मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

झापा – नेपाली काँग्रेसको आयोजनामा आजदेखि स्थानीय इँटाभट्टामा पहिलो पटक स्वास्थ्य महोत्सव सुरु भएको छ ।

महोत्सवमा एक हजार छ सय ९७ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । महोत्सवमा आज ६० वर्ष उमेरमाथिकाका लागि उपचार व्यवस्था गरिएकामा आँखाका लागि मात्र चार ६४ जना सहभागी थिए । तीमध्ये एक सय १० जनाको मोतीविन्दु पत्ता लागेको छ । उनीहरुलाई झापाका विभिन्न आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको महोत्सव मूल आयोजक समितिका संयोजक इन्द्रबहादुर बुढाथोकीले बताउनुभयो ।

सामान्य चिकित्सा र विशेषज्ञ सेवाका लागि महोत्सवमा १० उपचार कक्ष तयार गरिएको छ । हाडजोर्नी, मिर्गौला, मुटु, स्त्रीरोगलगायत बिरामीको उपचारका लागि नेपालका २५ अस्पतालका विशेषज्ञ–चिकित्सक महोत्सवमा आएको संयोजक बुढाथोकीले बताउनुभयो । महोत्सवमा आजै ३८ जनाले रक्तदान गरेका थिए ।

आजै ‘रोगः अनुभव र अनुभूति’ विषयमा भएको छलफलमा कलेजो प्रत्यारोपण गरिएका काँग्रेस नेताद्वय उमेशजङ्ग रायामाझी र भक्ति सिटौला, एमाले नेत्री तथा अर्बुद रोगी पूर्वसांसद शान्ता चौधरी, मिर्गौला प्रत्यारोपण गर्नुभएका स्थानीय समाजसेवी अरुणकुमार बुढाथोकी र डा रमेश कँडेलले रोग लाग्न नदिन गरिने प्रयास र रोग लागिसकेपछिका सतर्कताका बारेमा छलफल गर्नुभएको थियो । महोत्सव सात दिनसम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया