काठमाडौं – टाइफाइड एक प्रकारको ज्वरो हो । सरुवा रोगमध्येको एक हो, टाइफाइड । यसलाई नेपालीमा ‘म्यादे ज्वरो’ पनि भनिन्छ । नेपालका अधिकांश मानिस यस्तो रोगबाट ग्रसित हुने गर्छन् । यसलाई एक गम्भीर रोगका रूपमा पनि लिइन्छ । यो यस्तो रोग हो कि जसले छोटो समयमै मानिसको ज्यान लिन सक्छ । त्यसैले टाइफाइडबारे सचेत हुन अवश्यक छ । यसै रोगबारे एक सामग्री :
रोगका चरण
पहिलो अवस्था : शरीरमा तापक्रम बिस्तारै बढ्दै जान्छ र ज्वरो आउने, टाउको दुख्ने, खानामा अरुचि, वाकवाक, बान्ता, थकाइ लाग्ने, पेटमा असजिलो हुन्छ । यो चरणको टाइफाइड फिबरलाई स्टेप लिडर फिबर भनिन्छ । यस्तो अवस्थामा जिउ दुख्ने, नाकबाट रगत बग्ने, ज्वरोको अनुपातमा पल्स रेट कम हुने र हरियो रङको पातलो दिसा आउने हुन्छ ।
दोस्रो अवस्था : यो चरणमा लगातार ज्वरो आउने, टाउको दुख्ने, कब्जियत हुने, जिब्रोमा लेउ लाग्ने र बाक्लो हुने, शरीरमा राता दाग देखिने समस्या हुन्छ ।
तेस्रो अवस्था : शरीरको तापक्रम बिस्तारै घट्न थाल्छ र रोगीको अवस्था कमजोर बन्दै जान्छ । यस्तो अवस्थामा टोक्जामियाका लक्षण देखा पर्छन् र शरीरमा ज्वरोको अनुपात १०६ डिग्री फरेनटहाइटसम्म पुग्छ । शरीरमा राता छिद्राहरू देखा पर्छन् । यस्तो अवस्थामा तल्लो पेट फुल्ने र आन्द्रामा प्वाल परी आन्तरिक रक्तश्रावसमेत हुन सक्छ । दुई हप्तासम्म औषधि सेवन गरी बन्द गरेमा पनि कीटाणु नमर्न सक्छ र रोग तेस्रो चरणमा पुग्न सक्छ । यो चरणमा उपयुक्त उपचार नपाए मुटुको समस्या निम्तिएर रोगीको मृत्युसमेत हुन सक्छ ।
रोग पाक्ने अवधि
प्रायः १० देखि १४ दिनसम्ममा यो रोगले गम्भीर रूप धारण गर्छ । कतिपयलाई तीन दिन र बढीमा तीन हप्तासम्म पनि यसले दुःख दिन सक्छ । व्यक्तिमा हुने रोगप्रतिरोधी क्षमताका आधारमा यसको प्रभाव निर्धारण हुन्छ ।
उमेर समूह
विशेषगरी पाँचदेखि १९ वर्षसम्मका मानिसमा यो रोग देखिन्छ । यद्यपि, सबै उमेर समूहका मानिसलाई यो रोग लाग्न सक्छ । २० वर्षभन्दा माथिका मानिसमा रोगप्रतिरोधी क्षमता बढी हुने भएकाले यो रोगको असर तुलनात्मक रूपमा कम देखिन्छ । यो रोगले महिलाभन्दा पुरुषलाई बढी आक्रमण गर्छ ।
कारण
टाइफाइडले विशेषगरी असारदेखि असोजसम्मको अवधिमा बढी आक्रमण गर्छ । वर्षात्मा यो रोग बढी लाग्ने कारण भनेको प्रदूषित पानी, खानेकुरा आदि हुन् । वर्षात्को समयमा झिँगा भन्केर खानालाई दूषित बनाउने भएकाले यस्तो रोगको सम्भावना हुन्छ ।
कमजोर वातावरणीय सरसफाइ, उचित रूपमा चर्पी र खानेपानीको व्यवस्था नहुँदा पानी तथा खाना दूषित हुन गई यो रोग महामारीको रूपमा फैलिने सम्भावना हुन्छ । अप्रत्यक्ष रूपमा कुनै खाद्यान्नका माध्यमबाट दिसा–पिसाब खाएमा यस्तो रोग लाग्ने गर्छ ।
रोग लाग्न नदिन
० बिरामीको दिसा, बान्ता र पिसाबबारे सचेत हुनुपर्छ ।
० बिरामीले औषधि खाए÷नखाएको वा बिरामीको सुधारबारे नियमित अनुगमन गर्नुपर्छ ।
० व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
० यो रोग सामान्यबाट जटिल बन्दै गएमा छोटो समयमा ज्यान लिने भएकाले यसबारे सचेत हुनुपर्छ । आफैँले रोगबारे आकलन गरी औषधि सेवन गर्ने बानीलाई हटाउनुपर्छ ।
० स्वास्थ्यकर्मीलगायत चिकित्सकले तोकेअनुसारको औषधिको मात्रा र स्वास्थ्य शिक्षालाई अनुशरण गर्नुपर्छ ।
० विशेषगरी जेठदेखि असोजसम्म उमालेको पानी खाने बानीको विकास गर्नुपर्छ ।
० नियमित रूपमा एन्टिटाइफाइड भ्याक्सिन लगाउँदा अझ राम्रो हुन्छ ।
जटिल रूप
यो ज्वरो सालमोनेला टाइफाई नामक ग्राम नेगेटिभ ब्याक्टेरियाबाट मानिसमा संक्रमण हुन्छ । ३–४ हप्ता लगातार ज्वारो आएमा बुझ्नुपर्छ कि टाइफाइड भएको छ । सालमोनेला टाइफाईले आन्द्रामा प्रत्यक्ष असर पार्छ र जटिल परिणाम पनि ल्याउन सक्छ । यतिसम्म कि आन्द्रा नै प्वाल पर्न सक्छ । रोगले गम्भीर रूप लिन थालेमा छोटो समयमा ज्यानसमेत जाने खतरा हुन्छ ।
उपचार विधि
० टाइफाइडलाई सामान्य उपचारबाट पनि निको पार्न सकिन्छ । त्यसका लागि नरम जाउलो, झोल खानेकुराको प्रयोग गर्नुपर्छ । त्यस्तै, शरीरमा जलवियोजन भएमा जीवनजल, सलाइनपानी, पानीको मात्रा बढाउनुपर्छ । शान्त वातावरणमा इसोलेसन गरे पनि यसको उपचार गर्न सकिन्छ । ज्वरो कम गर्न पानीपट्टी लगाउन सकिन्छ ।
० त्यस्तै, १० देखि १४ दिनसम्म अनिवार्य र नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ ।
० यसको साइड इफेक्ट बढी हुने भएकाले उपचारमा विशेष सजगता अपनाउन भने आवश्यक छ ।
० त्यस्तै, रोगको गम्भीरतालाई ध्यानमा राखी ड्रग सेन्सिटिभ टेस्ट गरेर नसाका माध्यमबाट पनि यसको उपचार गरिन्छ । पछिल्लो समय यो उपचार विधि लोकप्रिय छ ।