिएकोु कुरा कसैले सुनाइदिएको थियो उसलाई । उसलाई यो पनि थाहा थियो कि रसिदा प्रेममा हैन भ्रममा छे । यसरी भ्रममा परेर जिन्दगी बिगार्नेहरू धेरै थिए कालिहरु । गोरीहरु पनि काले केटाहरु रुचाउथे सेक्सको आनन्द लिनको लागि । वास्तविक प्रेम गरेर बिहे गरेका गोरे र काली तथा काली र गोरे कम थिए । एकदमै कम थिए भन्दा पनि हुथ्यो किनकि बिहे गरेकाहरुपनि एक दुइ वर्षमै डिभोर्स गर्दथे ।

एकदिन डेबिड ‘आकासिय ड्राई रेड’ बोकेर रसिदाको कोठामा पुग्यो । उसले बिना जानकारी आएकोमा क्षमायाचना गर्यो सुरुमै । ऊ आफैले पत्ता लगाएको थियो रसिदा बस्ने घरको ठेगाना । रसिदाको शरीर अत्यन्त कमजोर भइसकेको थियो । उसले डेबिडलाई चिन्दा पनि चिनिन शुरुमा । डेबिडले बिगतको कुरा सम्झाउँदै आफ्नो परिचय दियो । उसको परिचयले रसिदा छक्क परि । उसलाई विश्वास नै लागेन उसको अगाडी सोफामा बसेको मान्छे डेबिड नै हो भन्ने । शुरुमा नसोधी आएकोमा रिस पनि उठ्यो उसलाई । मन र मस्तिष्कको बीच द्वन्द चल्यो केहीबेर । मनलाई स्वीकारी उसले । धेरै बेरसम्म उनीहरु बिगतका कुराहरु गरे । अन्त्यमा डेबिडले रसिदालाई भोलिपल्ट आफ्नो घरमा आउन निम्तो गर्यो ।

रसिदा लागुपदार्थको सेवन गर्न सुरु गरिसकेकी थिई । डिप्रेसनले गलाई सकेको थियो । उसको अनुहारमा पहिलेको चमक हराइसकेको थियो । खुलेर हाँस्नको लागि आत्मबल रित्तियको थियो । सामान्य कुराले डिप्रेसनमा गएकी थिई ऊ । जागिर आज नभए भोलि हुन्थ्यो । उसले अप्लाई गर्न छोड्नु हुन्थेन । तर उसलाई पहिलेदेखि नै मनमा डरले जरा गाडिसकेको थियो । नकारात्मक सोचले दिमागमा डेरा जमाई सकेको थियो । त्यतिमात्र होइन रसिदाको व्यक्तिगत जीवनमा पनि विभिन्न घटनाहरु घट्दै गए । जति जति उ आफुलाई बलियो बनाउन खोज्थी, परिस्थिति अलग भैदिन्थ्यो । सबैतिरबाट एक्लो महशुस गर्न थाली ऊ । त्यसैले त उ चुरोटको लतमा फसिसकेकी थिई। अघिल्लो दिन ड्रग्स लिनको लागि कोठाबाट निस्केकी पनि थिई ऊ । भेटिन कतै । आत्महत्या गर्ने सोच पनि आयो एकदिनभर । तर बेलुकापख आमाको फोन आयो । आँमासंग रोई बेस्मानी । त्यसपछि आमाकै लागि भएपनि आफु बाच्नु पर्ने निष्कर्षमा पुगेकी थिई ऊ ।

