Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024
काठमाडौं- १४ वर्षदेखि सामूहिक भाइटिका लगाउँदै आएकी अञ्जली मास्के अर्थात् अञ्जली दिदीले यसपटकको भाइटीकाको निम्तो गरेकी छिन । उनकोमा दिदीबहिनी नहुने सयौं भाइहरु उपस्थित हुन्छन् ।
‘१४ वर्ष भयो काष्ठमण्डपमा भाइटीका लगाउन थालेको,’ उनले भनिन्, ‘कति दाजुभाइ भए हेक्कै छैन ।’ यसपालीको टीकाका लागि पनि उनले मेलोमेसो जुटाइसकेकी छिन ।
को हुन् अञ्जली दिदी ?
रङ्गीचङ्गी फूलको पर्व तिहारलाई मुख्यतः माइती चेलीबीच आत्मीय भावना साटासाट गर्ने चाडको रूपमा लिने गरिन्छ तर कतिपयले चेली भए पनि विभिन्न कारणले भाइटीका गर्न पाउँदैनन् । जीवन परिर्वतन गर्ने सपना बुन्दै काठमाडौँ छिरेर फेरि आफ़्नो जन्मथलो र्फकन नपाउने ‘व्यस्त युवा’ होस् या चेली नभएर तिहारको वास्तविक रौनक अनुभूत गर्न नपाउने जो कोही माइती यस्ता सयौँका लागि अञ्जलीदेवी मास्के विगत १२ वर्षदेखि एकजना ‘साझा चेली’ बन्नुभएको छ । जसलाई सबैले अञ्जली दिदी भन्ने गर्छन् ।
अञ्जली दिदीले २०५५ सालदेखि राजधानीको काष्ठमण्डपमा सामूहिक भाइटीका सुरु गर्नुभएको हो । उहाँसँग ५/६ वर्षको बच्चादेखि ९० वर्षको वृद्धाले समेत वर्षैपिछे भाइटीका लगाउँछन् । बाल्यकालदेखि नै असहायहरूको सेवामा चाख भएको दिदी भाइटीका सुरु गर्नुलाई पनि त्यसैको निरन्तरता भएको बताउनुहुन्छ । धर्म तथा भगवानको भक्तिमा निक्कै आस्था राख्ने दिदी सामूहिक भाइटीका सुरु गर्नुभन्दा अगाडिदेखि नै गोरखनाथ बाबालाई भाइटीका गर्ने गरेको बताउनुहुन्छ । गोरखनाथ बाबाको आदेश जस्तो पनि लागेकोले सार्वजानिक भाइटीका सुरु गरेको उहाँको कथन छ ।
दिदीले सार्वजानिक भाइटीका सुरु गर्दा ‘कोही आउँदैन कि’ भन्ने अलि अलि डर थियो तर १०८ जनाका लागि नेवारी संस्कार अनुसारको सगुन तयार पारेर काष्ठमण्डप आइपुग्दा भाइटीका थाप्नेको घुईचो थियो । त्यसपछि प्रत्येक वर्ष २०८ जनालाई नेवारी परम्परा अनुसार मण्डप बनाएर सगुनसहित टीका लगाइदिँदै आउनुभएको दिदीले त्योभन्दा पछि आउनेलाई भने माला वा केही सगुन दिने गर्नुभएको छ । हालसम्म उहाँको हातबाट देशका ठूला ठूला नेताहरूले पनि टीका लाउनुभएको तर प्रचार गरेर फाइदा उठाएको आरोप नलागोस् भनेर उहाँ त्यो नाम उल्लेख गर्न चाहनुहुन्न । टीका लगाइदिएवापत कसैबाट केही नलिने दिदी भन्नुहुन्छ ”मानिसलाई चाहिने नै स्नेह र माया हो । मैले त्यो पाएकोछु । अरु लिन्न ।”
सार्वजानिकरूपमा भाइटीका गर्न थालेपछि ‘सबैकी दिदी’, ‘नेपालकी दिदी’ आदि उपमा पाए पनि उहाँको परिचय त्यतिमा मात्र सीमित छैन । कसैले पनि पढ्न नपाउने अन्धारयुक्त राणाकाल (२००१) मा जन्मिनुभएका दिदी काठमाडौंको बाल्यकाल निक्कै सुखमय थियो । शारीरिक श्रम त्यति धेरै गर्न नपर्ने परिवारका दिदीलाई भगवानका लागि आमखोरामा पानी लिन खाली खुट्टा घरको लल्लो तला झर्दा पनि बुबाले हकार्नु हुन्थ्यो । गोरखनाथ बाबाको भक्त भएपछि भने दर्शन गर्न गोरखा जाँदासमेत खाली खुट्टै जानुहुन्छ । बाबाप्रति उहाँको यतिधेरै श्रद्धा छ कि उमेर ढल्किन लागेकोले सहयात्री साथीहरू अब त जुत्ता लगाएर जाने गर्नुस् भन्दा पनि उहाँको मनले मान्दैन ।
