काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघहरुको आज महासंघ सचिवालयमा सम्पन्न क्षेत्रीय भेलाले स्थानीय क्षेत्रको सम्भाव्यता पहिचान सहित उद्योग वाणिज्य संघहरुको नेतृत्व पहिचान गरिएका कार्यक्रमहरुको विकास योजना अगाडि बढाउनुपर्ने सुझाव दिइएको छ । भेलामा मध्यमाञ्चल क्षेत्रका विभिन्न जिल्ला/नगरस्तरिय उद्योग वाणिज्य संघहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा स्वरोजगार कार्यक्रममा उद्योग वाणिज्य संघहरुको भूमिका, एक जिल्ला एक उत्पादन कार्यक्रममा उद्योग वाणिज्य संघहरुको सक्रियता र लगानी वर्ष २०१२-१३ मा जिल्लाका सम्भावित लगानीका अवसरहरु विषयमा व्यापक छलफल भयो । विभिन्न जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले उत्पादन कार्यमा नयां प्रविधि भित्रयाएर उत्पादन बढाउनुपर्नेमा जोड दिनु भयो । यसै गरी सरकारले २०१२-१३ लाई लगानी वर्षकारुपमा मनाउने तयारी गरीरहेका अवस्थामा सुबिधा सम्पन्न होटलहरुको विकास, सुरुङ्ग मार्ग निर्माण, अर्गानिक तरकारी खेती, मेडिकल कलेजको विस्तार, व्यवसायिक पशुपालन जस्ता क्षेत्रमा लगानी बढाउन सुझाव दिनुभयो । त्यसैगरी उद्योग व्यवसाय दर्ता उद्योग वाणिज्य संघबाटनै गराउने व्यवस्था गरी उद्योग वाणिज्य संघहरको आय आर्जन बढाउनुपर्ने, नगरपालिकाले उठाउने करको २५ प्रतिशत जिल्ला उवासंघलाई उपलब्ध गराउने व्यवस्थामा महासंघले पहल गर्नुपर्ने सुझाव पनि सो अवसरमा सहभागीहरुले दिनुभएको थियो ।
सो भेलालाई सम्वोधन गर्नुहुंदै महासंघक उपाध्यक्ष भवानी राणाले जिल्लाहरुमा भएका श्रोतहरुलाई परिचालन गरेर कसरी अगाडि बढाउन सकिन्छ त्यसमा सामूहिक सोंच र प्रयास जरुरी रहेको बताउनुभयो । कुन जिल्लामा कस्ता किसिमको श्रोत छन त्यहि अनुसारको कार्ययोजना र लगानी गर्ने योजना महासंघको रहेको पनि उहांले जानकारी गराउनु भयो ।
सो अवसरमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष प्रा. डा. पुण्यप्रसाद रेग्मीले बैकहरुलाई लगानीका लागि सहयोग गर्न आग्रह गर्नुभयो । उपाध्यक्ष रेग्मीले आ-आफनो जिल्लामा भएका सम्भाव्यताको पहिचान गरि प्राथमिकताका आधारमा कार्ययोजना ल्याउने कार्यमा सहयोग गर्न सहभागी उद्यमी व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेश बस्नेतले अर्गानिक बालीमा कुन कुन क्षेत्रमा के के उत्पादन हुन्छ त्यसको सही तथ्यांक राखी त्यसको वजार सुनिश्चितता गराउनुपर्नेमा जोड दिंदै पांच विकास क्षेत्रमा संयुक्त लगानीका लागि सम्भाव्य क्षेत्रहरुको पहिचान गर्नुपर्ने सुझाव दिनु भयो ।
सो अवसरमा मध्यमाञ्चल क्षेत्रिय उद्योग वाणिज्य संघका अध्यक्ष ध्रुव थापाले भेलामा प्राप्त सुझावबाट उद्योग वाणिज्य संघहरुको भावी योजना निर्माणमा सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो । साथै उहांले कार्य क्षेत्रीय भेला निकै उपलव्धीमुलक भएको र भेलामा प्राप्त सुझावहरुलाई आआफनो स्थानबाट लागू गर्न सहभागी उद्योग वाणिज्य संघहरुलाई आग्रह समेत गर्नुभयो । ***