डेबिड रसिदालाई पर्खेर बाहिरै बसेको थियो । रसिदालाई हातमै समाएर भित्र लग्यो । घरमा अरु कोहि पनि थिएनन् । लिबिंग रुममा दुइजना ओल्लो पल्लो सोफामा बसेका थिए । सामान्य कुराकानी पछि मौनता छायो। डेबिड रसिदाको रुप रंग हेरेर दङ्ग परेको थियो। के नै घटना घटेको थियो र उसको जीवनमा ऊ यति छिटो जीवनबाट हार खानु पर्ने ? कैयौं होटेलमा भाँडा माझेर बल्ल बल्ल काम सिकेको थियो आफुले । कति दुःख पायो कति, पछि त्यहि शिपले उसलाई मालिक बनायो । दुःख के हो उसले राम्ररी चिनेको थियो । रसिदाको व्यक्तिगत कुराहरु त खासै धेरै जान्दैनथ्यो ऊ, जागिरकै कारणले यो अवस्थामा नपुग्न पर्ने हो जस्तो लाग्यो उसलाई । ‘जागिरको लागि ऊ मेरोमा पनि एकचोटी आउन सक्थी’ उसले मनमनै सोच्यो । रसिदाको आँखामा ज्योति हराएको थियो । केहीबेरको मौनता पश्यात ऊ रसिदाको नजिकै गएर बस्यो र उसको ढाडमा हात राख्यो । रसिदा म तिमीलाई अझै पनि उति नै चाहन्छु जति त्यतिबेला चाहन्थे । बिगतका कुरा छोडौं । ‘यदि तिमीले मान्छौं भने म अहिले नै तिमीलाई बिहे गर्न तयार छु ।’ डेबिडले पूर्ण आत्मबलका साथ भन्यो । रसिदाको आँखाबाट अनायासै आशु झर्न थाल्यो । सुक्क सुक्क गरेर रुन थाली। धेरै बेरसम्म केहि जवाफ दिन्छे कि रसिदाले भनेर पर्खिबस्यो ऊ, तर नाजवाफ थिई ऊ ।

बेलुका दुबैजना खाना खान बाहिर निस्के । बेकरी लाइनको अफ्रिकन सफारी रेस्टुरेन्टको एउटा कुनामा बसे उनीहरु । जीवनको बारेमा खुलेर कुरा गरे । दुवै जनाले बिगतलाई खोतल्नु भन्दा बर्तमान र भविष्यकै बारेमा कुरा गर्न चाहे । छिटै बिहे गर्ने सहमति पनि गरे उनीहरुले । राति दुबैजना डेबिडको घरमै बसे । दुःखको पहाड फोरेर जग बसालेको जीवनको घर साच्चिकै भव्य महल थियो । चारकोठा भएको यो घरको जमिनको सतहमुनि पौडी खेल्ने पोखरी थियो । पोखरीको वरिपरि आरामदाई कुर्चीहरु थिए । बैठक कोठामा आकर्षक बुट्टा भएको इथोपियन कार्पेट हालेको थियो । झरनाको अघिल्तिर एकैसाथ दुइवटा छोरा र छोरी बोकेकी महिलाको पेन्टिङ्ग झुन्डिएको थियो डाइनिंङ्ग टेबलको माथिपट्टी । खैरो रङ्गको छालाको सोफा निकै मिलाएर राखेको थियो उसले । त्यसैमा बसेर धेरैबेर सम्म गफ गरे उनीहरुले । रसिदलाई आफ्नो घरको सम्झना आयो । कति सपना साचेकी थिई त्यो घरमा उसले । जीवनभर कमाएको पैसा बैना हालेकी थिई । सबै स्वाहा भएको थियो । त्यो दिनपछि उनीहरुसंगै बस्ने निधो गरे । भोलिपल्ट आफ्ना केहिजोर कपडाहरु र कागजपत्र बोकेर डेबिडको घरमा डेरा सरि ऊ ।

अगस्ट महिनाको सोमबार दुवैजना नजिकैको चर्चमा गएर बिहे गरे । बिहे गरेको रात डेबिडले रसिदालाई लिएर कलिङ्गउड भन्ने ठाँउमा लग्यो । उसले रसिदालाई गाडीमा बस्ना साथ आँखामा पट्टि बाध्न लगाएको थियो । रसिदालाई उसको यो अप्रत्यासित आदेशले मनमा शंका पैदा गर्यो। एक ठाउँ पुगेपछि ूआज हामि यहि होटेलमा हनिमुन मनाउछौ भन्दै आफैले डोर्याएर घर भित्र पसाल्यो उसलाई । जब रसिदा ले आँखा खोली ऊ झन्डै बेहोस भईन । त्यो घर बैकले केहि महिना अगाडी लिलाम गरेको रसिदा कै घर थियो । ति भित्ताहरुले उसलाई हेरेर मुस्कुराउदै थिए । सबै कुराहरु उस्तै थिए । डेभिडले घरको साँचो उसको हातमा राखिदियो । उसको आँखाबाट खुशीका आँशु बर्रर झरे । त्यो घर बैङ्कसंगबाट डेभिडको साथीले किनेको रहेछ । डेभिडलेपछि थाहा पाएर रसिदालाई सर्पराइज दिनको लागि साथीसंगबाट आफुले किनेको थियो । सबैकुरा नाढाटी भन्यो उसले ।

