काठमाडौं – प्रदेश नम्बर १, ५ र ७ नम्बर प्रदेशमा ३५ जिल्लामा ३३४ तहका लागि असार १४ गते भएको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । एउटा महानगरपालिका सहित ७ वटा उपमहानगरपालिकामा भएको निर्वाचननको मतपरिणाम आइरहेको छ ।
वडा, गाउँपालिका र केही नगरको अन्तिम मतपरिणाम आएपनि अहिलेसम्म कुनै पनि महानगर र उपमहानगरको अन्तिम मतपरिणाम भने आउन सकेको छैन ।
दोस्रो चरणको निर्वाचनको एक मात्रै महानगर विराटनगरमा कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसलाई एमालेले पछ्याइरहेको छ । यद्यपी कांग्रेसले मतान्तर फराकिलो बनाउँदै लगेको छ । कांग्रेसका मेयरका उमेदवार भीम पराजुली १६६६ मतले अगाडि छन् । पराजुलीका पक्षमा ५६९३ मत खसेको छ भने एमालेका मेयर उमेदवार विनोद ढकालका पक्षमा ४०२७ मत परेको छ ।
सात वटा उपमहानगरमा एमाले बलियो देखिएको छ । सातमध्ये ५ वटामा एमालेले लिड गरिरहेको छ । धरान, इटहरी, वुटवल, तुलसीपुर र घोराही उपमहानगरमा एमालेले अग्रता लिएको हो । धनगढीमा उपमहानगरमा कांग्रेसले अग्रता लिइरहेको छ भने नेपालगञ्ज उपमहानगरपालिकामा भने राप्रपाले लिड गरिरहेको छ ।