काठमाडौं – काठमाडौंको चन्द्रागिरिमा १७ वर्षीया किशोरी हत्याको आरोपमा पक्राउ परेका २४ वर्षीय विश्वास तामाङ १७ दिनदेखि प्रहरी वृत्त थानकोटको हिरासतमा छन् ।
चन्द्रागिरि नगरपालिका-१० सतुगंल खरिबोट बस्ने १७ वर्षीया किशोरी सरिता तामाङको हत्या आरोपमा पक्राउ परेका विश्वासले हत्याको कारणमा बलात्कार जोडिएको खुलाएका छन् । प्रहरीसँगको बयानका क्रममा सरितालाई हत्या गर्नुको कारणबारे उनले बलात्कार रहेको खुलाएका हुन् । सरिता र विश्वास नाताले दाजु-बहिनी हुन् ।
चन्द्रागिरिमा एक्लै बस्दै आएकी सरितालाई उनकै कोठामा जबरजस्ती करणी गरेको र उक्त कुरा बाहिर ल्याउँछु भनेपछि पोल खुल्ने डरले हत्या गरेको विश्वासले खुलाएका छन् । विश्वासलाई पक्राउ गरेपछि अनुसन्धान गर्ने क्रममा उनले बहिनी नाता पर्ने सरितालाई ‘न्युड’ फोटाहरू पठाउने गरेको समेत भेटिएको छ ।
सरिताले विश्वासलाई गाली गरे पनि उनले एकोहोरो म्यासेन्जरमा ‘न्युड’ फोटा, भिडियोहरू पठाउने गरेको भेटिएको एक अनुसन्धान अघिकृतले बताए । २८ मंसिरको साँझ ६ बजेतिर विश्वास सरिताको कोठामा पुगेका थिए । त्यतिबेला सरिताले विश्वासको मोबाइलको हटस्पट शेयर गर्न भनिन् । विश्वासले पनि सरितालाई हटस्पट शेयर गरिदिएका थिए ।
त्यसपछि ‘न्युड’ भिडियोहरू देखाएर उनले सरितामाथि बलात्कार गरेको खुलेको छ । प्रतिकार गर्दा सरिताले विश्वासको हात समेत टोकिदिएकी थिइन् । विश्वासलाई पक्राउ गर्दा समेत उनको हातमा खत देखिएको एक अनुसन्धान अधिकृत बताउँछन् ।
घटनाको भोलिपल्ट २९ मंसिरको राति १२ बजेदेखि हराएको भन्दै उनका दाई नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा निवेदन दिएका थिए । धादिङको गजुरी गाउँपालिका-४ घर भएकी तामाङको खोजी गर्ने क्रममा प्रहरीले पुस ३ गते दिउँसो ३ बजेतिर उनको शव फेला पारेको थियो ।Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.