टोकियो – विगत १० वर्ष देखि जापानमा हुँदै आएको १२ वर्ष मुनिका अन्तर्राष्ट्रिय जुनियर फुटवल प्रतियोगिता यो वर्ष मार्च २०, २१ र २२ मा हुने भएको छ । सो अन्तर्राष्ट्रिय जुनियर कोपा तोरेरोस फुटवल प्रतियोगितामा विगतका वर्षहरुमा झैं यस वर्ष पनि नेपालको सहभागिता रहने भएको छ । सो प्रतियोगितामा भाग लिनका लागि नेपालबाट एक प्रशिक्षकसहित १५ जना जुनियर खेलाडी जापान आउने भएका छन् । प्रतियोगिता शिजुओका केनको गोतेम्बास्थित तोकिनो सुमिका सेन्टरमा हुने भएको छ ।
नेपालमा हाल सातै प्रदेशको प्रतिनिधित्व हुने गरी प्रतिभावान खेलाडीहरु छनौट प्रतियोगिता भईरहेको बताईएको छ ।
खेलाडीहरुलाई उक्त अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी गराउनका लागि नेपाल युथ सकर प्रोजेक्टले आयोजक र खेलाडीबीच समन्वयकारी भूमिका निर्बाह गर्दै आईरहेको छ ।
प्रतियोगितामा नेपाल, स्पेन, जर्मन, ब्राजिल, अष्ट्रेलिया, पोर्चुगल, दक्षिण कोरिया, चीन, मलेसिया, फिलिपिन्स, भियतनाम, जापानको जे लिग लगायत ३० टिमको सहभागिता रहने नेपाल युथ सकर प्रोजेक्टका अध्यक्ष बसन्त गौचनले जानकारी दिए ।
नेपालको खेल जगतमा अत्यन्तै राम्रो भविष्य रहेको फुटवल खेल र खेलाडीहरुको बिकास एवं प्रवर्द्धन गर्न नेपाली जुनियर खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराई उनीहरुको आत्मबल बढाउने र प्रोत्साहित गर्ने उद्देश्यले हरेक वर्ष नेपालको सहभागिताका लागि आफुहरुले पहल गर्दै आईरहेको अध्यक्ष गौचनले बताए । खेलको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन र नेपाल भ्रमण वर्षको समेत प्रचारप्रसार गर्न सघाउ पुग्ने भएकोले जापानस्थित नेपाली दूतावास, नेपाली समुदाय र खेलप्रेमी संबद्ध सबैको सहयोग र सहकार्य रहनेमा आफुहरु विश्वस्त रहेको उनले बताए ।
खेलाडीहरुका लागि प्रतियोगिता हुने दिनहरुमा खान, बस्ने ब्यवस्था आयोजकबाट हुने भएता पनि हवाई टिकट, आन्तरिक यातायात लगायतका विविध खर्चका लागि ब्यवस्थापन गर्नुपर्ने भएकोले खेलाडीहरुको प्रोत्साहनस्वरुप नेपाली समुदायका सबै पक्षबाट सक्दो सहयोगको अपेक्षा गरिएको सो प्रोजेक्टका उपाध्यक्ष प्रकाश तुलाचनले बताए ।
उक्त समुहको समन्वयमा नेपाली जुनियर खेलाडीहरु सन् २०१६ देखि नियमितरुपमा हरेक वर्ष सो प्रतियोगितामा भाग लिन जापान आईरहेका छन् । नेपाली फुटवल खेलको भविष्य समृद्ध र उन्नत बनाउने उद्देश्यले सो समुहले जापानमा नेपाल युथ सकर प्रोजेक्ट नामको गैरनाफामुलक संस्था नै दर्ता गरी हरेक वर्ष नेपाली जुनियर खेलाडीहरुलाई जापानमा सहभागिता गराउनुका साथै फुटबल सम्बन्धि विभिन्न गतिविधि सञ्चालन गर्दै आईरहेको छ। ***