Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024

अवसर नभएर हो या भविष्य नदेखेर, सुख नभएर हो वा सुरक्षित नभएर । यो देशको एउटा क्षमतावान् इन्जिनियर विदेश पलायन हुँदैछन् । यही देशबाट अर्को वरिष्ठ डाक्टर विदेश पलायन हुन्छ नफर्कने गरी । नर्सहरू धमाधम पलायन हुँदैछन् । व्यापारी यो देशमा लगानी सुरक्षित देख्दैन । विद्यार्थी आफ्नो भविष्य देशमा सुरक्षित देख्दैन, किसान आफै सुरक्षित छैन भने सुरक्षित को होला यो देशमा ? कसको भविष्य उज्ज्वल होला यही बसेर ? कसले प्रेम गर्ला यो देशमाथि अनि कसको भरोसा होला देशकै सिस्टमप्रति अनि को रहला यही देशले बुढ्यौलीसम्म ।

कुनै पनि काम ठूलो या सानो हुँदैहुँदैन आजका शताब्दीमा तर पनि एउटा इन्जिनियर काम नपाएर पठाओ चलाएरै बस्छ यही देशमा, एउटा पाइलट बेरोजगार बसिरहन्छ यही देशमा (यी दुई पंतिकारले प्रत्यक्ष भेटेका मानिसहरू हुन्) भने अब कसको भविष्य सुरक्षित छ भनेर मान्न सकिन्छ त देशमै ? यो कुनै देशप्रति वितृष्णा जगाउन गरिएको कटाक्ष भने हुँदै होइन तर सत्य यही छ यही हो यही नै रहिरहोस् भन्ने कदापि होइन । एउटा युवा यो देशमा किन आफ्नो भविष्य सुरक्षित देख्दैन र विदेश पलायन हुन चाहन्छ । अभिभावक आफ्ना सन्तानहरूलाई यही देशमा राखिरहन चाहँदैनन् । व्यापारी आफ्नो लगानी देश छोडेर विदेशतिरै गरौँ भन्ने सोच राख्छ । कृषि कसैले गर्न चाहँदैन गर्नेहरूको पनि बजार त्यति सुरक्षित र उज्ज्वल छैन आजसम्म पनि ।

यो देश अहिले कसको भयो ? यो देशमा कसले राज गर्‍यो र बौद्धिक युवाहरू लखेट्यो ? किन यत्तिका सम्भावना भएको मुलुकले पाएको सबैभन्दा धेरै युवा जनशक्ति भएको देशका युवाहरूले आफ्नै देशको सिस्टममाथि पराजित हुँदै देशै नभएको टुहुरो जस्तै बनी देश छोड्नु पर्‍यो ।

सरकारले दुर्दृष्टि न विकासका संरचनामा राख्छ या न अन्य कुरामा । (पंतिकार विगत एक दशक देखि जापानको उच्चतम् विकासलाई नियाल्दै गर्दा मेरो देश पनि यस्तै होस् कल्पना बुन्छन्) यो सरकारले इच्छाशक्ति नभएर हो या आर्थिक अभावका कारण देशमा हुनै पर्ने हजारौँ अत्यावश्यक योजनाहरू सरकारको कल्पनामै छैन । आजसम्म लाखौँ युवादेखि उमेर पाकेका लाखौँ नेपालीहरू परदेशमा श्रम बेचिरहेका छन् । यो देशका बौद्धिक युवाहरू किन देशमै खपत हुन सक्दैनन् ।

संसारका हरेक देशका बौद्धिक कारखानामा काम गर्न सक्षम नेपालीहरू किन आफ्नै देशमा अवसर पाउँदैनन् ? किन सुकुम्वासी जस्तै खाना नाना अनि छानाको लागि संसारभर भौतारिरहेछन् । नासामा फिट हुन सक्ने नेपाली युवाहरू यो देशमा किन अटाउँदैनन्, गोगलमा अवसर पाउने नेपालीहरू किन यही देशमा बस्दैनन् ? ब्रिटिस सेनाको माथिल्लो पद सम्हाल्न सक्ने नेपालीहरू किन देशमा अटेनन्, अस्ट्रेलियाको राजनीतिमा हस्तक्षेप गर्न साहस गर्नेहरू,चन्द्रमाको अनुसन्धान गर्न सक्नेहरूलाई किन यो देशले अवसर दिएन या चिन्दै चिनेन ? यो देश अहिले कसको भयो ? यो देशमा कसले राज गर्‍यो र बौद्धिक युवाहरू लखेट्यो ? किन यत्तिका सम्भावना भएको मुलुकले पाएको सबैभन्दा धेरै युवा जनशक्ति भएको देशका युवाहरूले आफ्नै देशको सिस्टममाथि पराजित हुँदै देशै नभएको टुहुरो जस्तै बनी देश छोड्नु पर्‍यो ।

