टोकियो – गायन तथा नृत्य विधाका नेपालीभाषी उत्कृष्ट प्रतिभाहरुको उजागर गर्न अन्तर्राष्ट्रिय स्तरको रियालिटी शोको जापान अडिशन आगामी महिना टोकियोमा हुने भएको छ । अघिल्लो आईतबार टोकियोमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन-२’ को जापान अडिशन बारे जानकारी गराईएको हो । इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा हुन लागेको उक्त रियालिटी शोको जापान अडिशन फेब्रुअरी १५ र १५ तारिख टोकियोमा हुने बताईएको छ ।
नेपालभित्र वा नेपालबाहिर जहाँ रहेको भएता पनि नेपालीभाषी प्रतिभाहरु यसमा सहभागी हुन पाउने प्रावधान रहेको उक्त दुबै रियालिटी शो को प्रथम पुरस्कार राशी १, १ करोड रुपैंया रहेको बताईएको छ । यसैगरी दोस्रो पुरस्कार २५ लाख र तेस्रो पुरस्कार १० लाख रहेको छ ।
रियालिटी शो को भ्वाइसतर्फ वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ निर्णायक रहने भएकाछन् भने डान्सतर्फ वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, अभिनेतृ शिल्पा मास्के, कोरियोग्राफर शंकर बिसी, कविराज गहत र किरण थापा निर्णायक रहने बताईएको छ । भ्वाइसतर्फ विशाल भण्डारी र डान्सतर्फ मौसमी गुरुङको निर्देशन रहने दुबै शोका लागि रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखरेल र नम्रता श्रेष्ठ कार्यक्रम प्रस्तोताकारुपमा अनुबन्धित भईसकेको आयोजकको दावी छ ।
उक्त प्रतियोगितामा सहभागी हुन चाहने प्रतिस्पर्धीले फाउण्डेशनको वेभसाइट (www.intrafoundations.org) मा गएर आवेदन दिन सकिने बताईएको छ । विश्वभरिबाट स्थलगत अडिशनबाट छनौट भएका १ सय २० जना भ्वाइसका र १ सय २० जना डान्सका गरी २ सय ४० जना प्रतियोगीबीच काठमाडौंमा प्रतिस्पर्धा गराईने छ । जापान अडिशनका लागि सूर्य खड्का, महेन्द्र न्यौपाने, रबिन शर्मा र बिष्णु सुबेदी रहेको टिमले कमाण्ड सम्हालेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ । ***