काठमाडौँ- सुदूरपश्चिमको विशेष पर्व गौरा पवनी आज घरघरमा शिवलिङ् स्थापना गरी शिवपार्वतीको पूजा आराधना गरी मनाइँदैछ ।
माता पार्वतीले शिवलाई वर पाउन गरेको तपस्या सफल भएपछि पार्वती(गौरी)को अनुशरण गदै यो पर्व मनाउने गरिएको हो ।
सुदूरपश्चिमका महिला तथा अविवाहित थारु महिलाहरूले अनिवार्यरूपमा योग्य वर पाउन एवम् पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्न गौरा पवनी पर्व मनाउने गर्दछन् ।
तिथिको हिसाबले यो पर्व दुबै पक्षमा पर्न सक्ने र कृष्णपक्षमा परेमा अँधेरी गौरा तथा शुक्लपक्षमा परे उज्याली गौराको रूपमा पुजिने गरिएको छ ।
भदौको प्रतिपदा देखि गौरा पवनी सुरु हुने र पञ्चमीका दिन गौरालाई गौराघरमा बाजागाजासहित ‘विरुणा पञ्चमी’का रूपमा भित्र्याइन्छ ।
व्रतालुले जलाशयमा गौरा ‘फाग’ गाउने गरिन्छ भने लोली गौरी र सज्जा गौरीका नामबाट क्रमशः सप्तमी र अष्टमीमा पूजा गरिन्छ । लोली र सज्जालाई गौराको सौतेनी मान्ने प्रचलन सुदूर पश्चिमेलीहरूमाझ रहेको छ ।
अष्टमीका दिन गौरा पवनीको विशेष पूजा, आराधना र नाचगान हुन्छ । सोही दिन गौरालाई डोली वा डालामा राखी बाजागाजा, माङ्गलिक धूनसहित फूलपाती चढाउँदै जलाशय वा रुखको हाँगामा विसर्जन गरिने प्रचलन रहेको छ ।
गौरा पवनी सुदूरपश्चिम, मध्यपश्चिम, दक्षिण भारत, कुमाउँ, गढवाल लगायतका ठाँउमा आ–आफ्नै संस्कृति अनुरूप मनाइने गरिन्छ । जमरा राख्नु, पिङ खेल्नु, नारीले जनै लगाउनु, शक्तिअनुसार खानपिन गर्नु, नयाँ लुगा लगाउनु र घर लिपपोत गरी सफा गर्नु यो पर्वका विशेषता हुन् । पाँचथरि अन्न र पाँचथरि वनस्पतिले गौराको मूर्ति बनाउनु यसको अर्को विशेषता हो ।