काठमाडौं- पूर्वमन्त्रीसमेत रहेका सत्तारूढ मधेसी जनअधिकार फोरम गणतान्त्रिककी महिला सभासद्ले सोही पार्टीका पुरुष सभासद्लाई नयाँ बानेश्वरस्थित संविधानसभा परिसरभित्रै कुटेकी छन् । अश्लील गाली गरेको भन्दै पूर्वसञ्चार राज्यमन्त्री सुरिताकुमारी साहले पूर्वकृषिमन्त्री अकवाल अहमद साहलाई बाटो ढुकेर कुटेकी हुन् ।
राज्य पुन:संरचनाबारे मधेसी मोर्चासहित प्रमुख तीन दलबीच भएको सहमतिविरुद्ध पार्टीका सबै सभासद्को हस्ताक्षर संकलन गर्ने क्रममा सुरिताले विरोध जनाएपछि अकवालसित उनको दिउँसै विवाद भएको थियो । स्रोतका अनुसार संविधानसभा भवनभित्रै भएको विवादमा अकवालले सुरितालाई अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए । पार्टीका अन्य सभासद्लाई पनि भड्काएको आरोप उनले सुरितालाई लगाएका थिए ।
आफूलाई गाली गलौज गरेको बदला लिन सुरिता संसद् बैठक सकिनेबित्तिकै संविधानसभा भवनको पश्चिमी ढोका(चमेना गृहतिरको)मा अकवाललाई गेटमा ढुकेर बसेकी थिइन् । ढोकाबाहिर पाइला राख्नेबित्तिकै सुरिताले अकवाललाई पिट्न सुरु गरिन् । अकवालले पनि प्रतिकार गर्नुका साथै फेरि अश्लील गाली सुरु गरे । दुईजनाबीच कुटाकुट हुन थालेपछि सँगै रहेका सभासद्हरू निलम बर्मा, सलमा खातुनलगायतले छुट्याएका थिए ।
कार्यवाहक अध्यक्ष तथा सञ्चारमन्त्री राजकिशोर यादवको निर्देशनअनुसार प्रमुख दलहरूबीच भएको ११ प्रदेश बनाउने सहमतिविरुद्ध अकवालले पार्टीका सभासद्हरूको हस्ताक्षर संकलन गर्न थालेका थिए । स्रोतका अनुसार सुरिताले ‘कसैले हस्ताक्षर गर्दैनन्, किन ल्याइरहेको’ भन्दै प्रश्न गरेपछि विवाद सुरु भएको थियो । सलमा खातुनलगायत केही महिला सभासद्लाई भड्काएको आरोप लगाउँदै अकवालले सुरितालाई हप्काए । दुईजनाबीच संविधानसभा भवनभित्र हात हालाहाल नभए पनि निकै चर्काचर्की भएको थियो । स्रोतका अनुसार त्यस क्रममा अकवालले सुरितालाई ‘रण्डी’ समेत भनेका थिए ।
त्यसबीच संसद् बैठक सुरु भयो, प्रधानमन्त्री भट्टराईले सदनलाई सम्बोधन गरे, बैठकमा सरकारका तर्फबाट अन्तरिम संविधानको संशोधन विधेयक पेस गरियो । संसद् बैठक सकिएपछि दिउँसो गरेको गालीगलौजको बदला लिँदै सुरिताले अकवाललाई चड्काइन् । उनले अकवालको सर्ट च्यातिदिएकी थिइन् भने सर्टका टाँक खसेका थिए । दुईजनाबीच घम्साघम्सी नै हुन थालेपछि अन्य सभासद्ले छुट्याएका थिए ।