काठमाडौं – नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्तर्गत पौने ९ बजेदेखि सुरु भएको मतदानका लागि राष्ट्रिय सभा गृहको सुरक्षा कडा बनाइएको छ ।
सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि बन्द सत्रमा भन्दा बढी सुरक्षाकर्मी मतदानमा खटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन भृकुटीमण्डप क्षेत्रमा सवारी साधन पार्किङ गर्न निषेध गरिएको महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले जानकारी दिनुभयो । मतदानका लागि सभागृहभित्र र वरिपरिको परिसरमा ४५० सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।
बिहान ८ बजे सुरु हुने भनिए पनि मतदान ढिलो आरम्भ भएको थियो । साँझ ५ बजेसम्म मतदान जारी रहने काँग्रेस निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । पदाधिकारीसहित ६४ पदका लागि ३१२ प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । तीन हजार १६१ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्वका लागि मतदान गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया