Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौ- पूर्वप्रधानमन्त्रीहरू पुनः सरकारी सुविधाको विलासी गाडीमा कुद्न थालेका छन् । सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजिवन गाडी सुविधा दिन थालेपछि उनीहरू पुनः चिल्ला सवारी साधनमा सवार हुन थालेका हुन् । अध्यादेश जारी गरी पूर्वराष्ट्रपतिदेखि पूर्वगृहमन्त्रीसम्मका विशिष्ट पदाधिकारीहरूले सरकारबाट चालक, इन्धन र मर्मत खर्चसहित आजीवन गाडी सुविधा दिने व्यवस्था गरिएको हो ।
पूर्वप्रधानमन्त्रीहरूले सुविधाको गाडी दिन तीव्र दबाब दिएपछि सरकारले कानुन मिचेर सवारी साधन उपलब्ध गराएको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामवरण यादवद्वारा जारी पूर्वविशिष्ट पदाधिकारीलाई सुविधासम्बन्धी अध्यादेशमा मापदण्ड बनाएरमात्र गाडिलगायतका सुविधा उपलब्ध गराउने व्यवस्था छ । तर सरकारले अध्यादेशविपरित गएर मापदण्ड नबनाई गाडी सुविधा दिन थालेको हो ।
गृह मन्त्रालयले प्रस्ताव गरेको पूर्वराष्ट्रपतिदेखि पूर्वगृहमन्त्रीसम्मका पूर्वविशिष्ट पदाधिकारीलाई गाडी सुविधासम्बन्धी मापदण्ड पारित नगर्दै पछिल्लो मन्त्रिपरिषद् बैठकले सबै पूर्वविशिष्ट पदाधिकारीले गाडी सुविधा उपलब्ध गराउने निर्णय गरेको स्रोतले जनायो ।
माओवादी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारले पहिलो चरणमा मापदण्डविपरित तीन कम्युनिस्ट पूर्वप्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाललाई सुविधासम्पन्न विलासी गाडी दिइएको छ । उनीहरू तीनै जना सुविधाको गाडीमा सवार हुन थालिसकेको तीन दिन भइसकेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले अब क्रमशः बाँकी पूर्वप्रधानमन्त्री, सबै पूर्वप्रधानन्यायाधीशहरू, पूर्वसभामुखहरू र पूर्वगृहमन्त्रीहरूलाई समेत सरकारी सुविधाको गाडी उपलब्ध गराउँदै जानेछ ।
मापदण्डमा पूर्वराष्ट्रपतिलाई ५०, पूर्वउपराष्ट्रपतिलाई ४५, पूर्वप्रधानमन्त्रीहरूलाई ४०, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुखलाई ३५, पूर्वगृहमन्त्रीलाई ३० लाख रुपैयाँसम्मका मध्यमस्तरका जिप या कार उपलब्ध गराउने प्रस्ताव गरिए पनि तीन पूर्वप्रधानमन्त्रीलाई डेढ करोड रुपैयाँभन्दा बढी मूल्यका विलासी ल्यान्डक्रुजर प्राडो गाडी सुविधा दिइएको छ । दाहाल, खनाल र नेपाललाई दिइएका तीनवटै गाडी चमेलिया जलविद्युत् आयोजनाका हुन् । प्रधानमन्त्री कार्यालयले केही समय अगाडिमात्र आयोजनासित किनेको हो । ती गाडी आयोजनाबाट सरकारको नाममा नामसारीसमेत भइसकेका छैनन् ।
दाहाल, खनाल र नेपालले आफू प्रधानमन्त्री हुँदा चमेलिया आयोजनाबाट ती गाडी जबर्जस्ती झिकाएर चढेका थिए । पदबाट हटेपछि तीनै जनाले भावी प्रधानमन्त्रीलाई चढ्ने गाडीसमेत नराखी आफैंले जबर्जस्ती लगेर चढेका थिए । सर्वोच्च अदालतले सरकारको तजबिजी निर्णयबाट दिइएको गाडीलगायतको सुविधा खारेज गरेपछि उनीहरूले गाडी फिर्ता गरेका थिए । पूर्वविशिष्ट पदाधिकारीलाई सुविधासम्बन्धी अध्यादेश जारी भएपछि सरकारले तिनै गाडी दाहाल, खनाल, नेपाललाई उपलब्ध गराएको हो । पूर्वप्रधानमन्त्रीहरू खनाललाई बा६च १०२६, दाहाललाई बा६च १०२९ र नेपाललाई बा६च १०३० नं. को गाडी दिइएको छ ।
अध्यादेशमा २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछिका सबै प्रधानमन्त्रीहरूलाई आजीवन गाडी सुविधा दिने व्यवस्था गरिएको छ । तर बहुदल पुनर्बहालीपछिका तीन पूर्वप्रधानमन्त्रीहरू कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द र राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापालाई भने सरकारले गाडी सुविधा उपलब्ध गराइसकेको छैन । उनीहरूलाई केही दिनमै गाडी सुविधा दिइने जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले दिए । पूर्वप्रधानमन्त्रीहरू देउवाले र चन्दले फर्काएका दुइटा प्राडो गृहमा र थापाले फर्काएको प्राडो भौतिक योजना तथा निर्माण मन्त्रालयमा छन् । स्रोतका अनुसार उनीहरूले पनि आफूहरूलाई गाडी सुविधा तत्काल उपलब्ध गराउन दबाब दिन थालिसकेका छन् ।
अध्यादेशअनुसार सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीशहरूलाई, संसद् सचिवालयले पूर्वसभामुख र गृह मन्त्रालयले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीहरूलाई गाडी सुविधा दिने गृहकार्य सुरु गरिसकेको जानकारी स्रोतले दिए । मन्त्रिपरिषद्बाट मापदण्ड पारित हुनासाथ ती निकायले उनीहरू सबैलाई गाडी उपलब्ध गराउने छन् ।
अब बहुदलपछिका पूर्वप्रधानन्यायाधीशहरू विश्वनाथ उपाध्याय, केशवप्रसाद उपाध्याय, केदारनाथ उपाध्याय, हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, गोविन्दबहादुर श्रेष्ठ, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, अनुप शर्मा, रामप्रसाद श्रेष्ठलगायतले आजीवन गाडी सुविधा पाउनेछन् ।
त्यसैगरी पूर्वसभामुखहरू दमननाथ ढुंगाना, रामचन्द्र पौडेल र तारानाथ रानाभाट, पूर्वगृहमन्त्रीहरूमा खुमबहादुर खड्का, गोविन्दराज जोशी, पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, बामदेव गौतम, केपी ओली, कृष्ण सिटौला, नारायणकाजी श्रेष्ठ, भीम रावल र कृष्णबहादुर महराले आजीवन गाडी सुविधा पाउनेछन् । ***
तपाईको प्रतिक्रिया