Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
पोखरा- पोखराबाट जहाज उडाएर जोमसोम जानै लाग्दा पाइलट प्रभुशरण पाठकले फर्केलगत्तै बुबाआमासँग बिहानको खाना सँगै खाने भनेका थिए। जोमसोमबाट नफर्किउन्जेल बुबाआमालाई विमानस्थलकै रेस्टुरेन्टमा पर्खन उनले भनेका थिए। जोमसोममा सोमबार बिहान भएको अग्नि एयरलाइन्सको जहाज दुर्घटनामा पाठक सहित १५ जनाले ज्यान गुमाएपछि बुबाआमासँगै बसेर खाना खाने पाठकको चाहना त्यत्तिकै रह्यो।
आफूहरूलाई पोखरा डाकेका छोराको दुर्घटनामा ज्यान गएको खबर सुन्नासाथ विमानस्थल परिसरमै रहेका बुबाआमाको रुवावासी चलेको थियो।
पोखरामा चलिरहेको प्रवचनमा सहभागी गराउन प्रभुशरणले बुबा हरिशरण र आमा तारालाई आइतबार चितवनस्थित घरबाट पोखरा डाकेका थिए। बुबाआमालाई सोमबार बिहान पोखराको आकाशमा अल्ट्रालाइट जहाजबाट उडाउने चाहनाबमोजिम उनले एभिया क्लबका म्यानेजर प्रविण गौचनलाई व्यवस्था मिलाउनसमेत अनुरोध गरेका थिए। अल्ट्रालाइटबाट उडेपछि रेस्टुरेन्टमा पर्खन भन्दै उनी जोमसोम उडेका थिए।
जोमसोमबाट फर्केपछि कुरा गरौंला भन्दै गएका उनीसँग अब कहिल्यै बोल्न नपाइने भयो,’ गौचनले मलीन हुँदै भने, ‘बुबा र छोरा एकैपटक जसो उडेका थिए।’मिलनसार पाठक सबैसँग मिठो बोल्थे। सबैसँगको राम्रो व्यवहारले साथीभाइमाझ लोकप्रिय थिए।
सँगै बसेर खाना खाने भन्दै पर्खाएर गएको छोरा सधैंका लागि बिदा भएपछि पाठक दम्पति विमानस्थलमै रोइरहेका थिए। बुबा हरिशरणले रुँदै भने, ‘बुढेसकालमा छोराको यो हालत व्यहोर्नुपर्‍यो।’
अल्ट्रालाइटमा उडेका बुबा हरिशरण आकाशमै छँदा छोराले उडाएको जहाज दुर्घटनामा परिसकेको थियो। उनले अल्ट्रालाइटबाट ओर्लेपछि मात्र त्यो खबर थाहा पाए। विमानस्थल परिसरमै रहेकी श्रीमतीसम्म आइपुग्दा छोरा दुर्घटनामा परेको खबर सर्वत्र फैलिईसकेको थियो। ‘मलाई आकाशमा रहँदा थाहा भएन, अल्ट्रालाइटबाट ओर्लंदा खबर फैलिसकेको रहेछ,’ उनले भने।
२०५५ सालमा अमेरिकाबाट पाइलट पढाइ सकेका प्रभुशरणका श्रीमती र छोराछोरी काठमाडौंमा बस्छन्। दुई दाजुभाइमध्ये उनी जेठा हुन्। बुबाआमा चितवन रत्ननगरमा बस्छन्। उनले १२ वर्षदेखि जहाज उडाइरहेका थिए।
तपाईको प्रतिक्रिया