काठमाडौँ- माओवादी सेनाका लडाकु कमाण्डरको बैठकले दलहबीच भएको सातबुँदे सहमतिलाई अक्षरशः पालना गर्न सहयोग गर्ने निर्णय गरेको छ। एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको निवास नयाँबजारमा हिजो बेलुका र आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो।
पछिल्लो पटक भएको सहमतिलाई कार्यान्वयन गर्न सहयोग गर्ने निर्णय गरेको माओवादी सेनाका लडाकु कमाण्डर नन्दकिशोर पुनले बताए।
उनले दलबीच मङ्गलबार भएको सहमतिको बारेमा छलफल भएको र त्यसलाई कार्यान्वयन गराउन आफ्ना सबै निकायलाई परिचालन गर्ने निर्णय भएको बताए। बैठकमा लडाकु शिविरका सातै डिभिजनका कमाण्डरको उपस्थिति थियो।
बैठकले समायोजन, पुनःस्थापन र लडाकुहरुको वर्गीकरणका लागि जाने प्राविधिक समितिका सदस्यलाई कसरी सहयोग गर्ने भन्ने सम्बन्धमा पनि छलफल भएको लडाकुका प्रवक्ता चन्द्रप्रकाश खनालले बताए।
बैठकले सेना समायोजन र पुनःस्थापनाको विषयमा गरिएको सहमतिको पक्षमा सबै लडाकुहरु रहेका र त्यसमा शङ्का नगर्न सम्बद्ध सबै पक्षलाई अनुरोधसमेत गरिएको खनालले बताए।