काठमाडौं – प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग विगतमा आन्दोलन नियन्त्रणमा लिँदा संगठनका तर्फबाट भएका कमी कमजोरी सच्याउँदै नयाँ सुरक्षा योजनामा जुटेका छन् ।
तीनवटै सुरक्षा निकायले केही महिनाअघि देशका विभिन्न भागमा संयुक्त पूर्वअभ्यास गरेका थिए । आपसमा समन्वयको कमी, भूमिकाका विषयमा खिचातानी र स्थितिको पूर्वमूल्यांकन तथा पूर्वसूचनाको कमीका कारण यसअघिका आन्दोलनमा धनजनको क्षति भएको निष्कर्ष उनीहरुको छ । यसै आधारमा रणनीति बनाएर उनीहरु आन्दोलनका क्रममा हुने सक्ने धनजनको क्षति रोक्न पूर्वअभ्यासमा जुटेका हुन् ।
यसैबीच प्रहरीले प्रदेश पाँच र दुईमा सुरक्षा चुनौती बढिरहेको निष्कर्षसहित प्रतिवेदन तयार पारेको छ । सुरक्षा खलल पार्ने तत्वको पहिचानमा पनि प्रहरी जुटेको छ । प्रदेश ५ मा राजनीतिकरुपमा संविधान संशोधनको विपक्षमा रहेका दल र दुईमा भूमिगत सशस्त्र समूहले गतिविधि बढाउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।