काठमाडौं – सबै मानिसले चाहेअनुसारको काम पाउन गाह्रो छ । उसो त आफ्नै रुचिको काममा पनि विभिन्न अप्ठ्यारा सिर्जना हुन्छन् । धेरै मानिस अफिस अर्थात् कार्यालयकै कारण विभिन्न बोझ तथा तनाव लिएर बसेका हुन सक्छन्, चाहे त्यो सरकारी ओहोदामा काम गर्ने कर्मचारी होस् वा बैंक, इन्स्योरेन्स, प्राइभेट कम्पनीमा काम गर्ने कर्मचारी नै किन नहोस् । तर, कार्यालयमा लिने तनावले काममा हानि पुर्याउँछ । त्यसैले यस्तो तनावको व्यवस्थापन गर्न जरुरी हुन्छ ।
विपुला श्रेष्ठ, मनोविज्ञ
तनावका कारण
तनावलाई सधैँ नकारात्मक रूपमा मात्र लिनु हुँदैन । कतिपय अवस्थामा सामान्य तनावलाई उपयोग गरेर सकारात्मक परिणाम ल्याउन पनि सम्भव छ । तर, तनावलाई आदत बनाउन थाल्यौँ भने यसले हाम्रो दैनिक जीवनलाई नै समस्याको भासमा पु¥याउँछ । तर, प्रायः कर्मचारीले आफ्नो तनावको कारण कार्यालयको व्यवस्थापनसँग भन्न सक्दैनन् । सत्य कुरा गरेमा कामबाटै निकाल्न सक्छ भन्ने पनि धेरैलाई लाग्छ । जसको कारण झन् तनाव उत्पन्न हुन सक्छ । कार्यालयमा तनाव उत्पन्न हुन सक्ने केही कारण यस्ता छन् :
कम पारिश्रमिक ।
कामको अत्यधिक दबाब ।
समयमै बढुवा नहुनु ।
आफूले चाहेभन्दा फरक काम ।
कामको दीर्घकालीन असुरक्षा आदि ।
तनावले पार्ने असर
भनाइ नै छ– चिन्ताले चितामा पुर्याउँछ । तनाव मानिसलाई सामान्यजस्तो लागे पनि यसले दीर्घकालीन रूपमा निम्त्याउने परिणाम भने जटिल हुने गर्छ । तवानले दैनिकीलाई अव्यवस्थित त बनाउँछ नै, यसले शारीरिक, मानसिक र भावनात्मक रूपमा पनि असर पार्छ ।
जब कुनै कुराले हामीमा तनाव उत्पन्न गर्छ, यसले सुरुको चरणमा शरीरका मसल्समा तनाव सिर्जना गर्छ । त्यसपछि उक्त तनाव शरीरका अन्य अंगमा फैलिन थाल्छ । यदि तनावको वेला टाउको, घाँटीलगायतका भाग दुख्ने भएमा उक्त क्षेत्रसम्म तनाव फैलिएको बुझ्नुपर्ने हुन्छ ।
तनावले श्वासप्रश्वास प्रणालीलाई पनि असन्तुलित बनाउने काम गर्छ । यसले हाम्रो श्वासको लयलाई नै परिवर्तन गरिदिन्छ । कसैकसैलाई त तनावकै कारण फोक्सोसम्बन्धी रोगसमेत लाग्ने गरेको पाइएको छ ।
धेरै तनाव लिने बानी भएमा मुटुको रोग लाग्ने सम्भावना अधिक हुन्छ । तनावले मुटुमा हुने रक्तचापलाई असन्तुलन गराउने काम गर्छ । यसकै कारण प्रायजसोलाई उच्च रक्तचापको सम्भावना हुन्छ । तनावले मुटुको चाललाई समेत असन्तुलन गराउने काम गर्छ ।
त्यस्तै, तनावले शरीरका हर्र्मोनलाई प्रभावित पार्छ । तनावले स्नायु प्रणाली, कलेजो, पेटजस्ता अत्यन्त संवेदनशील अंगहरूमा समेत असर पुर्याउने गर्छ ।
दिनभर एउटै पोेजिसनमा बसेर काम गर्दा कम्मर दुख्ने, ढाड दुख्नेजस्ता शारीरिक समस्याहरू निम्तिन सक्छ । त्यस्तै, लामो समय कम्प्युटरमा काम गर्नेको आँखासम्बन्धी विभिन्न समस्या पनि देखिन सक्छ । यसले पनि तनावको वातावरण सिर्जना गर्छ । त्यसैले यसरी लामो समय एउटै प्रकृतिको काम गर्नुपरेमा समय–समयमा विश्राम लिने गर्न आवश्यक हुन्छ ।
तनाव व्यवस्थापनका उपाय
सबै कार्यालयमा आफूअनुकूलको वातावरण नहुन सक्छ । कहिलेकाहीँ जीवनमै नसोचेका घटना वा वातावरण पनि सिर्जना हुन्छ । यस्तो परिस्थितिलाई सहज रूपमा स्वीकार गरी सामना गर्न सक्ने धैर्यको खाँचो हुन्छ । यदि त्यस्ता घटना सामना गर्ने धैर्यको अभाव भएमा तनावबाहेक अरू केही पनि हात लाग्दैन । यस्तो बानीले व्यक्तित्वमा समेत असर पुर्याउने गर्छ । त्यसैले कार्यालय समयमा तनाव कम गर्नका लागि निम्न विधि अवलम्बन गर्न सकिन्छ :
कार्यालयले नै कर्मचारीका लागि तनाव व्यवस्थापनका सेमिनार तथा वर्कसप आयोजना गर्ने ।
मानिसलाई दिनभरि काम गर्दा बोझ बन्न सक्छ र प्रभावकारी परिणाम पनि ननिस्कने सम्भावना हुन्छ । त्यसका लागि कर्मचारीका लागि ‘रिफ्रेसमेन्ट बे्रक’को समय निकाल्ने । यस्तो काम कर्मचारी स्वयंले पनि गर्ने ।
केही तनाव हुन थाल्यो भने यसबाट मुक्त हुन केहीछिन गहिरो श्वास लिने र छोड्ने गर्नुपर्छ ।
मनमा तनाव गराउने कुरा आइहालेमा अन्ततिर ध्यान मोड्ने ।
समूहमा कार्य गर्ने र एक–अर्कालाई सहयोग गर्ने बानीको विकास गर्ने ।
कार्यालयको वातावरणलाई शान्तिमैत्री बनाउने ।
योग, ध्यान, प्राणायामलाई आफ्नो दैनिकीको सेड्युलमा राख्ने ।
कतिपय मानिसमा अर्कालाई स्वीकार गर्ने बानी हुँदैन । यसले तनाव निम्त्याउँछ । त्यसैले अरूलाई स्वीकार गर्ने कलाको विकास गर्ने ।
विश्रामको अभ्यास गर्ने ।