मैले यहाँ मेरा भोगाइ अनुभवलाई आत्मकथा बनाएर प्रस्तुत गरेकी छु , म जस्तै अरु छोरीहरुको लागी एउटा मार्ग दर्शन र प्रेरणा मिलोस भन्ने अभिलाशा राखेकी छु ।
म एक तामाङ समुदायकी छोरी तर छेत्री समुदायमा बिवाह गर्नपुगें, प्रारम्भिक समयमा मलाई घुलमिल हुन निकै नै गाह्रो भयो, कारण थियो नयाँ परिवार, नयाँ परिवेश, यावत कुरा नयाँ, समग्रमा म मानसिक रुपमा अनविज्ञ थिएँ ।
बिवाह पस्चात मैले धेरै नै चुनौती अनि परिक्षाको सामना गर्नु पर्यो हरेक परिक्षा मैले सोचे भन्दा नितान्त फरक थियो त्यसैले होला म परिक्षाबाट भाग्दै हिंड्न बाध्य पनि भएँ जुन कुरा मैले किताबमा पढेर प्रभावित बनेकी थिएँ । तर यथार्थ भोगाइमा निकै फरक अनुभुती गरें ।
मैले मुनामदनको कथामा पढेकी थिएँ कि जात धर्म हुदैन भनेर लक्ष्मी प्रसाद देवकोटाले लेखेको यो स्लोक अझ मेरो मस्तिष्कमा स्मरण नै छः
‘क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।’
सानै उमेर मेरो त्यो बेला, न शिक्षा मा पोख्त नत शारीरिक मानसिक रुप मा परिपक्व, न त आफैंमा आत्मनिर्भर । दुई भिन्न सामाजिक परिवेश अनि रितिथिती भएको परिवार मैले आफुलाइ समाहित गर्न सक्छु भनेर गरेको त्यो निर्णयले चुनौती दिएको अवस्था थियो ।
बिवाह पछि परिवारका हरेक सदस्यहरुको साथ र माया त पाएँ तर मेरो मन मा सधै मानशिक द्वन्द्व चलि नै रह्यो ।
शुरूवाती दिनमा जब म एउटा श्राद्दमा गएँ, त्यहां मलाई छुन नै दिइएन , मैले छुनेबित्तिकै पानी फालियो र फेरि नयाँ पानी लिएर ल्याईयो । त्यसपछि मलाई त्यहाँ नआउन आग्रह गरियो ।
मनमा चिसो पस्यो, म माथि किन यस्तो अपहेलना ? मेरा लागि त्यो कुरा नितान्तै नौलो थियो, किनकि आजसम्म मैले यस्तो कहिल्यै भोगेकै थिइन ।
मैले आफैले आफैलाई प्रश्न गरे, किन यस्तो ? तर उत्तर मसंग थिएन ।
म भित्रको आत्मसम्मान, आवाज र प्रश्न धेरै थिए तर सबै मैले दबाएर नै राखें, किनकि म एक छोरी अनि कसैकी बुहारी पनि थिएँ । मेरो नामसंगै एउटा उपनाम म संग जोडिएको थियो ।
म मानिसहरुका कुरा सुन्थें तर प्रतिकार गर्ने क्षमता म संग थिएन । म निशब्द थिएँ तर मन संधै असन्तुसष्टिले छट्पटाइरहेको थियो ।
कसले बुझ्ने र मेरो मनको ब्यथा ?
अनेक समस्या आए पनि म पटक्कै कमजोर महिला त हैन, मेरो आत्मबल अनि बिश्वास थियो । यो समाजको कुरिती लाई म परिवर्तन गर्न सक्छु भन्ने ।
समाजको परिवर्तन अरुबाट होस भन्ने आशा हैन शुरु आफू बाट गर्नु पर्छ ्र म त यही भन्छु तानाशाही बिचारधारा भएको मानिसले शुरुवात गरेको संस्कारको अनुशरण गर्दै सोही प्रचलन यथावत राख्दा अहिलेको एक्काइसौं शताब्दी सम्म पनि यो यथावत पाइयो ।
मैले यस्तो धारणा राख्दै गर्दा के स्मरण गराउन चाहन्छु भने म सनातन परम्परा र संस्कृतिको सम्मान गर्छु तर समाजलाई बिखण्डित गराउन उकास्ने कुरिती, आत्म सम्मान मा ठेस पुर्याउन मद्धत गर्ने कु–संस्कारको चाहिँ म कट्टर बिरोधी हो ।
अन्यथा हिजोका सतीप्रथा र सुदुर पश्चिमका छाउपडी लाइनै हेर्नुहोस के ती कुसंस्कार हैनन त ?
एउटा महिला परिवारको समाजको र सिंगो राष्ट्रको अभिन्न परिपूरक हिस्साको रुपमा रहेको यथार्थ जो छ । तर यही समाजले महिलाको अस्तित्व लाई गौण बनाइदिने गरेको यथार्थ समेत छ ।
यि सबैकुरा हरुलाई मनन गर्दै जाँदा मलाई अनुभव भयो कि हामी महिला हरु जबसम्म सशक्तीकरणका निम्ति एक बनेर स्वयं आत्मनिर्भर हुँदैनौं तब सम्म हामीलाई समस्याले पनि छोड्ने छैन ।
समस्याको पाटो केवल आर्थिक मात्र सोच्नु मुर्खता हुनेछ, अनि सामाजिक बिविधताको बीच हामीमा असमझ हुनु त्यो झन वेवकुफी हुने छ । कारण पहिला त हामी एक नारी हौं ।
हाम्रा हरेक हक हित का कुरा, सरोकार र अधिकार अनि राज्य प्रशासन आदिमा हिस्सा का कुरा । हामी आफैंमा बहुप्रतिभा, हाम्रा विभिन्न रुप अबस्था छन, गृहिणी रुप, सुत्केरी रुप, मासिक धर्म, श्रीमती रुप, बुहारी रुप, बिधवा रुप, आदि–आदि । यि सरोकार अनि समस्याका बिषय हाम्रा साझा हुन, भनेपछि हामी एक ठाउँ मा संगठित हुन र राज्य प्रशासनको निर्णायक स्थानसम्म पुगेर समाधान पनि आफैं गर्ने सामर्थ्य राख्नु पर्छ ।
हामीमा अर्को नभई नहुने पक्ष भनेको स्वालम्बीपन हो, हामीसंग भएका सानोतिनो सीप चाही हाम्रो जीवनरक्षक हो । तसर्थ हामी यथासंभव केहि सीप सिकेर आत्मनिर्भर बन्दै आफू निकट अरुलाइ पनि प्रेरित गरौं ।
उपरोक्त भोगाइ र अनुभवबाट मैले मेरो जिवनका बाँकी दिनहरु महिला दिदीबहिनीलाई के–कसरी आत्मनिर्भर बनाउन सक्छु भन्नेमा लगाउने लक्ष्य लिएकी छु । अहिले यही क्षेत्रका विभिन्न संघसंस्थासंग आवद्ध भई छोरीको लागी छोरी, जनताको स्वतन्त्र आयोग नेपाल, आमाछोरी, मानवीय क्रियशन, नेपाल मजदुर एकता संघ, हन्ड्रेज ग्रुप लगायतसंग सहकार्य गरि आफनो लक्ष्य पूर्तिको लागी संघर्ष गर्दै छु ।
(लेखिका हाल जापानमा बसोबासरत छन् – सं)