काठमाडौं – १५ असोजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान संख्या बृद्धि हुने भएको छ । हाल अन्तर्राष्ट्रिय वायुसेवाले सातामा एउटा मात्र उडान गरेकोमा १५ असोजदेखि दैनिक एउटा (हप्तामा सातैवटा) उडान गर्न पाउने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसी अहिले स्वास्थ्य मापदण्ड पालना गरेर भइरहेको उडानलाई नै बढाउने बताउँछन् । यात्रुको सहजताका लागि हवाई उडान सहज बनाउन थालिएको उनले बताए ।
विस्तारै बन्दाबन्दी अगाडिकै लयमा फर्काउन सरकारले दिएको उडान अनुमतिलाई कार्यान्वयन गर्दै आवश्यक व्यवस्था मात्रै विमानस्थलले मिलाएको केसी बताउँछन् । नेपालमा उडान गरिरहेका विभिन्न ३० वायुसेवाले दैनिक ५३ वटा उडान गर्ने गरेकोमा कोरोना महामारिपछि यस्तो उडान शून्यसम्म झरेको थियो ।
दैनिक १५ देशका ३२ गन्तव्यको लागि हुने उडान ९ चैतदेखि रोकिएको थियो । अन्तर्राष्ट्रिय नियमित उडान सरकारले १७ भदौदेखि खुला गरेसँगै उडान तालिका बढाउँदै लगिएको र सहजीकरण हुन थालेको छ । यसबाट नेपालमा पर्यटन आगमन पनि शुरु हुने र विभिन्न देशमा रहेका नेपालीको माग अनुसारको उडान संख्या बढ्ने छ ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेल यसले हवाई उडान सहज हुँदै गएको सन्देशसमेत प्रवाह हुने बताउँछन् । सरकारले १७ भदौदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेपछि १० देशका १४ वटा वायुसेवामध्येबाट दैनिक ३ वटासम्म मात्रै उडान हुँदै आएको थियो ।
सरकारले स्वास्थ्य मापदण्ड पालना गर्ने र ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट ल्याएका यात्रुलाई नेपाल आउन दिएको छ । १४ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्थालाई पनि सहजीकरण गर्दै जाने प्राधिकरणका महानिर्देशक पोखरेल बताउँछन् ।