समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई जवाफ फर्काएका छन् । प्रचण्डले दाङको तुलसीपुरमा आयोजित खबरदारी सभामा ०६४ सालमा जस्तै जनताले भोट दिएमा भ्रष्टाचारको जरासहित उखालेर फाल्ने दाबी गरेका थिए ।
उनको यो भनाइप्रति प्रतिक्रिया जनाउँदै ओलीले सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा आयोजित प्रशासकीय भवन उद्घाटन समारोहमा आफ्नो धारणा राखेका हुन् । ‘अचम्मको कुरा, ६४ को जस्तै भोट दिनुस् के के गर्छु गर्छु भन्नु भएछ एक ठाउँमा एक जनाले,’ प्रचण्डको नाम नलिइ ओलीले भनेका छन्, ‘ए जमाना गयो त्यो । क्याम्पमा लडाकु थिए, आतकं थियो, त्रास थियो । सोझा जनतालाई दुर्बिनले हेर्या हुन्छ, कहाँ भोट लगायो थाहा पाउँछौं हामी पछि ठिक लगाउँछौं भनेर ।’ उनले ०६४ को निर्वाचनमा सरकार र प्रशासन नै माओवादीका कारण निरीह बन्नुपरेको उल्लेख गरे ।
‘उनीहरूका मान्छे मतपत्रमा छाप लगाएकै ठाउँबाट हेर्थे । म लगाइदिन्छु भनेर समेत भन्थे । सरकार र प्रशासन निरीह हुन्थ्यो । त्यो जमाना अब छैन । गयो त्यो जमाना,’ उनले भने ।