दिनहरु बित्दै गयो । उनीहरुले त्यो घरलाई भाडामा लगाएर डेभिडकै घरमा बस्न थाले । रेस्टुरेन्टको व्यापार झन्पछि झन् राम्रो हुदै गर्यो । वेस्ट एडमन्टन मलको नजिकै अर्को साखा रेस्टुरेन्ट खोले । डेभिडले डाउनटाउनको र रसिदाले नयाँ खोलेको रेस्टुरेन्ट व्यवस्थापन गर्न थाले । उनीहरुले नयाँ स्टाफहरु थपे । अत्यन्त व्यस्त भए दुवैजना । ग्राहकहरुको संख्या दिन प्रतिदिन बढ्दै गयो । रेस्टुरेन्टको मेनुमा अफ्रिकन खानाका प्रकारहरु सबैजस्तो अटेको थियो । फुर्तिला इथोपियन केटीहरुले ग्राहकहरुलाई खाना सर्भ गर्थे । त्यसैले पनि उसका ग्राहकहरु बढेका थिए झन् पछि झन् । कावा खानेहरु र हुक्का तान्नेहरु राति अबेरसम्म बस्थे । रेस्टुरेन्टको आम्दानी पनि राम्रै भयो । दुई वर्षभित्र एउटा घरको ऋण सबै तिरेर उम्के उनीहरु ।

जाडो सिजनको अन्तिमतिर उनीहरुले रेस्टुरेन्टमा स्टाफ बढाएर आफुहरु छुट्टी मनाउन जाने तयारीमा थिए । स्टकहोमदेखि बर्जेन सम्मको पन्द्र दिनको यूरोपका आठवटा देशहरुको सामुन्द्रक यात्रा तय भइसकेको थियो । डेभिडको साथीले नै उनीहरु फर्केर आउन्जेल रेस्टुरेन्टको हेरदेख गर्ने सहमती बनिसकेको थियो । एकदिन दुबै जनासंगै बसेर कम्प्युटरमा युरोपका रमणीय ठाउँहरुको खोजी गर्दै थिए अचानक चीनमा कोरोना भाइरस देखिएको र यसको संक्रमण संसारभर फैलन सक्ने खबर आयो । क्यानाडामा पनि यसका संक्रमितहरु दिन दिनै बढ्न थाले । मार्च महिनादेखी अल्बर्टा प्रोभिन्समा अत्याबसेक बाहेक सबै व्यवसायहरु बन्द गर्ने घोषणा गर्यो । यसका साथै रेस्टुरेन्टको भित्र बसेर खाना खान रोक लगायो । रेस्टुरेन्टहरुले खान बनाएर बाहिर पठाउन मात्र पाउने भए। उनीहरुको रेस्टुरेन्टले पनि आफुसंग भएका स्टाफहरु निकाल्नु पर्यो । आफ्ना ग्राहकहरु धेरैजसो रेस्टुरेन्ट मै आएर खान खाने भएकोले, उनीहरुले सोचेजस्तो डेलिभरी हुन सकेन । एक, दुइ महिना हुदै लकउन लम्बिदै जादा रेस्टुरेन्टले खर्चसम्म उठाउन सक्ने अवस्था रहेन । बिक्रि भएको सामानको ठूलो रकम उबर र स्किप जस्ता अनलाइन डेलिभरी कम्पनीहरुले लैजान्थे । त्यति नै प्रतिशतको दरले सरकारलाई कर तिर्नु पर्दथ्यो । सबै खर्च कटाएर भाडा तिर्ने अवस्था समेत रहेन । दुवै जनाको सहमतिमा नयाँ खोलेको रेस्टुरेन्ट बन्द गरे उनीहरुले र एउटामा मात्र काम गर्न थाले ।

