Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

बागलुङ – पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि ६० लाख आर्थिक सहयोग जुटेको छ । सरकारी र गैरसरकारी क्षेत्रबाट सो रकम जुटेको शाखाले जनाएको छ ।

सबैभन्दा बढी जिल्लाका स्थानीय तहबाट २७ लाख ५० हजार बजेट उपलब्ध भएको शाखाका कोषाध्यक्ष विजय रानाले बताउनुभयो । शाखाले गत वर्षदेखि ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ नारासहित अर्थ संकलनको अभियान थालेको थियो । अभियानमा सर्वसाधारण, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, विद्यालय, सहकारीलगायत जोडिएका छन् । चार लाख ८० हजार पत्रकार स्वयंले भवन निर्माणमा योगदान गरेका छन् । जिल्लाको ढोरपाटन नगरपालिकाबाहेक नौ वटै स्थानीय तहले महासंघको भवन निर्माणमा सहयोग उपलब्ध गराएका छन् । सबैभन्दा बढी बागलुङ नगरपालिकाले रु १० लाख उपलब्ध गराएको बताइएको छ ।

‘स्थानीय तहलगायत सबैतिरबाट उत्साहजनक सहयोग आएको छ,’ कोषाध्यक्ष रानाले भन्नुभयो, ‘वर्षौंदेखिको भवन बनाउने योजना साकार बनेको छ ।’ आर्थिक सहयोग गर्नेमा २५ भन्दा बढी सहकारी छन् भने उत्तिकै संख्यामा शैक्षिक र सामाजिक संस्था छन् । स्वतःस्र्फूत रुपमा जुटेको आर्थिक सहयोगबाट भवन निर्माणले पूर्णता पाउन लागेको शाखा अध्यक्ष दिल शिरीषले बताउनुभयो । उहाँका अनुसार रु एक करोडको लागतमा बन्न लागेको तीन तले भवनको दुई तला पूरा हुने चरणमा छ ।

बाँकी एक तला आउँदो आर्थिक वर्षमा सक्ने योजना रहेको अध्यक्ष शिरीषको भनाइ छ । ‘शाखा स्थापना भएको १९ वर्षपछि आफ्नै भवन बनाउन सफल हुँदैछौँ,’ उहाँले भन्नुभयो, ‘आउँदो वैशाखसम्म नयाँ भवनबाटै कार्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । बागलुङ नगरपालिका–२ मा निर्माणाधीन भवनमा आधुनिक सूचना केन्द्र, सभाहललगायतका संरचना बन्नेछन् । गत वर्ष जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकाको विशेष पहलमा जग्गा व्यवस्थापन भएपछि भवन निर्माणले सार्थकता पाएको हो ।

तपाईको प्रतिक्रिया