बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रुपमा कार्यभार सम्हाले लगतै पूर्व राष्ट्रपति बाराक ओबामाले ल्याएको स्वास्थ्य सेवा सम्बन्धी नियमलाई निष्क्रिय पार्ने प्रक्रिया सुरु गर्नुभएको छ ।

शुक्रबार राति भव्य समारोहका बिच अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा शपथ ग्रहण गरेलगतै राष्ट्रपति ट्रम्पले ओबामा केयरको नामले चिनिएको स्वास्थ्य सेवा विधेयक निष्क्रिय बनाउने सम्बन्धी निर्देशनमा हस्ताक्षर गर्नुभएको हो । ओबामा केयर अन्तर्गत २० लाख भन्दा धेरै अमेरिकीले सुलभ स्वास्थ्य सेवा पाएका थिए ।

ट्रम्पले शपथ ग्रहण लगतैको उद्घाटन भाषणको क्रममा अमेरिकालाई पहिलो प्राथमिकतामा राख्ने र अमेरिकमा हुने गरेको नरसंहार अन्त्य गर्ने बताउनुभएको थियो ।

ट्रम्प विरुद्ध महिला

ट्रम्पको शपथ ग्रहण समारोह भइरहेका बेला पनि विरोध प्रदर्शन भएको थियो । स्थानीय प्रहरीले दुई सय जना भन्दा धेरैलाई पक्राउ गरेको जनाएको छ ।

प्रदर्शनको क्रममा कम्तिमा ६ अधिकारी घाइते भएका छन् । एउटा गाडीमा आगो लगाइएको छ । महिलाहरुले अहिले राजधानी वासिङटनमा प्रदर्शनको तयारी गरेका छन् । ट्रम्पको विरोधमा हुने र्‍यालीमा दुई लाख भन्दा धेरै मानिस सहभागी हुनेछन् ।

ट्रम्पको राष्ट्रपतीय कालमा महिलामाथि विभेद, रंगभेदी व्यवहार हुन सक्ने खतरा रहेकाले त्यसप्रति विश्वको ध्यानाकर्षण गराउन प्रदर्शन गर्न लागिएको आयोजकले जनाएका छन् । यस्तै खालको प्रदर्शन अस्ट्रेलिया, न्युजिल्याण्डसहितका विश्वका धेरै देशमा भइसकेको छ ।

तपाईको प्रतिक्रिया