एकदिन बिहान आमाको सिकिस्त भएको खबर छिर्यो रसिदाको कानभित्र । यो दुखद् खबरले उसको मुटु पोलेर आयो । उसका हात खुट्टाहरु थर्रर काँपे । टाउकोमा रिंगटा लागेजस्तो भयो । ऊ धेरैबेरसम्म अवाक बनी । युद्धको बेला आफुलाई काँधमा राखेर घरबाट भागेको र कैयौं दिनसम्म जंगलमा लुक्दै बिताएका दिनहरु सम्झी । आमाको अन्तिम इच्छा अनुसार उसलाई आफन्तहरुले बोलाए । घर जानलाई त्यति सहज थिएन । एकातिर रेस्टुरेन्टमा पनि सबै स्टाफहरु हटाएर आफुहरुले मात्रै काम गर्दै थिए । अहिले उनीहरु घरभाडा तिर्नसम्म पनि मुस्किल परेको थियो । अर्कोतिर रसिदा इथियोपिया जान पाउदैनथि । इथिओपिया जानको लागि ऊ इरित्रिया झरेर त्यहाबाट घर छिर्नु पर्दथ्यो । तर यो सबै कोरोनाभाइरसको महामारीले गर्दा निकै अप्ठेरो थियो ।

धेरै कोसिस गरेर डेभिडले रसिदालाई इरित्रियासम्मको प्लेन टिकटको व्यवस्था गर्यो। रसिदा नहुँदा रेस्टुरेन्ट खोल्न सक्ने स्थिति रहेन । उनीहरुले त्यसलाई बिक्रीमा राखे । धेरै दिनसम्म पनि बिक्रि नभएकोले गर्दा अलिअलि सामानहरु उसले घरमा ल्याएर राख्यो र घरबेटीलाई साँचो बुझायो । पैसाको संकट पर्दै जाँदा उनीहरुले भाडामा लगाएको घर बेच्ने निधोमा पुगे । रसिदा इथियोपिया गई । ऊ घर पुगेकै दिन उसकी आमाको मृत्यु भयो । ऊ आमाको अन्तिम संकारमा सामेल हुन समेत पाइन । त्यहाँको नियम अनुसार १५ दिनसम्म अलगयै बस्नु पर्ने थियो । उसलाई बस्नको लागि कुनै सुबिधा सम्पन्न होटलहरु थिएनन् त्यहाँ । गाँउकै एउटा पुरानो गिर्जा घरमा बस्ने व्यवस्था गरिएको थियो ।

१५ दिन एकान्तबास बसेपछि ऊ आफ्नी आमाको घरमा पुगी । घर सुनसान थियो । त्यो घरमा वषैंदेखि उसकी आमा एक्लै बस्दै आएकी थिइन् । युद्धको बेला घरबाट भाग्दासंगै बोकेका केहि अवशेष मात्र बाँकी थियो घरमा । आमाको एकजोडी शिरदेखि कुर्कुच्चा सम्म आउने लुगा ‘हमेसा कमिस’ भित्तामा झुन्डिएको थियो । घरभित्र एकखालको नमिठो दुर्गन्ध फैलिएको थियो । ऊ भित्तोमा टाउको ठोकी ठोकी रोहि धेरैबेरसम्म । छिमेकीहरु ऊसंग बोल्न सम्म पनि चाहेनन् । कसैको घरमा गएर बस्ने स्थिति पनि थिएन । त्यो रात रसिदा आमाको घरमै सुति । निन्द्राले ऊ संगबाट पहिले नै बिदा लिइसकेको थियो । मध्यरातमा ऊ अचानक घरबाट निस्केर सरासर ब्लु नाइल नदिको किनारमा पुगी। नदीको छेउमा ढुङ्गामाथि बसेर भगवानसँग प्राथना गरी । धेरैबेरपछि एक्कासी चराहरु आकाशमा उड्न थाले । त्यसपछि रसिदा कहाँ गइन् के गरिन् आजसम्म पनि कसैले पत्तो लगाउन सकेको छैन ।

  • दिलिप पौड्याल  -टोरन्टो क्यानडा
तपाईको प्रतिक्रिया