काठमाडौ- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री डा बाबुराम भट्टराई ले राजिनामा दिनुको विकल्प नभएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा अध्यक्ष खनालले सरकार पुर्ण रुपमा असफल भईसकेकोले यसलाई बदल्नु अनिवार्य भएको उल्लेख गर्दै प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकारकोलागी चाडो भन्दा चाडै मार्ग प्रसस्त गर्नु पर्ने बताए ।
उनले प्रधानमन्त्री भट्टराई नेतृत्वकै सरकारले राष्ट्रिय सहमतिको स्वरुप लिने सम्भावना शुन्य बराबर हरेको भन्दै सहमतिको सरकारकोलागी नयाँ आधार निर्माण गर्नु पर्ने दावी गरे । उनले भने–यो सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा बदल्नु भनेको समयको बर्बादी मात्र हो ।
अध्यक्ष खनालले सरकारलाई लुलो बैसाखी टेकेको सरकारको संज्ञा दिदै जुनसुकै बेला पनि सरकार ढल्ने दावी गरे । उनले थपे–यो सरकार आफ्नै कारणले अलग थलग भइसकेको छ । कुनै पनि बेला ढल्न सक्छ ।
प्रधानमन्त्रीले राजिनामा दिनु भएन भने के गर्ने नी भनि सन्चारकर्मीले राखेको जिज्ञासामा खनालले सहमतिको सरकार निर्माण र अहिलेको सरकारको विघठनकोलागी एमाले जस्तो सुकै कदम चाल्न पनि तयार रहेको स्पष्ट पारे ।
उनले सहमतिको सरकारकोलागी जस्तो सुकै गंभिर कदम पनि चाल्न एमाले तयार भएको स्पष्ट पार्दै सहमतिको सरकार गठन गरेर बाँकी अवधीमा शान्ति र संविधान निर्माणकोलागी अधिकतम प्रयत्न गर्नु पर्ने सुझाव दिए ।
माओवादी ठूलो पार्टी र शान्ति प्रक्रियाको प्रमुख पक्ष भएको नाताले निर्वाह गर्नु पर्ने भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै शान्ति र संविधान निर्माणको कार्यमा अवरोध हुनुको प्रमुख दोषी माओवादी रहेको दावी गरे ।
संबैधानिक समितिमा ऐजेण्डा नहुनु, स्वेच्छिक अवकास , पुर्नस्थापना र समायोजनमा जानेको प्रक्रिया अगाडि बढाउन नसक्नु, समायोजनकोलागी नेपाली सेनालाई निर्देशन दिन नसक्नुले पनि सरकारको औचित्य सकिएको उनको दावी थियो ।
उनले कार्तिक १५ गते भएको सात बुदे र मंसिर १३ गते भएको छ बुँदे सहमति कार्यान्वयन नगरेर सरकारले आफ्नो औचित्य आफै समाप्त गरेको दावी गर्दै माओवादीकै अवरोधका कारण राष्ट्रिय सहमति बन्न नसकेको आरोप लगाए ।