-
सत्ताको साथ पाएका ३५ उद्योगले प्राधिकरणलाई ७ अर्ब बक्यौता बुझाएका छैनन् ।
काठमाडौं – ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोध्दै उनलाई पदबाट हटाउने संकेत दिएको छ । मन्त्रालयका सचिव सुरेश आचार्यले सात दिनभित्र चित्तबुझ्दो जबाफ पेस नगरे घिसिङको नियुक्ति अन्त्य गर्ने चेतावनीसहितको स्पष्टीकरण सोधेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेकपा एमाले घिसिङले मन्त्रिपरिषद्को निर्णय अवज्ञा गरेको भन्दै उनीसँग असन्तुष्ट थिए । ऊर्जामन्त्री दिपक खड्का र घिसिङबीच पनि मतभेद भएका समाचारहरु आएका थिए । लोडसेडिङका बेला उपभोग गरेको बिजुलीको अर्बौँ महसुल वर्षौँसम्म नतिरेका उद्योगीको पक्षपोषण गर्दै आएको सरकारले उल्टै बक्यौता उठाउन खोज्ने कार्यकारी निर्देशक घिसिङलाई तारो बनाएको छ ।
यसअघि पदबाट हट्न बाध्य पार्ने गरी विवरण माग्दै आएको मन्त्रालयले यसपटक ‘तपाईंको नियुक्ति किन अन्त्य नगर्ने ?’ भनेर स्पष्टीकरण सोधेको छ । ऊर्जामन्त्री खड्काको निर्देशनमा मन्त्रालयका सचिव आचार्यको हस्ताक्षरमा स्पष्टीकरणपत्र काटिएको छ । जब कि मन्त्रिपरिषद्बाट नियुक्त कार्यकारी निर्देशकलाई यस्तो स्पष्टीकरण मन्त्रिपरिषद्ले मात्रै सोध्न सक्छ ।
नौबुँदे स्पष्टीकरणमा के छ ?
- स्पष्टीकरण पत्रको पहिलो बुँदामा उनीसँग भएको कार्यसम्पादन सम्झौताबारे स्मरण गराइएको छ ।
- दोस्रो बुँदामा ट्रान्सफर्मर खरिदमा व्यापक अनियमितता भएको गुनासो लगायतका १५ बुँदे विवरणहरू तोकिएको समयभित्र उपलब्ध नगराएको र अधुरो विवरण उपलब्ध गराएको आरोप छ ।
- तेस्रोमा यसअघि सोधिएको छबुँदे स्पष्टीकरणमा ‘सत्यतथ्य लुकाई वस्तुनिष्ठ, यथार्थपरक जबाफ नपठाई केवल औपचारिकता मात्र निर्वाह गर्ने ढङ्गको असन्तुलित जबाफ र असम्बन्धित कागजात’ दिएको दाबी छ ।
- चौथोमा डेडिकेटेड ट्रङ्क लाइन महसुल विवाद समाधान गर्न मन्त्रालयले गठन गरेको प्राविधिक जाँच समितिलाई आवश्यक सहयोग उपलब्ध गराउने अजेन्डामा फरक मत राखेको उल्लेख छ ।
- पाँचौँमा प्रत्येक वर्ष भदौभित्र अघिल्लो आर्थिक वर्षको कार्यसम्पादन पुनरवलोकन प्रयोजनका लागि विद्युत् प्राधिकरण बोर्ड समझ कार्यसम्पादन मूल्याङ्कनको जम्मा पेस गर्नुपर्नेमा ११२ दिन भइसक्दा पनि आफूले उपलब्ध गराउनुपर्ने विवरण पेस नगरी सम्झौताको पालना नगरेको आरोप लगाइएको छ ।
- छैटौँ बुँदामा कार्यसम्पादन विवरणबारे मूल्याङ्कनका लागि मन्त्रालयमा रहेको समितिले मूल्याङ्कन गर्ने व्यवस्थाबारे स्मरण गराइएको छ ।
