काठमाडौं – नेपालमा गुणस्तरीय शिक्षा हासिल गरेर उत्कृष्ट नतिजा हासिल गरेको शैक्षिक जनशक्ति पलायन हुने क्रम बढिरहेको छ । अझ विषय तथा संकाय टपरहरू विदेश नै ताक्छन् । त्रिभुवन विश्वविद्यालयका विभिन्न संकाय तथा विभागका हरेक वर्ष २७ जना विद्यार्थी गोल्ड मेडलिस्ट बन्छन् भने हजारौँ विद्यार्थी दीक्षित हुन्छन् ।
गत शनिबार त्रिविको ५०औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी ओलीले ‘टपर’हरूलाई प्रमाणपत्र र मेडल प्रदान गरे । मेडलसहित प्रमाणपत्र प्राप्त गरेका टपरहरूले ठूलो शैक्षिक जनशक्ति बिदेसिने र उतै पलायन हुने अवस्थाप्रति चिन्ता जनाएका छन् । टपरमध्ये पनि धेरैले स्वदेशमै बस्ने र केहीले विदेश पढ्न जाने योजनामा सुनाए । विदेशमा पढेर उक्त ज्ञान सदुपयोग गर्न स्वदेश फर्किने पनि कतिपयको चाहना छ ।
प्रतीकराज जोशी : अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर टपर जोशीले आफ्नो अध्ययनलाई नेपालको कूटनीति र परराष्ट्र नीतिमा उपयोग गर्ने योजनामा छन् । उनले भने, ‘विदेशमा जाने ट्रेन्ड छ, तर स्वदेशमै केही गर्न सके युवा फर्किने वातावरण बन्छ । अहिले गाउँका खेतबारी बाँझो छन्, युवा बिदेसिएका छन्। यो स्थिति सुधार्न अवसर सिर्जना गर्नुपर्छ ।’
चेतना कुँवर : पत्रकारिता विभागकी टपर कुँवर स्वदेशमै मिडिया क्षेत्रमा कार्यरत छिन् । ‘नेपालमै थुप्रै अवसर छन् । विदेश गएर अनुभव लिन सकिन्छ तर त्यसलाई स्वदेशमै उपयोग गर्नुपर्छ,’ उनले भनिन्, ‘अहिलेको सोच यहीँ बसेर आफ्नो सीपलाई व्यवहारमा लागू गर्ने हो ।’
सिजन बोहरा : एलएलबी टपर बोहरा हाल अधिवक्ताका रूपमा कार्यरत छन् । उनले नेपालमै सरकारी सेवामा संलग्न हुने योजना बनाएका छन् । ‘नेपालमा सिस्टम सुधार भइरहेको छ । मिहिनेतीहरू स्वदेशमै केही गर्न सक्छन्,’ उनले भने ।
सिला क्षेत्री : वनस्पतिशास्त्र केन्द्रीय विभागकी टपर क्षेत्रीले थप अध्ययन र अनुसन्धानका लागि विदेश जाने सोच बनाएकी छन् । ‘विदेशमा अनुभव लिनु सकारात्मक पक्ष हो, तर फर्किएर स्वदेशमै योगदान गर्नुपर्छ भन्ने मेरो प्राथमिकता हो,’ उनले भनिन् ।
श्रीज्या काफ्ले : अर्थशास्त्र विभाग टपर काफ्लेले पिएचडी अध्ययनका लागि विदेश जाने सोच बनाएकी छन् । तर, उनी विदेशमा स्थायी रूपमा बस्न चाहँदैनन् । भन्छिन्, ‘विदेशको शिक्षाबाट नयाँ प्रणाली सिक्न मन छ, तर स्वदेशकै लागि काम गर्ने मेरो लक्ष्य हो ।’
रेविका भण्डारी : एमबिएस टपर भण्डारी नेपालमै भविष्य देख्छिन् । ‘नेपालमै पनि राम्रो अवसर छ । शिक्षा र व्यवसाय क्षेत्रमा सुधार भइरहेको छ,’ उनले अगाडि भनिन्, ‘विदेश जानुपर्छ तर त्यस ज्ञानलाई स्वदेशमै उपयोग गर्नुपर्छ भन्ने मेरो विश्वास हो ।’
सुशील पोख्रेल : रसायनशास्त्र टपर पोख्रेललाई नेपालमै बस्न मन भए पनि यहाँको प्रणाली र अवसरप्रतिको निराशाले मन दोधार बनाएको छ । ‘नेपालमा क्षमताको कदर गरिएन भने युवाहरू विदेश जान बाध्य हुन्छन् । सरकारले यो अवस्थाको समाधान गर्नुपर्छ,’ उनको सुझाव छ ।
यसपटक गोल्ड मेडल प्राप्त गर्ने २२ विद्यार्थीमध्ये १७ छात्रा र पाँच छात्र मात्र छन् । यसले महिलाहरूको शैक्षिक क्षेत्रमा बढ्दो उत्कृष्टता झल्काएको छ । उनीहरूले विज्ञान, व्यवस्थापन, कानून, पत्रकारिता, र अन्य संकायमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका उच्च शिक्षित महिलाहरूको प्रतिनिधित्व गरे । यसपटक दीक्षित हुनयोग्य विद्यार्थी (उत्तीर्ण विद्यार्थी) ७४ हजारभन्दा बढी रहे पनि १४ हजार ३०७ विद्यार्थी मात्र दीक्षान्त समारोहमा सहभागी भएका हुन् ।
गोल्ड मेडल विजेता विद्यार्थीहरूले आफ्नो अध्ययन र सीपलाई स्वदेशमै उपयोग गर्न प्रेरणादायी दृष्टिकोण प्रस्तुत गरेका छन् । उनीहरूको सोच र अठोटले नेपालमा शिक्षा, व्यवसाय, र अनुसन्धानको क्षेत्रमा सुधार ल्याउन सक्ने सम्भावना देखाएको छ । अब राज्यले उनीहरूको अपेक्षा पूरा गर्दै युवा शक्तिलाई स्वदेशमै उपयोग गर्ने वातावरण बनाउनुपर्छ ।