काठमाडौं – नेपाली राजनीतिको छवि निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका दुई जना पुराना कम्युनिस्ट नेताहरू ‘वामदेव गौतम र भीम रावल’ अहिले राजनीतिक दिशाविहीन अवस्थामा छन् । झन्डै ६ दशकसम्म नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका वामदेव र पाँच दशक लामो अनुभव भएका रावल अहिले राजनीतिक दिशाविहीन अवस्थामा पुगेका हुन् ।
वामदेव गौतमको राजनीतिक यात्रा नेपाली कम्युनिस्ट आन्दोलनको एउटा महत्त्वपूर्ण अध्याय मानिन्छ । ७५ वर्ष नाघिसकेका गौतमले अहिले नेकपा एकता राष्ट्रिय अभियान पार्टीको संयोजकको भूमिका निर्वाह गरिरहेका छन् । तर, यो पार्टी नाममात्रको बनेको छ- जहाँ न त नेतृत्वको संरचना छ, न कुनै सक्रिय कार्यकर्ता ।
गौतमको राजनीति कहिल्यै स्थिर रहेन । कुनै समय एमाले र त्यसपछि एकीकृत नेकपामा बलियो पकड राख्ने नेता वामदेव पार्टीभित्रका विवादका कारण क्रमशः एक्लिँदै जाए । उनको राजनीतिक अस्थिरता ओली, प्रचण्ड, र माधव नेपालजस्ता नेताहरूका लागि एउटा रणनीतिक साधन बन्न पुग्यो । पार्टी गुटबन्दीका हरेक मोडमा कहीँ न कहीँ गौतमको प्रयोग गरियो ।
नेकपाको विभाजन र एमालेको आन्तरिक झगडाबीच वामदेवले पार्टी एकता अभियान चलाए पनि अन्ततः दलविहीन बने । लामो समय एमालेभित्र निर्णायक भूमिकामा रहेका वामदेवलाई पार्टी विभाजनपछि च्यासलस्थित एमाले मुख्यालयसम्म पुगेर ‘काम चाहियो’ भन्नुपर्ने अवस्था आयो । तर, ओलीले कुनै चासो देखाएनन् । एमालेले स्वागत नगरेपछि अहिले गौतम नेकपा एकीकृत समाजवादी पार्टीसँग संवाद गरिरहेका छन् ।
तर, आफू पार्टी प्रवेश गर्ने नभई आफ्नो अभियानसँग एकता हुनुपर्ने उनको भनाइ छ । ‘पहिले म एमालेमा जान चाहन्थेँ । अहिले एमाले र एसमध्ये जसले पहिला बोलाउँछन्, त्यसैमा जान्छु,’ उनले भने, ‘तर त्यसलाई प्रवेशभन्दा पनि एकता भन्नुपर्छ । म मात्रै जाने होइन, मसँग पनि नेता-साथीहरू हुनुहुन्छ । सम्मानजनक रूपमा जाने हो । सबै नेता-साथीहरू जाने हो । म मात्रै जान्नँ ।’
सक्रिय नेताको भूमिका विहीनता
भीम रावल पनि पछिल्ला तीन वर्षयता राजनीतिक भूमिकाविहीन बनेका छन् । औपचारिक रूपमा एमालेकै सदस्य रहेका रावलले पछिल्लो समय पार्टीभित्र कुनै जिम्मेवारी नपाएको गुनासो गर्दै आएका छन् । एमाले विभाजनअघिका दिनहरूमा रावललाई पार्टीभित्र प्रभावशाली नेताका रूपमा हेरिन्थ्यो ।
