काठमाडौं – नेपालमा ‘लकडाउन्स गट ट्यालेन्ट’ सुरु भएको छ । ‘घरमै बस्नुस् प्रतिभा देखाउनुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्’ भन्ने नाराका साथ ‘लकडाउन्स गट ट्यालेन्ट’ सुरु भएको हो ।
कोरोनाको महामारीका कारण लगाइएको लकडाउनमा टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा ‘लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो ।
यो प्रतियोगितामा भाग लिन आफूमा रहेको प्रतिभा नृत्य, संगीत, गायन, अभिनय, जादुगरी, पाककला, टिकटक, कविता आदिको भिडियो बनाएर पठाउनु पर्नेछ । ती भिडियो सामाजिक सञ्जालमा लाइक, सेयरको आधारमा प्रतियोगिताका विजयी छनोट गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा निःशुल्क सहभागिता जनाउन सकिने छ । ‘प्रत्येक पटक १०–१० जना गरी चार राउन्डमा ४० जना र सबैभन्दा धेरै लाइक भिडियोका आधारमा थप १० जना मोस्ट पपुलर गरी ५० जनालाई पहिलो चरणमा छनोट गरिने बताइएको छ । ५० जना प्रत्येकको डीजीपे खातामा तत्कालै १–१ हजार रुपैयाँ नगद जम्मा गरिने छ ।
प्रतियोगितामा कुनै निर्णायक हुने छैन । सामाजिक सञ्जालमा अत्याधिक सेयर, लाइक र कमेन्टकै आधारमा विजेता छानिने आयोजकको भनाइ छ ।
करिब दुई महिनासम्म सञ्चालन हुने यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका मुख्य विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा भाग लिन पहिलो चरणका प्रतिष्पर्धी भिडियोहरू जेठ ३० गते भित्र पठाउनु पर्नेछ ।