टोकियो – नेपाली कांग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठलगायतको टोली जापान भ्रमण सकेर नेपाल फर्किएको छ । व्यक्तिगत भ्रमणमा जापान आउनेहरूमा नेपाली कांग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठ, कास्की जिल्ला कांग्रेसका सचिव भानु ढकाल, चितवन जिल्ला कांग्रेस प्रवक्ता अनमोल अधिकारी, कांग्रेस महासमिति सदस्य ऋषि खनाल, भरतपुर महानगरपालिका-१० का वडा सदस्य ऋषि थापा थिए ।
जापान भ्रमणका क्रममा उनीहरुले जापानमा नेपाली कांग्रेस निकट जनसम्पर्क समिति, चितवन समाज जापान, जापानस्थित नेपाली राजदूतावास, जापानका स्थानीय निकायलगायत संघसंस्थाहरुमा भेटघाट एवम् साक्षात्कार समेत गरेका थिए । जापान भ्रमणका क्रममा चितवनकै स्थानीय एवम् युवा नेता जितनारायण श्रेष्ठले रवि लामिछानेसँग किन चुनाव हारे भन्ने बारेका चर्चा नचल्ने कुरै भएन ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले कांग्रेस चितवनका पूर्व सभापति जितनारायण श्रेष्ठलाई चितवन निर्वाचन क्षेत्र नम्बर-२ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले ‘मंसिरको हावाहुरी वैशाखमा नदेखिने’ दाबी गरेका थिए । तर चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग कोही टिक्न सकेनन् । आखिर चितवनकै जितनारायणलाई किन पत्याएनन् त चितवनका जनताले ?
नेपालमा स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा जितनारायण श्रेष्ठ भनेका थिए, ‘कांग्रेसले रुख बाहेक अरूमा भेट हाल्दैन ।’ जतिबेला कांग्रेस-माओवादीको गठबन्धनको सरकार थियो । त्यो भनाई समाचार अनि सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । तर श्रेष्ठले त्यो भनेको केही दिनमा नै भरतपुर महानगर पालिकामा कांग्रेस-माओवादी गठबन्धन भई कांग्रेसले फेरि हँसिया हतौडामा भोट हाल्न परेको थियो ।यहीकारण तपाईँले चुनाव हार्नु परेको त होइन ? भन्ने प्रश्नमा जितनारायण भन्छन्, ‘यो पनि एउटा कारण हो । म माओवादी-कांग्रेस गठबन्धन गर्न हुँदैन र कांग्रेस एक्लै चुनाव लड्न पर्छ भन्ने पक्षमा थिए । तर के गर्ने ? मसँग दुई विकल्प थिए, पार्टीको निर्णय विपरित विद्रोह गर्ने वा पार्टी केन्द्रको निर्णय मानेर जाने थिए । म भनेको पार्टीको सिपाही हो । मैले सेनापतिको आदेश पालना गर्नुपर्छ भन्ने लाग्यो र माने । यो मेरो बाध्यता थियो। चितवनबाट कांग्रेसीले रुखमा भोट हाल्न नपाएको वर्षौं भइसकेको थियो । जुन असर मलाई पनि पर्यो । म चितवन कांग्रेसको सभापति हुँदा अरु पार्टीबाट वितृष्णा भएका हजारौंलाई कांग्रेसमा प्रवेश गरायौँ तर गठबन्धनपछि उनीहरुले पनि पुरानै पार्टीमा भोट हाल्न पर्नेभयो । जसकारण त्यस्ता भोटहरू पनि पछि रविलाई नै गयो ।’श्रेष्ठ भन्छन्, ‘विदेशबाट पनि धेरैले आफ्ना अभिभावकहरूलाई एक पटक नयाँ लाई भनेर फोन गरे । परिवारका लागि दुःख गर्न विदेश गएका आफ्ना सन्ततिको कुरा परिवारले नकार्ने कुरै भएन । नयाँको नयाँ-नयाँ काण्डले अब जनताले बुझेका छन् ।’
श्रेष्ठकाअनुसार चुनावताका उनीहरुले गरेका स्टण्डबाजीलाई चिर्न नसकेर पनि परिणाम पक्षमा नआएको हो । ‘म चितवनको दुर्गम गाउँ शक्तिखोरमा खेलेर हुर्केको मान्छे । मेरो बुवा बिसौँ वर्ष यही प्रधानपञ्च हुनुभयो । हामी सबै परिवार कांग्रेसमा होमिएर राजनीतिमा लाग्यौँ,’ उनी भन्छन्, ‘सानोमा खेल्ने क्रममा मेरो दुवै हात भाँचिदा मलाई सदरमुकामको भरतपुर अस्पताल उपचार गर्न जान ३ दिन लाग्यो । त्यही सम्झेर बुवाले आफ्नै गाउँमा अस्पतालको लागि आफ्नो व्यक्तिगत १० कठ्ठा जग्गा दिनुभयो । त्यही आएर अहिले २ पाकेट जीवनजल बाँड्ने नै अगाडी छन् ।’