Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – जापानको निजी क्षेत्रको लगानी नेपालमा भित्र्याउन सहजीकरण गर्ने उद्देश्यले मेकिङ नेपाल प्रालि स्थापना भएको छ । जापानबाट नेपालमा लगानी गर्न त्यहाँका कम्पनीहरू इच्छुक देखिएकोले गैरआवासीय नेपाली तथा जापान इन्टरनेशनल कर्पाेरेशन एजेन्सी (जाइका) का एशिया संयोजक राजन पौडेल र केही युवाको सहभागितामा कम्पनी स्थापना गरिएको मेकिङ नेपालका अध्यक्ष रमेश पौडेलले बताए ।

जापानबाट लगानी भित्र्याउन १५० ओटा कम्पनीको नेतृत्व गर्दै ५ ओटा कम्पनी नेपालमा आएका छन् । जाइकामार्फत आउने लगानीका लागि सहकार्य र सहजीकरण गरिने भएको छ । उक्त कम्पनीले आइतवार आयोजना गरेको ‘नयाँ प्रविधिको साथ नेपालमा वैदेशिक लगानीको अवधारणा’ विषयक कार्यक्रममा ती कम्पनीले हाइड्रो, मेट्रो, पूर्वाधारमा लगानी गर्न इच्छुक देखिएका छन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालमा लगानीमैत्री वातावरण बनेको भन्दै विमानस्थल सञ्चालन तथा व्यवस्थापन र हवाई यातायात सञ्चालनमा जापानले लगानी गर्न सक्ने बताए । उनले भने, ‘जापानले पूर्वाधार, पुनर्निर्माण, स्वास्थ्य शिक्षामा नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । नेपालमा वार्षिक पर्यटक आगमन २५ प्रतिशतले बढेकोले पर्यटन पूर्वाधारमा जापानको लगानी हुन सक्छ ।’

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अघिकारीले रानीतिक दल तथा देशले नै वैदेशिक लगानी स्वीकार गरेको अवस्थामा जापानले लगानी बढाउनुपर्ने बताए । उनले विभिन्न ऐन तथा नियमहरू संशोधन तथा लगानीमैत्री नियमहरू बनाएको भन्दै लगानीको सुरक्षा र प्रतिफल सुनिश्चित गर्न सरकार तयार भएको बताए ।

कार्यक्रममा जापानको जी होल्डिङ कम्पनीका अध्यक्ष मासाकी हिराईले नेपालको दिगो आर्थिक विकास लक्ष्य–२०३० प्राप्त गर्नेगरी लगानी गर्ने बताए । उनले पर्यावरणलाई जोगाई प्रविधिको प्रयोगबाट पूर्वाधार, कृषि, ऊर्जा र पर्यटनमा लगानी गर्न सकिने कार्यक्रममा उल्लेख गरे ।

तपाईको प्रतिक्रिया