दाङ – अथार मगराँत क्षेत्र (मध्यपश्चिम) मा बसोबास गर्ने मगर जातिको मुख्य पर्व भूमे सम्पन्न भएको छ । यसक्षेत्रमा मगरजातिको पुख्र्यौली थलोदेखि देशका बिभिन्न स्थानमा छरिएर रहेका मगरजातिले यसवर्षको भूमे (नोकोवाङ्गे) पर्व भव्यरुपमा मनाएका छन् । बसाई सरेर काठमाडौं लगायत बिभिन्न क्षेत्रमा रहेका मगरहरुले यो पर्व उत्साहका साथ मनाएका छन् । यसैक्रममा काठमाडौंमा भूमे पर्व त्यहाँ रहेका मगरहरुले औपचारिक कार्यक्रम गरी मनाएका छन् । अथार मगराँत क्षेत्रका मगरहरुको मुख्य थाकथलो रोल्पा, रुकुम, दाङका बिभिन्न गाँउ तथा सदरमुकाममा भूमे भव्यरुपमा मनाईएको छ । असार १ गतेदेखि शुरु भएर असार ५ गतेसम्म यो पर्व भव्य रुपमा मनाउने गरिन्छ ।
अथार मगर भाषा (खाम) बोल्ने मगर समुदायले परापूर्व कालदेखि नै अति महत्वका साथ मनाउँदै आएको यो चाड यस क्षेत्रका मगरहरुले मनाउने मुख्य चाड हो । खासगरी मगरहरु कविला युग र सो समयको आसपासको समयमा जिविकाको लागि वन, जंगल, खानी आदिहरुमा प्रकृतिसंग जुध्दै जीवनयापन गर्नेक्रममा अधिकांश समय बनजंगलमै बस्ने गर्दथे । कर्मथलो प्रायः घरभन्दा बाहिर प्रकृतिसंगको सामिप्यतामा बढी हुने गर्दथ्यो । यो अवसरमा हरेक वर्षको आषाढ महिनाको एक गतेको समयलाई केन्द्र मानेर स्थानानुकुलताअनुसार बैशाख देखि भदौ महिनाको हरेक संक्रान्तिहरुमा भेला हुने र उक्त भेलालाई वाषिर्क जनगणनाको रुपमा पनि लिन थालियो । उक्त अवसरमा अनुपस्थित रहनेलाई मृत घोषणा गरी उसको किरिया काज समेत गरिदिने -कुनै स्थानमा मात्र) तथा अन्य स्थानमा घर परिवारमा नराम्रो हुन्छ, बिपत्ति आउँछ त्यसकारण यो पर्व सबैले मनाउँनुपर्छ भन्ने मान्यता रहेको थियो । यो पर्व मनाएमा प्राकृतिक बिपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गर्न थालियो । पूजा संग संगै २२ चालमा नाच समेत नाच्ने गरिन्छ । स्थानिय भाषामा यस पर्वलाई नोगोबाङ्गे पनि भन्ने गरिन्छ । यस पर्व मनाउनुको प्रमुख कारण आफू बसेको ठाउँको भूमी र भूमी देवतालाई पूजा गरेर मातृभूमिप्रति श्रद्वा र आदर प्रकट गर्नु हो । साथै यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिन गरिने कर्म र जोगाएको उपलक्ष्यमा गरिने उत्सवको रुपमा पनि लिने काम गर्दछ । भने एकातिर मगर राज्यसत्ता चलेको बेला राज्यको बिधिबिधान बनाउने एक वर्षरीका लागी नियम कानून बनाउने, सो बनाउने जनप्रतिनिधि (भद्र भलाद्मी) को चयन गर्ने, जनताको संख्याको लगत लिने आदी काम गरिने बिशेष दिनको रुपमा लिने चलन रहेको छ । त्यसैले यो पर्व मगरको ऐतिहासिक राज्यसत्ता र संस्कृतिसंग ठुलो महत्व राख्ने महत्वपूर्ण चाडको रुपमा बुझ्न सकिन्छ । भूम्या पर्व मगर जातीले सञ्चालन गरेको ऐतिहासिक अथार, बाह्र राज्यसत्ताहरु संग समेत सम्बन्ध रहेको मगर गाउँका बुढापाकाहरुको भनाई रहेको छ ।
खासगरी बिशेष गरेर उत्तरी क्षेत्रको पहाडी इलाकामा बसोबास गर्ने मगर समुदायले यो मनाउने गर्दछन् । मगर समुदायको बसोबास प्राय पहाडी क्षेत्रमा हुँने र भौगोलिक बिकटताका कारण पनि पहाडी क्षेत्रमा प्राकृतिक प्रकोप, दैबि बिपत्ति बढी हुँने हुँनाले भूमिका पुजारी मगर समुदायले त्यसको रोकथामका लागि भूम्या पर्व मनाउन सुरु गरेको यस क्षेत्रका अग्रजहरुको भनाई रहेको छ ।
भूमे पर्व भूमि देवतालाई पूजा गर्नु हो । यसको पूजा गरेपछि प्राकृतिक प्रकोप, दैबि प्रकोपबाट बच्न सकिने मान्यता रहेको छ । यस पर्व अथार मगरात क्षेत्रमा खास बोल्ने मगर समुदायले निकै लामो समयदेखी मनाउँदै आएका छन् । बिशेष गरेर राप्ती अञ्चलको रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ तथा धौलागिरी अञ्चलको बाग्लुङ, म्याग्दी लगायतका जिल्लामा यस पर्वलाई बिशेष महत्वका साथ मनाउने गरिन्छ । असार एक गते मनाईने भूम्या पर्वको तयारी एक महिना अगाडीबाट नै गर्ने चलन रहेको छ । भूमे मनाउने बिभिन्न बिधि र प्रक्रियाहरु रहेका छन् ।
असार १ गते बाट सुरु हुँन्छ भन्ने गरिए पनि यसको तयारीका लागि गाउँका सारा मानिसहरु एक महिना अगाडीबाट नै त्यसको तयारीमा जुटिसकेका हुँन्छन् । असार महिना लाग्दाको एक दुई हप्ता पहिले नै गाउँको एक खुल्ला स्थानमा भूम्या पर्वको नाचगान तथा जमघटका लागी नोगोपो (नाच्ने ठाउँ) को सरसफाई गरिन्छ । भूम्याका लागि आवश्यक पर्ने बाजागाजा बजाउनका लागि गाउँका दमाईहरु समेत तयार भएपछि नाच्ने तथा मेला लाग्ने स्थानको सरसफाई पछि गाउँका भद्र भलाद्मी, बुढापाका अग्रजहरुको उपस्थितिमा गाउँभरीका सम्पूर्ण गाउँलेहरु उपस्थित भएर जेठ मसान्तको अघिल्लो दिन बिधिवतरुपमा भूम्या पर्वको उदघाटन गर्ने चलन रहेको छ । ***