काठमाडौं – इजरेली मन्त्रिपरिषद्ले हमाससँग भएको युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौताका लागि अन्तिम स्वीकृति दिएको छ । शुक्रवार राती अबेरसम्म चलेको घण्टौँको छलफलपछि उक्त निर्णय आएको हो ।
यसअघि उक्त सम्झौतालाई अनुमोदन गर्न इजरेलको सुरक्षा क्याबिनेटले सरकारलाई सिफारिस गरेको थियो । जसमा सम्झौताले यस युद्धको उद्देश्य अन्तर्गतको उपलब्धीलाई साथ दिने उल्लेख गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको कार्यालयले जनाएअनुसार सम्झौता अनुमोदन भएसँगै पहिलो चरणमा बन्धकहरूको रिहाइ निर्धारित योजनाबमोजिम आइतवार हुनेछ ।
सम्झौताअनुसार पहिलो चरणमा तीनजना बन्धकहरूलाई हमासले रिहा गर्ने इजरेलले जनाएको छ । स्रोतहरूले एएफपी समाचार संस्थालाई बताए अनुसार सुरुमा छुट्ने ती मानिसहरू महिला हुनेछन् । सम्झौताले हमासलाई फाइदा पुर्याउने भन्दै केही मन्त्रीहरूले राजीनामा दिने चेतावनी दिएका थिए ।
यसअघि बिहीवार नै सुरक्षा क्याबिनेटको बैठक बस्न तय भए पनि नेतन्याहुले आफ्नो वचनबाट हमास पछि हटिरहेको भन्दै स्थगित गरेका थिए । तर शुक्रवार बिहान हमासले युद्धविरामसम्बन्धी उत्पन्न अवरोधहरू हटेको बतायो । ‘युद्धविराम सम्झौताका शर्तहरू मान्न कब्जाकारीहरूको विफलताका कारण उत्पन्न अवरोधहरू मध्यस्थकर्ताहरूको उदार प्रयासहरूबाट आज बिहानै हल भएको छ,’ हमासले एउटा वक्तव्यमा भनेको छ ।
अर्कोतर्फ इजरेलमा चरम दक्षिणपन्थी राष्ट्रवादीहरूले जेरुसलेममा प्रदर्शनहरू गरेका छन् । इजरेली रक्षामन्त्रीले वेस्ट ब्याङ्कमा बस्ती बसाल्नेहरूविरुद्ध प्रशासनिक पक्राउ आदेश रद्द गरेका छन् । बुधवार युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौता घोषणा भएयता इजरेली हमलामा एक सय जनाभन्दा बढी प्यालेस्टिनीहरू मारिएका गाजास्थित अधिकारीहरूले बताएका छन् ।
इजरेली राष्ट्रपति आइज्याक हर्ट्सोकले सम्झौताको स्वागत गरेका छन् । तर अगाडि चुनौतीहरू रहेको उनले बताएका छन् । ‘राज्य र उसका नागरिकबीचको ठूलो वाचा पूरा गर्नेतर्फ यो एउटा महत्त्वपूर्ण कदम हो । यसभन्दा ठूलो नैतिक, मानवीय, यहुदी र इजरेली कर्तव्य अर्को छैन। हामीले हाम्रा सबै बन्धकहरूलाई घर फर्काउनैपर्छ,’ सामाजिक सञ्जाल एक्समा गरेको एउटा पोस्टमा उनले भनेका छन् । बीबीसी