तर, २०७८ मा सम्पन्न दशौँ महाधिवेशनमा अध्यक्ष पदका लागि केपी ओलीसँग प्रतिस्पर्धा गरेपछि उनको राजनीतिक यात्रा तल झर्दै गयो । अध्यक्षको प्रतिस्पर्धामा उठ्ने निर्णयले ओलीको एकलौटी नेतृत्वको चाहनामा ठेस पुर्यापछि उनलाई पार्टीभित्र गुमनाम बनाउने प्रयास गरियो । रावलले पार्टी निर्णयसँग असहमति जनाउँदै विभिन्न अवसरमा फरक अडान लिए । जब एमसिसी सम्झौतामाथि निर्णयार्थ संसद्मा छलफल भयो, एमालेले तटस्थ रहने निर्णय गर्दा रावलले विपक्षमा मतदान गरे । यो घटनापछि उनी झन् पार्टीभित्र एक्लिँदै गए ।
पछिल्लो संसदीय चुनावमा अछाम-१ बाट उम्मेदवार बनाउने सहमति भए पनि अन्ततः ओलीले टिकट दिएनन् । यसले रावलको संसदीय यात्रा मात्रै होइन, एमालेभित्रको सक्रिय राजनीतिक करियर पनि प्रायः समाप्त गर्यो । त्यसयता उनी राजनीतिक रूपमा जिम्मेवारीविहीन अवस्थामा छन् । आफू राजनीतिको एउटा मोडमा धकेलिएको उनले सार्वजनिक रूपमै स्वीकारे ।
एउटा मोडमा पुगिसकेपछि अर्को मोडमा जानैपर्ने भए पनि कता जाने ? भन्ने उनले खुलाएका छैनन् । ‘अब मलाई राजनीतिको जीवनको एउटा मोडमा धकेलिएजस्तो महसुस भएको छ । एउटा घुम्तीमा पुगेजस्तो मैले महसुस गरेको छु । घुम्तीमा पुग्यो भने त्यो अर्को मोडमा मान्छे लाग्छ,’ उनले भने, ‘म परिस्थितिको गहन अध्ययन र विश्लेषणमा छु । विभिन्न पक्ष र नेतासँग परामर्श पनि गरिरहेको छु । तर, कुनै निर्णय गरिसकेको छैन ।’
दुवैलाई तान्ने प्रयासमा नेकपा एस
नेकपा एकीकृत समाजवादीले राजनीतिक जीवनको उत्तरार्धमा रहेका पुराना दुई कम्युनिष्ट नेतालाई पार्टीमा ल्याउन पहल थालेको छ । माधव नेपालको नेतृत्वमा रहेको यो दलले यी पुराना नेताहरूलाई आफ्नो राजनीतिक यात्रा पुनर्जीवित गर्न निम्तो दिइसकेको छ । दुईमध्ये नेता गौतमले एसमा आउन ‘ग्रिन सिग्नल’ दिइसकेको बताइन्छ ।
अध्यक्ष नेपालले नै वार्ता गरेपछि गौतमलाई पार्टीमा तेस्रो वरीयतामा राख्नेबारे छलफलसमेत भइरहेको छ । अध्यक्ष नेपाल गौतमलाई भेट्न उनकै निवासमा पुगेका थिए । हालै सम्पन्न एकीकृत समाजवादीको स्थायी समिति बैठकले पनि गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गरेको थियो ।
एकीकृत समाजवादी स्रोतका अनुसार गौतमले चाहिँ केही पदीय जिम्मेवारी पनि पाए हुन्थ्यो भन्ने छ । तर, पदीय जिम्मेवारी दिनबारे भने केही टुंगिएको छैन । एमालेमा फर्किन गौतमले धेरै प्रयास गरे पनि ओलीबाट सकारात्मक जवाफ नपाएपछि विकल्पमा नेकपा एसमा जान चाहेको विश्लेषण भइरहेको छ ।
यसैगरी, रावललाई भित्र्याउनु पनि नेकपा एस तयार छ । तर, रावलले पार्टीमा आउने स्पष्ट सिग्नल दिएका छैनन् । रावललाई भने जिम्मेवारी दिन कुनै हिचकिचाहट नहुने नेकपा एसकै नेताहरू बताउँछन् । नेकपा एसले महाधिवेशनअघि नै रोजेको पद दिन तयार भएको सन्देश पठाउँदासमेत उनले अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । उपयुक्त समयमा आफूले आगामी कदम चाल्ने नेता रावलको तर्क छ ।