काठमाडौं – अत्यन्तै रोमाञ्चक स्पर्धामा भारतले न्युजिल्याण्ड विरुद्धको तेस्रो टी ट्वान्टी खेल सुपर ओभरमा जितेको छ । सुपर ओभरको जितसँगै दुई म्याच खेल्न अगावै भारतले पाँच म्याचको श्रृखंला ३-० ले जितेको छ ।
भारतले प्रस्तुत गरेको १८० रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले २० ओभर खेलेपनि छ विकेटको क्षतिमा १७९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । न्युजिल्याण्डले नियमित खेलको क्रममा चार बलमा दुई रन आवश्यक रहँदा केम विलियम्सन र रोस टेलर पेभेलियन फर्किदा उसले ल्याउन सकेनन ।
विलियम्सन मोहम्मद सामीको २० औं ओभरको तेस्रो बलमा ९५ रनको व्यक्तिगत् योगफलमा पेभेलियन फर्किनुभयो । विकेटकीपर ब्याट्सम्यान टिम सेफर्टले अर्को बल बिट गर्दा पाँचौं बलमा अतिरिक्त रनको रुपमा एक रन लिएर स्ट्राइक रोस टेलरलाई दिनुभयो । ओभरको अन्तिम बलमा मोहम्मद सामीले रोस टेलरलाई बोल्ड गर्दा न्युजिल्याण्डको योगफल छ विकेटको क्षतिमा १७९ रन रहन गयो ।
अन्तिम चार बलमा न्युजिल्याण्डलाई जितका लागि मात्र दुई रन आवश्यक छँदा भारतीय बलर मोहम्मद सामीले क्रिजमा राम्ररी जमेका केन विलियम्सन र रोस टेलरको विकेट लिएर मात्र एक रन खर्चेपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा भारतका लागि जसप्रित बुमराहले बलिङ्गको जिम्मेवारी सम्हाल्नुभयो । बुमराहले बलिङ्ग गर्दा न्युजिल्याण्डका केन विलियम्सन र मार्टिन गुप्टिलले ब्याटिङ्ग गर्न रङ्गशालामा आउनुभयो । पहिलो दुई बलमा बुमराहले मात्र दुई रन खर्चेपनि विलियम्सनले तेस्रो बलमा छक्का र चौथो बलमा चौका लगाउँदै पाँचौं बलमा एक रन अतिरिक्त लिएर गुप्टिललाई स्ट्राइक दिनुभयो । गुप्टिलले अन्तिम बलमा चौका प्रहार गर्दा न्युजिल्याण्डले सुपर ओभरमा भारत समक्ष १८ रनको लक्ष्य दिएको थियो ।
भारतका लागि नियमित ओपनर रोहित शर्मा र लोकेश राहुल ब्याटिङ्ग गर्न आउँदा न्युजिल्याण्डले टिम साऊदीलाई बलिङ्गको जिम्मेवारी दियो । रोहित र राहुलले पहिलो चार बलमा मात्र आठ रन जोडन सके । अन्तिम दुई बलमा जितका लागि ९ रन आवश्यक रहँदा स्ट्राइकमा रहनुभएका रोहित शर्माले दुई बलमा दुई छक्का लगाएर टिमको योगफल २० रन पुर्याउँदै खेल भारतको पक्षमा पार्नुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको भारतले रोहित शर्माको ६५ तथा विराट कोहलीको ३८ रनको सहयोगमा २० ओभरमा पाँच विकेटको क्षतिमा १७९ रनको उच्च योगफल तयार गरेको थियो । खेलको म्यान अफ द् म्याच रोहित शर्मा घोषित हुनुभयो ।