उहाँले आधुनिक शिक्षा पढ्ने अवसर पनि पाउनुभएको थियो । भर्खर भर्खर स्कुलको प्रचलन सुरु भएको त्यो बेला स्कुल पढ्न पाउने थोरै नेपालीहरू मध्ये पर्नुभएको दिदी स्कुल पढ्दा पनि रेडक्रसमा संलग्न भएर असहायहरूको सेवा गर्नुहुन्थ्यो । अहिले पनि उहाँले वीर अस्पतालमा भेटिने वेवारिसे बिरामीहरूलाई खाना खुवाउनेदेखि लत्ताकपडा वितरण गर्नेसम्मको काम गर्दै आउनुभएको छ । अञ्जलीको प्रयास देखेर हो यो अस्पतालको आफ़्नै योजना अहिले वीर अस्पतालमा बेवारिसे बिरामीहरूलाई हेरचाह गर्नका लागि एउटा छुट्टै कर्मचारी खटाउने गरिएको छ ।
वीर अस्पतालका बेवारिसे बिरामीहरूलाई सेवा गर्दा सुरु सुरुमा कसैले चिन्दैन थियो तर पढाइमा निक्कै तेजिलो उहाँको छोरा विजेन्द्रमान वीर अस्पतालको चिकित्सक भएर आएपछि भने त्यहाँ खटिएका प्रहरीहरूले डक्टरसा’पको आमा भनेर चिन्न थाले । निक्कै समय बेवारिसेहरूको हेरचाह गरेपछि अस्पतालले एउटा बोर्ड नै राखेर उहाँलाई सेवा दिन आग्रह गर्‍यो । अचेल त कुनै त्यस्ता बेवारिसे बिरामीहरू आए तुरुन्तै उहाँको घरको फोनको घण्टी बज्छ । अनि खाना र लत्ताकपडा लिएर उहाँ अस्पताल पुग्नुहुन्छ । उहाँले घरको एउटा कोठामा त्यस्ता बिरामीहरूका लागि वितरण गर्ने कपडाको चाङ नै राख्नुभएको छ ।
प्रत्येक दिन बिहान ४ बजे उठेर ध्यान गर्नु, त्यसपछि काष्ठमण्डपमा गएर गोरखनाथको पूजा गर्नु, त्यसपछि वीर अस्पतालमा रहेका बेवारिसे बिरामीहरूको हालचाल बुझ्नु उहाँको दैनिकी हो । सँधै असहायहरूको सेवामै समय बिताउन चाहने हुनाले त्यति धेरै फुर्सदको समय ननिस्कने बताउनुहुने अञ्जली दिदी कहिले काँही टेलिभिजन कार्यक्रम हेर्नुहुन्छ भने पत्रपत्रिका पढ्नमा पनि उहाँको रुचि छ ।
अठार वर्षको हुँदा प्रेम विवाह गर्नुभएको अञ्जली दिदी छोरो जन्मिएपछि भने आफ्नै घरमा बस्दै आउनुभएको छ । महिलाहरूको लागि निक्कै साँगुरो सामाजिक संरचना भएको तत्कालीन समयमा प्रेम विवाह गर्नु आफैँमा चुनौतीपूर्ण थियो तर स्कुलमा पढ्दा पढ्दै एकतर्फी प्रेममा फसेको नारायणसँगको उहाँको प्रेम अन्ततः विवाहमा परिणत भयो । काठमाडौँको बाङ्गेमुढाका कृष्णराज र मोहनदेवीको तीन मध्ये दोस्रो सन्तान दिदीको घरसँगै दाइ तथा आफन्तहरूको घर रहेको छ । यसैले श्रीमान् र छोरा साथमा नहुँदा र उमेरले साढे छ दशकको नेटो काटिसक्दा पनि उहाँलाई एक्लो अनुभव हुँदैन ।
आफ्नो सेवामुखी भावनालाई पूर्णता दिन एउटा वृद्धाश्रम बनाउने उहाँको इच्छा छ । आफ्नै परिवारभित्रका चेली माइती पनि अनेकौँ कारण बोलचालसमेत नहुने सामाजिक परिस्थिति रहेको नेपाली समाजमा सयौँको सम्मानित ‘साझा चेली’ बन्नुभएको अञ्जली दिदी आफ्नो  जीवन र आफ़्नो कामप्रति ज्यादै खुसी हुनुहुन्छ । ”संसारको सबभन्दा ठूलो धर्म भनेको नै मानव सेवा हो । ” पद, प्रतिष्ठा र पैसाका लागि ज्यान बाजीमा राख्ने मानिसहरूको भावनामा परिवर्तन आउनुपर्ने बताउँदै दिदी भन्नुहुन्छ ”कसैको सेवा गर्नु मानिसको आत्मैदेखि आउनु पर्छ । मानव सेवा र धर्म भनेको परमात्माको सेवा हो । जोसँग हाम्रो अन्तिम मिलन हुन्छ ।”
तपाईको प्रतिक्रिया