- सातौँमा कार्यसम्पादन सम्झौतामा तेस्रो वर्षको कार्यसम्पादन मूल्याङ्कनमा घिसिङले ५० प्रतिशतभन्दा कम अङ्क प्राप्त गरेको अवस्थामा सम्झौता रद्द गरी उनलाई पदबाट हटाउन सिफारिस गर्न सकिने व्यवस्था स्मरण गराउँदै मन्त्रालयले माग गरेका कार्यसम्पादन विवरण पेस नगरी गम्भीर लापरबाही गरेको आरोप लगाइएको छ ।
- आठौँ बुँदामा मन्त्रालयले घिसिङमाथि असहयोगी भूमिका खेलेको र मन्त्रालयको निर्देशन समेतलाई अवज्ञा गरेको आरोप पनि लगाएको छ ।
- अन्तिम बुँदामा मन्त्रालयले कुलमान घिसिङ आफैँले आफ्नो कार्यसम्पादन मूल्याङ्कनको विवरण पेस नगरेको स्वीकारेको दाबी गर्दै उनको कार्यसम्पादन मूल्याङ्कन नै गर्न नसकिने अवस्था सिर्जना भएको उल्लेख गरेको छ ।
केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि सरकार र कुलमान घिसिङबीच मतभेद बढेको देखिएको थियो । उक्त विवादको केन्द्रमा डेडिकेटेड फिडर र ट्रंकलाइनसम्बन्धी विद्युत् महसुलको विषय छ । देशलाई लोडसेडिङमुक्त गर्दै प्राधिकरणलाई नाफामा लगेका कुलमानलाई सीधै कारबाही गर्दा सार्वजनिक आलोचना थेग्न नसक्ने डर सत्ताधारीलाई छ । यसका लागि विभिन्न बहानामा दबाब बढाएपछि कुलमान आफैँ राजीनामा दिने अवस्थामा पुग्ने उनीहरूको अनुमान छ ।
तर, कुलमान भने मन्त्रिपरिषद्ले नियुक्त गरेकाले मन्त्रिपरिषद्बाटै पदमुक्त हुने निर्णय भए मात्र छाड्ने कानुनी स्पष्टतामा अडिग छन् । आफ्नो पहिलो कार्यकालमा लोडशेडिङ अन्त्य गरेको श्रेय पाएका कुलमानलाई सरकारको शतप्रतिशत स्वामित्व रहेको प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई २५ साउन ०७८ मा सरकारले नियुक्त गरेको थियो । उनको कार्यकाल २४ साउन ०८२ मा सकिँदै छ ।
प्राधिकरणमा एक कुशल व्यवस्थापकको हैसियत बनाएका उनको कार्यकाल सकिन सात महिना मात्रै बाँकी रहँदा पनि सरकार भने योजनाबद्ध रूपमा हटाउने योजनामा छ । सत्ताको साथ पाएका ३५ उद्योगले प्राधिकरणलाई अझै सात अर्ब बक्यौता बुझाएका छैनन् ।
यसअघि तीनपटक मागेका थिए विवरण
ऊर्जामन्त्री खड्काकै दबाबमा यसअघि पनि मन्त्रालयले कुलमानसँग तीनपटक अनावश्यक विवरण उपलब्ध गराउन ताकेता गरेको थियो । यो ताकेता स्पष्टीकरणकै शैलीमा थियो । २२ असोजमा मन्त्रालयले विभिन्न १५ विषयमा विगत चार वर्षदेखिका विवरणहरू मागेको थियो । त्यसका लागि १५ दिन समय दिइएको थियो ।
१३ कात्तिकमा थप ६ बुँदे विवरण मागिएको थियो । त्यसका लागि सात दिनको समय दिइएको थियो । त्यस्तै, मंसिर तेस्रो साता पनि ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना सञ्चालन गर्न नसकेकोलगायतको विषयमा तीनबुँदे जानकारी मागेको थियो । त्यसका लागि पनि सात दिनको समय दिएको थियो ।