नेपाल विद्यार्थी संघको २०४८ सालमा भएको निर्वाचनमा केन्द्रिय सदस्यमा निर्वाचित भएपछि सरिता प्रसाइको प्रत्यक्ष राजनीतिक यात्रा सुरु भएको हो । त्यसपछि तरुणदल, महिलासंघ हुँदै दोस्रो संविधान सभाको निर्वाचनपछि संविधानसभा सदस्य भएकी झापाकी स्थायी बासिन्दा प्रसाइ नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ । १३ आैँ महाधिवेशनपछि काँग्रेसले एक पटक केन्द्रिय समितिको बैठक समेत बसिसकेको छ । यसै सन्दर्भमा नेपाली समाचारका लागि सलोजा दाहालले नेतृ प्रसाइसंग गरेको कुराकानी
अहिले नेपाली काँग्रेसको प्राथमिकता के हो ?
नेपाली काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको छ । त्यसको कार्यन्वयन गर्नुका साथै, विकास निर्माणका कामलाई पनि पहिलो प्राथमिकतामा राखेर अघि बढ्नु नेपाली काँग्रेसको प्रमुख कार्यभार हो । त्यसपछि भातृसंगठनको निर्वाचन गराउनु र संगठनको चुस्तताई व्यवस्थापन गर्नु अहिलेको आवाश्यकता हो ।
१२ औं महाधिवेशनपछि पनि भात्तृ संगठनको अधिवेशनको बारेमा धेरैपटक चर्चा भयो । तर सेलाएर गयो । अहिले पनि त्यही नियति दोहोरिने त हैन ?
हो त्यसबेला पनि भात्तृ संगठनको महाधिवेशन गर्नु आवश्यक थियो । तर त्यसबेला काँग्रेसको प्राथमिकता राष्ट्रिय राजनीतिमा नै केन्द्रित भयो र पहिलो प्राथमिकता संविधान निर्माण नै रह्यो । त्यसैले चाहेर पनि निर्वाचन हुन सकेको थिएन ।
तर अब समय फेरिएको छ । काँग्रेसकै नेतृत्वमा नेपालमा संविधान पनि जारी भइसक्यो । पार्टीकै नेतृत्व गर्नेले पनि भात्तृसंगठनको निर्वाचनलाई प्राथमिकतामा राखेका छन् । अझ बरिष्ठ नेता रामचन्द्र पौडेलले त ६ महिना नभइ तीन महिना भित्र नै अधिवेशन गराउनुपर्ने प्रस्ताव राख्नुभयो । त्यसैले पहिलेको जसरी चर्चा मात्र हुँदैन । काम नै हुन्छ ।
काँग्रेसको १३ औं महाधिवेशन सम्पन्न भएसंगै सरकारमा सहभागी हुने विषयमा पनि छलफल सुरु भएको हो ?
त्यो बाहिर आइरहेको कुरा हो । तर काँग्रेस अहिले तत्काल सरकारमा जाने भन्दा पनि आन्तरिक कार्य र संविधान कार्यन्वयननै प्राथमिकतामा राखेर अघि बढेको छ । शुक्रबार बसेको केन्द्रिय समितिको पहिलो बैठकमा पनि अधिकांश केन्द्रिय सदस्यले तत्काल सरकारमा जाने भन्दा पनि भातृसंगठनको अधिवेशनको विषयलाई नै प्राथमिकतामा राख्नुभएको थियो । त्यसैले तत्कालै काँग्रेस सरकारमा जाने भन्ने विषय हाम्रो प्राथमिकतामा छैन ।
तर चर्चा त सुरु भएको छ नी ?
त्यो हामीले भन्दा पनि सरकारमा बस्नेहरुले नै सुरु गरेको हो । स्वभाविक त काँग्रेस ठूलो पार्टी भएकोले चर्चा सुरु भएको होला । तर हाम्रो तत्काल प्राथमिकताको विषय होइन ।
हाम्रो शुभचिन्तकले काँग्रेस सरकारमा जानुपर्छ भनेर चाहनु भएकोले चर्चा सुरु भएको भन्ने हाम्रो बुझाई छ ।
नेपाली काँग्रेस सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी हो । समावेशीताको विषयमा पनि खुबै चर्चा गर्नुहुन्छ । तर व्यवहारमा त देखिएन नि ?
काँग्रेसको विधानमा नै समावेशीताको शिद्धान्तलाई अबलम्बन गरिएको छ । अहिलेको केन्द्रिय समितिमा पनि समावेशीताको आधारमा प्रतिनिधित्व गर्नेहरु छन् । त्यसैले हामी व्यवहारिक रुपमा पनि कार्यन्वयनको पक्षमा छौ ।
नेपालको संविधान २०७२ ले नै हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्वको सुनिश्चित गरिसकेको छ । तर अहिलेसम्म जम्मा २२ प्रतिशतमा सीमित हुनुहुन्छ । कसरी समावेशी भयो ?
