समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ। महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले गृहमन्त्री रमेश लेखकलाई सोमबार भेटेर उक्त माग प्रस्तुत गरेको हो।
पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज, धम्की र थप समाचार लेख्न रोक्ने प्रयास भएको घटनाप्रति महासंघले गम्भीर चासो प्रकट गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले हस्ताक्षर गरेको पत्रमा, घटनासम्बन्धी प्रतिवेदनले दोषी ठहर गरेका जोसुकैलाई कारबाही गर्न सरकारलाई अनुरोध गरिएको छ। प्रतिवेदनमा मेयर साम्पाङ र उनका समर्थकहरूले पत्रकार दाहाललाई ज्यानसम्मको धम्की दिएको उल्लेख पनि गरिएको छ। साथै, पत्रमा प्रेस स्वतन्त्रता हननमा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन जोड दिइएको छ।
पत्र बुझ्दै गृहमन्त्री लेखकले महासंघको मागप्रति ध्यानाकर्षण भएको बताउँदै, प्रेस स्वतन्त्रताविरुद्धका कुनै पनि गतिविधिलाई राज्यले सहन नसक्ने र संलग्नलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।