काठमाडौं – प्यूठानको सरुमारानी गाउँपालिका-२ मा फोहोरका लागि राखिएको डस्टबिनमा नवजात शिशुको शव फालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बिहीबार बिहान डस्टबिनभित्र शिशुको शव फेला परेपछि प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धानलाई तीव्र बनाएको थियो । घटनाको छानबिन क्रममा बिहीबार राति १७ वर्षीया किशोरी र १८ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी दिपेश बस्यालले जानकारी दिए । उनका अनुसार, मृत शिशुको जन्म ५/६ दिनअघि भएको मेडिकल रिपोर्टले देखाएको छ ।
पक्राउ परेकी किशोरीले शिशु आफूले फालेको स्वीकार गरेकी छन् । उनका अनुसार, बच्चा जन्मिएपछि रुन थालेको थियो । उनले मुख थुन्दा शिशुको मृत्यु भएको बयान प्रहरीलाई दिएकी छन् । अनुसन्धानका क्रममा ती किशोरी अर्घाखाँचीको शितगंगा नगरपालिकाकी भएको र उनी आफन्तसँग प्यूठानमा बस्दै आएकी थिइन् । उनका बुवाको निधन भइसकेको छ भने आमा रोजगारीका लागि दुबईमा छन् ।
किशोरीले आफू तीन महिनासम्म मोटाएको जस्तो लागेको र गर्भावस्थाबारे थाहा नभएको बताएकी छन् । प्रहरीले किशोरीको बयानका आधारमा थप अनुसन्धान गर्दै १८ वर्षीय किशोरलाई समेत नियन्त्रणमा लिएको छ । ती किशोर सरुमारानी गाउँपालिकाकै निवासी रहेको खुलेको छ ।
किशोरीको स्वास्थ्य अवस्था कमजोर रहेकाले सालनाल नझरेकाले उनलाई अहिले जिल्ला अस्पताल बिजुवारमा भर्ना गरिएको छ । शिशुको जन्मसम्बन्धी थप विवरण भने मेडिकल रिपोर्टबाट आउनेछ । जिल्ला अदालत प्यूठानबाट अनुमति लिएर ती किशोरमाथि थप अनुसन्धान भइरहेको छ । डीएसपी बस्यालका अनुसार, अनुसन्धानले घटनाको सम्पूर्ण पृष्ठभूमि र कारण खुलाउने अपेक्षा गरिएको छ ।