नेपाली कांग्रेसको केन्द्रमा मात्र होइन महिलाहरु क्रियाशील सदस्य नै कम छन् । हामीले यस विषयमा पहिलेपनि कुरा नउठाएका होइनौ । तर कार्यन्वयनको पाटो दरिलो बन्न सकेको छैन । त्यसकै परिणाम महाधिवेशन प्रतिनिधि देखि केन्द्रिय समितिमा पनि अझै ३३ प्रतिशत महिला पुगेका छैनन् । तर अबको महासमितिको बैठकमा भने हामी यसलाई सशक्त रुपमा उठाउँछौ । जसले नेपाली काँग्रेसको विधानमा नै ३३ प्रतिशत महिला सुनिश्चित गर्नेगरी उल्लेख गरिन्छ ।
तपाईहरुको बोली जस्तै व्यवहार नहुँदा समस्या परेको त होइन ?
त्यस्तो होइन । हाम्रो स्थानीय देखि केन्द्रिय संरचना र सोचाइ परिर्वतन हुनु अत्यावश्यक भएको छ । किनकी कानूनमा लेखिए पनि व्यवहारमा लागु हुन सकेको छैनन्, यो सोचाइका कारणले भएको समस्या हो ।
यो चाही नेतृत्वमा रहेका महिला पुरुष दुबैको समस्या हो ?
हो हो । हामी महिलाका पनि केही कमजोरी छन् । जसका कारण हामी एकै स्थानमा उभिन सकिरहेका छैनौ । त्यसैले हाम्रा मागहरु पनि भाषणमा मात्र सीमित देखिए झै भएका हुन् । तर अब त्यो अबस्था आउदैन । किनकी हामी महिलाका मुद्धामा क्याम्पेनिड नै गरेर अघि जाने सोचमा छौ । महिलाले अहिलेसम्म मागेका थिए, त्यसैले केही पाएँ केही पाएनन् । तर हामी अब खोसेर लिनुपर्छ भन्ने मनस्थितिमा पुगेका छौ ।
तपाइले भनेकै जस्तो खोसेर लिने कुरा सम्भव होला र ? भोली गुट उपगुटको पनि कुरा आउला नि ?
म राजनीतिक सँस्कार भएकै परिवारमा राजनीति गर्नेहरुकै बिचबाट हुर्किएकी हुँ । नेपाली काँग्रेसमा क्षमता नभएकै कारण महिलाले अवसर नपाएका हैनन् । कतिपय अबस्थामा महिला भएकै कारण पछाडी पर्नुपरेको छ । जस्तो बरियता क्रममा अगाडी भए पनि शैलजा दिदीले पार्टी सभापति हुने देखि संसदीय दलको नेता बन्ने अबसरबाट पनि बञ्चित हुनुप¥यो ।
२००३ सालमा मंगलाभाउजु लगायले महिला आन्दोलन चलाएकै कारण मतदानको अधिकार पाएका हुन् । कालान्तरमा उहाँले पनि क्षमता अनुसारको जिम्मेवारी पाउनु भएन । कतिपय अबस्थामा गणेशमान सिंहको श्रीमती मात्र भनेर बुझ्ने पनि चलन छ । यी केही उदाहरणले पार्टी पंक्तिमा क्षमता भएका महिला पनि कसरी पछाडी पारिएको थियो र छ भन्ने प्रष्ट हुन्छ । त्यसैले अब हामी मागेर होइन, खोसेर लिनुपर्छ भन्ने मान्यतामा पुगेका छौ ।
पहिलेको र अहिलेको महिलाको उपस्थितिमा कतिको अन्तर देख्नुहुन्छ ?
पहिले कतिपय स्थानमा महिलाहरु राजनीतिमा आउन नै हिचकिचाउथे । त्यसैले महिलाको उपस्थिति देखाउनका लागि हामी सभापतिका श्रीमती तथा नातेदारलाई सदस्य बनाउँथ्यौं । त्यो समय फरक थियो । तर अहिले त महिलाहरु सक्रिय भएर आफै आएका छन् । क्षमता भएका महिलाको कदर गर्नु त हाम्रो कर्तव्य पनि हो नि । अब खुल्ला रुपमा प्रतिस्पर्धा गर्न सक्षम महिला राजनीतिमा आएका छन् । उनीहरुले उचित स्थान पाउनुपर्छ ।
अहिलेको केन्द्रिय समितिले सदस्य मनोनयन गर्दा पनि सम्मान स्वरुप गरेको छ । यस्तो अबस्थामा सिनियर महिलालाई पनि पार्टीमा ल्याउनुपर्छ । भूमिका दिनु जरुरी छ । म त्यो विषयमा पनि केन्द्रिय समितिमा कुरा उठाउने सोचमा छु ।
नेपाली काँग्रेस अहिले प्रतिपक्षमा बसेको छ । तपाईहरु संसदमा हुनुहुन्छ तर प्रतिपक्षको भूमिका त निर्वाह गरेको देखिदैन नि ?
काँग्रेस केही दिन अघिसम्म महाधिवेशनको चटारोमा थियो । सरकारका विषयमा नागरिक स्तरबाट पनि गुनासा आईरहेका छन् । यस विषयमा हामीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा कुरा उठाइरहेका छौं । गलत कामको विरोध गरिरहेका छौ । तर अराजक बनेर संसदमा प्रस्तुत हुन त सकिदैन । हाम्रा केही कमी कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने आवाश्यकता पनि छ ।
तपाईको प्रतिक्रिया