काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल सहभागितामा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेकथ्रु सम्पन्न भएको छ। यससँगै वर्तमान सरकार मुलुकमा विकास र सुशासन स्थापनामा प्रतिबद्ध रहेको पुनः पुष्टि गरिएको छ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा परिचित सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा पर्ने माथिल्लो सिद्धबाबा मन्दिर नजिकको एक किलोमिटर १२६ मिटर लामो सुरुङमार्ग छिचोल्ने काम सफलतापूर्वक सम्पन्न भएको हो। स्वास्थ्यको कारणले स्थल भ्रमण गर्न नसकेका प्रधानमन्त्री ओलीले बालुवाटारबाटै भर्चुअल माध्यमद्वारा कार्यक्रमलाई सम्बोधन गर्नुभयो।
उहाँले पहिरोका कारण हुने सवारी दुर्घटना र त्यसले जनधनमा पर्न सक्ने क्षति रोक्न यो सुरुङमार्ग महत्वपूर्ण योगदान दिने बताउनुभयो। साथै, उहाँले यस परियोजनाबाट यात्रा अझ सुरक्षित र सहज हुने भन्दै सामाजिक तथा आर्थिक सम्बद्धतामा सुधारको अपेक्षा गर्नुभयो। यसअघि थानकोट–नागढुङ्गा सुरुङमार्ग ब्रेकथ्रु भएको स्मरण गर्दै, प्रधानमन्त्री ओलीले नेपालले सुरुङयुगमा प्रवेश गरिसकेको र अब यात्रुहरूले सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने नयाँ युगको थालनी भएको धारणा व्यक्त गर्नुभयो।