यो देश हिजो कसको थियो आज कसको छ र भोली कसको कित्तामा पर्ने हो । मेरो पनि देश छ भन्ने गर्व कहिले सम्म गर्न पाउने हो नेपालीहरूले । देशै भएर पनि नभए जस्तो कतिन्जेल डिभी चिट्ठाको गुहार माग्नु पर्ने हो नेपालीहरूले ? कतिन्जेल अस्ट्रेलियाको पिआर कुरिरहनुपर्ने हो अझैँ ? जापानी पासपोर्टको लागि कत्ति पर्खनुपर्ने हो ? कत्ति लामो लाइन बस्नुपर्ने हो ईपिएस कोरियाको अझैँ ? कत्ति पिल्सिनु पर्ने हो खाडीको मरुभूमिमा अझैँ पनि ? प्रश्नैप्रश्नले जेलिएर देशबाट हराइरहेका छौँ हामी चराको बच्चा हुर्किएर भूर्रर उडेपछि आफ्नै गुण बिर्सिन्छ अरे हामी देशै नभएका जस्तै देश बिर्सिनै बाध्य छौँ देश भएका हामी देशै हराएका मान्छे सरि ।

भन्नलाई त सगरमाथा हाम्रो देशमा छ, बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै विकसित देशका व्यस्त सडकहरूमा वर्षमा एकदिन अराजकता फैलाउँछौँ हामीहरूले पनि तर वास्तविक विल्कुल फरक बन्न जान्छ ।

देश विश्वमानचित्रमा मात्रै देखिएर नहुने रहेछ । नागरिक हुनलाई पहिले देश हुनैपर्ने रहेछ । देश त्यसलाई मानिने रहेछ जहाँ नागरिकको पूर्ण सुरक्षा होस् आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा सम्पूर्ण रूपले । रोजगारको पूर्ण व्यवस्था होस् । देशैभरि उद्योग धन्दा कल कारखाना चलिरहुन् । परिवारको स्वास्थ्य, शिक्षा, रोजगार, सामाजिक प्रतिष्ठाको लागि कुनै पनि नेपाली नागरिकबाध्य भएर रोजगारको लागि होस् या पारिवारिक समुन्नतिका लागि विदेश पलायन हुनै नपरोस् ।

कुनै पनि देश सिस्टममा छ, समुन्नति भएको छ भन्ने कुरा स्पष्ट थाहा पाउन त्यस देशको अदालतलाई हेरे पुग्छ भन्छन् अदालतमा मुद्दाको चाप अत्यधिक हुँदा देशको अवस्था अस्थिर छ भन्ने सहजै मूल्यांकन गर्न सकिन्छ पनि । विकसित र व्यवस्थापन सही भएको देशमा अदालत सुनसान देखिन्छ (पंतिकारको यो एक दशकको जापान बसाइले दिएको नितान्त व्यक्तिगत अनुभव हो) । आज राजनीतिक खिचातानी र अस्थिरताले गर्दा देश छोड्नेहरू लर्को थपिएको छ दिन दुगुना नागरिकहरू परदेशमा देश खोजिरहेछन् । किन किन देशप्रति गर्व गराउनै सकेन नेपाली राजनीतिले आम नागरिकहरूलाई ।

एउटा अमेरिकन नागरिक आफैमा ब्राण्ड बनिसकेको छ । एउटा जापानी नागरिक आफूलाई संसारकै अतिविकसित, सभ्य र संस्कारी ठान्दछ । नेपालीहरूले कहिलेसम्म यसरी आफ्नो देश नै ब्रान्ड देखाएर हिँड्न सक्ने अवस्था होला । भन्नलाई त सगरमाथा हाम्रो देशमा छ, बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै विकसित देशका व्यस्त सडकहरूमा वर्षमा एकदिन अराजकता फैलाउँछौँ हामीहरूले पनि तर वास्तविक विल्कुल फरक बन्न जान्छ ।

हरिहर तिमिल्सिनाको गीतले भनेझैँ :-
गोजीमा दाम छैन कान्छा गोजीमा दाम छैन,
गोजीमा सुको नहुने मान्छे केही पनि काम छैन ।

देशको सम्पन्नता नहुँदासम्म खोक्रो दर्शनले मात्र केही नहुने कुरा यही गीतको सारांशबाट पनि स्पष्टै बुझ्न सकिन्छ । देश हराउनु भनेको युवा हराउनु हो । युवा पलायन यही रूपमा बढ्दै जाने हो भने एकदिन यो देशको भूगोल मात्रै रहन्छ । नागरिक बिनाको र देश हराएका नेपालीहरू हुनेछौँ हामी । बेलैमा चेतना भया ! जय देश !!

तपाईको प्रतिक्रिया