Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण स्वदेशी र विदेशी कामदारहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । उसले कामदारहरूको पारिश्रमिक वृद्धिसम्बन्धी ‘नीतिगत प्रस्ताव’ छिट्टै नै छलफलका लागि संसदमा लग्ने भएको छ ।

मानव संशाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पूर्ण कामदारको मासिक न्यूनतम पारिश्रमिक १५ सय रिंगिट पुर्‍याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएका छन् । गत मे ९ को आमनिर्वाचन हुनु अगावै ‘पकातान हारापन’ गठबन्धनले नयाँ सरकार गठन भएपछि साबिकको पारिश्रमिकमा वृद्धि गरी मासिक पारिश्रमिक १५ सय रिंगिट पुर्‍याइने चुनावी प्रतिबद्धतापत्रमा उल्लेख गरेको थियो । हाल कामदारको न्यूनतम पारिश्रमिक प्रायद्वीप क्षेत्रमा (पेनिन्सुलार मलेसिया) मा मासिक १ हजार र पूर्वी मलेसियामा ९ सय रिंगिट छ ।

‘पारिश्रमिक वृद्धिसम्बन्धी उक्त प्रस्ताव निकट भविष्यमै संसदमा पेस गरिनेछ । कुनै बाधा अडचन आएन भने आगामी एक/दुई महिनामै कार्यान्वयन हुनेछ,’ मन्त्री कुलासेगरनले संसदको तल्लो सदनमा भने । पारिश्रमिक वृद्धि गरेमा स्थानीय कामदार र विदेशी कामदार कसैमाथि पनि मानव अधिकारको भावनाका सन्दर्भमा पनि भेदभाव नहुने विश्वास उनले व्यक्त गरे । मलेसियाली सरकारले राष्ट्रिय पारिश्रमिक परामर्श परिषद्ले यसअघि तय गरेको न्यूनतम पारिश्रमिकबारे यसबारे अध्ययन भइरहेको जनाइएको छ ।

मलेसियाले सन् २०१२ मे दिवसको अवसर पारेर पहिलोपटक न्यूनतम पारिश्रमिकसम्बन्धी नीति घोषणा गरेको थियो । उक्त निर्णयलाई तत्कालीन प्रधानमन्त्री नाजिव रजाकले ‘एतिहासिक’ भनेका थिए । मलेसियाले गत २०१२ सेप्टेम्बर ६ मा उक्त नीति कार्यान्वयनमा ल्याउन यससम्बन्धी निर्देशिकासमेत जारी गरेको थियो । तत्कालीन निर्णयअनुसार प्रायद्वीप क्षेत्रमा मासिक ९ सय रिंगिट र पूर्वी मलेसियामा रहेकाहरूका लागि मासिक ८ सय रिंगिट तोकिएको थियो ।

पहिलोपटक पारिश्रमिक नीति घोषणा गरिएको झन्डै चार वर्षपछि त्यसमा थप परिमार्जन गरी मासिक १ सय रिंगिट पारिश्रमिक वृद्धि गरिएको थियो । यहाँ बहुसंख्यक नेपाली पश्चिमी मलेसियामा कार्यरत छन् भने पूर्वी मलेसियामा काम गर्ने नेपालीको संख्या निकै कम छ । कतिपय रोजगारदाता भने सरकारले ल्याउन लागेको नयाँ नीतिप्रति सन्तुष्ट छैनन् । उनीहरूले नयाँ नीति तत्काल लागू नगर्न सरकारलाई आग्रह गर्दै आएका छन् ।

मलेसियाले हाल वृद्धि गर्न लागेको निर्णय पारित भई पूर्ण रूपमा लागू भएमा मलेसियामा निजी क्षेत्रमा कार्यरत चार लाखभन्दा बढी नेपाली कामदारसहित लाखौं विदेशी कामदारहरू र अन्य लाखौं स्थानीय कामदारहरू लाभान्वित हुनेछन् । सरोकारवालाहरूले मलेसिया सरकारले कामदारको पारिश्रमिक बढाउन गरिरहेको तयारीबारे सकारात्मक भएको टिप्पणी गरेका छन् । -एजेन्सी

तपाईको प्रतिक्रिया