समाचार सुन्नुहोस :
काठमाडौँ – दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन्। दुर्घटना शुक्रबार बिहान ४ बजे महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६, बजानीमा भएको हो। म १ ज ३३८ नम्बरको जिप मालिकार्जुन मन्दिरको जात्राबाट गोकुलेश्वरतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो।
दार्चुला प्रहरीका अनुसार, मृत्यु हुनेहरूमा दार्चुला शैल्यशिखर नगरपालिका–५ का ३० वर्षीय वीरेन्द्र रावल, २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा, भारत उत्तर प्रदेशको विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिम छन्। एक मृतकको भने परिचय खुल्न सकेको छैन।
घटनाको कारण अनुसन्धान भइरहेको छ भने घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ।