मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – सोह्र महिनाअघि अछामको भैरवस्थान गाविसको जङ्गलमा सुतिरहेका बेला जलेर गम्भीर घाइते भएका १८ वर्षीय कपिलबहादुर शाही (राउटे) को स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ ।

जलेर गम्भीर घाइते भएका राउटेलाई गैरआवासीय नेपाली सङ्घ बेल्जियमको पहलमा बेल्जियमका ट्रमा विशेषज्ञ डा. लुक बेगुकोर्टको सहयोगमा दैलेखबाट गएको बिहीबार बेलुका मात्र काठमाडौंस्थित ट्रमा सेन्टरमा ल्याइएको थियो ।

सुरुवातमा राम्ररी उपचार हुन नपाएका कारण घाउ पाकेपछि राउटेको अवस्था नाजुक बन्दै गएको थियो । घाउमा किरा परेर जङ्गलमै थला पर्नुभएका राउटेलाई सम्झाइबुझाइकन उपचारका लागि काठमाडौँ ल्याइएको हो ।

आफ्ना समुदायबाहेक अन्यले भनेको नमान्ने राउटेलाई उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन तथा दैलेखका समाजसेवी तथा राउटे उत्थान प्रतिष्ठान नेपालको अध्यक्ष समेत रहनुभएका सत्यदेवी खड्काको पहलमा उपचारका लागि काठमाडौँ ल्याइएको हो ।

विसं २०७२ पुष महिनामा राउटे जलेर घाइते भएका थिए । “हामीले दुई दिनपछि मात्र थाहा पायौँ । जङ्गलमै गएर उपचारका लागि प्रयास ग¥यौँ, राउटेलाई उपचारका लागि मनाउन सोह्र महिना लाग्यो,” खड्काले भन्नुभयो । एनआरएनका महासचिव लोकप्रसाद दाहालको प्रयासमा बेल्जियमका ट्रमा विशेषज्ञ नेपाल आउनुभएको उहाँले बताउनुभयो ।

चिकित्सकलाई लिएर खड्का र नेपाल पर्यटन बोर्डका कर्मचारी सरोज न्यौपाने दैलेख पुग्नुभएको थियो । सम्झाइबुझाइ गरेपछि राउटेलाई एम्बुलेन्समा राखि उपचारका लागि काठमाडौं ल्याइएको हो । कपिलबहादुरका साथमा उहाँका बुवा, काका र मामा समेत आउनुभएको छ । घाउ निकै पुरानो भएकाले चिकित्सकले उपचारमा समय लाग्ने बताएका छन् ।

ट्रमा सेन्टरका प्लास्टिक सर्जरी विभाग प्रमुख डा. पियुष दाहालको नेतृत्वमा डा अपार लामिछाने, डा स्वेता जैसवाललगायत राउटेको उपचारमा संलग्न हुनुहुन्छ । “घाउबाट किरा निकालिएको छ, काखी र पेटको भागमा बढी समस्या छ,” उपचारमा संलग्न डा लामिछानेले भन्नुभयो “अहिले स्वास्थ्यमा क्रमशः सुधार हँदै गएको छ ।”

छाला प्रत्यारोपण गर्नुपर्ने भएकाले शरीरको कुन भागको छाला प्रयोग गर्ने भनेर प्रयोगशालामा परीक्षणका लागि पठाइएको र पुरै निको हुन समय लाग्ने उहाँले बताउनुभयो ।

राउटे समुदायका बासिन्दा बाहिरी औषधि प्रयोग गर्न मान्दैनन् । उनीहरू उपचारका लागि आफ्नै पद्वति अपनाउने गर्छन् । राउटेका आफन्तले तीन दिनभित्र उपचार नगरे उहाँलाई घर फिर्ता लग्ने बताएका छन् ।

उपचारका लागि जङ्गलमा उपलब्ध जडीबुटीकै भर पर्ने गरेका घाइते कपिलबहादुरका काका लोकेन्द्रले बताउनुभयो । ‘‘अस्पतालको उपचारमा विश्वास लाग्दैन । हामी आफ्नै तरिकाले उपचार गर्छौँ । त्यही भएर सोह्र महिनासम्म जङ्गलकै जडीबुटी प्रयोग गरी उपचार ग¥यौँ ।” उहाँले आफूहरूलाई बस्न खान समस्या भएको दुखेसो गर्नुभयो । राउटे समुदाय अहिले दैलेखको लैयाटी बिन्दासैनिको जङगलमा बसोबास गर्दै आएको छ ।

अहिले नेपालमा राउटको सङ्ख्या १५० छ । पश्चिम नेपालको दैलेख, सुर्खेत, डडेल्धुरा, दार्चुलालगायत जिल्लामा बस्दै आएका राउटे जङ्गलमै फिरन्ते जीवन बिताइरहेका छन् ।

यसैबिच स्वास्थ्य मन्त्री गगनकुमार थापाले घाइते राउटेको अवस्थारबारे जानकारी लिँदै उहाँको उपचारका लाग्ने सम्पूर्ण खर्च सरकारले बहोर्ने तथा राउटे समुदायको स्वास्थ्य बिमा गर्ने र उनीहरूका लागि पोषण सम्बन्धि विशेष कार्यक्रम ल्याउने बताउनुभयो ।

शनिबार बेलुका ट्रमा सेन्टर पुगेर मन्त्री थापाले घाइते राउटेको उपचारमा कुनै कसर बाँकी नराख्ने र सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया