काठमाडौँ – सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेपछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संकटमा परेको छ ।
प्रचण्डले ओलीसँग सोमबार बालुवाटारमा गरेको दुई घण्टा लामो छलफलमा बजेट पारित भएलगत्तै समर्थन फिर्ता लिनसक्ने जनाउ दिनुभएको हो । प्रचण्डले गत वैशाख २३ गते एमालेसँग भएका ९ बुँदे लिखित र तीन बुँदे मौखिक सहमति सम्झाउँदै ती सहमति कार्यान्वयन नभएको अवस्थामा आफ्नो दललाई सरकारमा बसिराख्न नैतिक रूपमा अप्ठ्यारो पर्ने बताउनुभएको हो । सरकारले आगामी २४ गते बजेट पारित गर्ने योजना बनाएको छ । बजेट पारित नहुन्जेल सम्म सरकारको नेतृत्व ओलीले गर्ने र त्यसपछि प्रचण्डले नेतृत्व गर्नेबारेमा एमाले र केन्द्रका नेताबीच विरोधी धारणा सार्वजनिक भइरहेका छन् ।
‘हामीसँग भएको ९ बुँदे लिखित र तीन बुँदे मौखिक सहमति कार्यान्वयन नहुने अवस्थामा हामीलाई सरकारमा बसिराख्न अप्ठ्यारो हुन्छ । राष्ट्रलाई गति प्रदान गर्न पनि हामीले छोड्नुपर्ने स्थिति आउँछ,’प्रचण्डको भनाइ उद्धृत गर्दै उँहाका स्वकीय सचिव जोखबहादुर महराले भन्नुभयो ,‘शान्तिप्रक्रियालाई पूर्णता दिन, संविधान कार्यान्वयन गर्न, पुनर्निर्माणलाई तीव्रता दिन र मधेसका आन्दोलनकारीलाई सहमतिमा ल्याउन राष्ट्रिय सहमतिको सरकार बन्न जरुरी छ ।
त्यो सरकार जसको नेतृत्वमा बने पनि हुन्छ ।’ काँग्रेस र मधेसी दलको समर्थन जुटाएर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रचण्डले ओलीलाई सल्लाह दिँदै आएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
प्रचण्डले शेरबहादुर देउवाको नेतृत्वमा सहमति सरकार बनाउँन प्रस्ताव गर्दा ओलीले , ‘मलाई काँग्रेसले समर्थन नगर्ने हो भने मैले शेरबहादुरजीलाई किन समर्थन गर्ने ?’ भन्ने प्रश्न समेत गर्नुभएको थियो ।